भाडा नतिरेपछि राप्रपाको कार्यालयमा ताला

लमजुङ,साउन १० । भाडा नतिरेपछि राप्रपाको जिल्ला कार्यालयमा घरधनीले ताला लगाइदिएका छन् । कार्यालय प्रयोजनका लागि लिएको कोठाको भाडा नदिएको भन्दै घरधनी बालकृष्ण वाग्लेले सोमबार ताला लगाएका हुन् । बेसीसहर नगरपालिका–८ शेरा ओरालेमा रहेको वाग्लेको घरमा राप्रपाको सम्पर्क कार्यालय छ ।

आठ वर्षदेखि कार्यालय राखिएकोमा तीन वर्षदेखि भाडा नपाएको घरधनी वाग्लेले बताए । वाग्लेले सोमबार बेसीसहरमा पत्रकार सम्मेलन नै गरेर राप्रपासँग भाडाबापतको १ लाख ५९ हजार रुपैयाँ लिन बाँकी रहेको बताएका छन्, नयाँ पत्रिकामा खबर छ  ।

७१ सालको ३० हजार, ७२ सालको ५४ हजार, ७३ सालको ६० हजार रुपैयाँ र ७४ सालको हालसम्मको १५ हजारभन्दा बढी रकम तिर्न बाँकी रहेको उनको दाबी छ ।

उनले भने, ‘तीन वर्ष भयो भाडा पाएको छैन, माग्यो भोलि–भोलि भन्छन्,’ घरधनी वाग्लेले भने, ‘कति वर्ष कुरेर बस्ने ? न घर छोड्छन् । न भाडा नै दिन्छन् । आजित भएर पत्रकारमाझ आएको हुँ ।’

कमेन्ट गर्नुहोस्