नारायणगढ-मुग्लिन सडक विस्तार: रातको समयमा भित्ता काट्ने काम तिव्र

चितवन, साउन १० । नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारले तिव्रता पाएको छ । रातको समयमा यो सडकखण्डमा सवारी निषेध गरी भित्ता काट्ने कामलाई तिव्रता दिइएको हो ।

यो सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर भित्तो काट्न थालिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २२ किलोमिटर दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने भएकाले राति ९ बजेदेखि बिहान ४ बजेसम्म पहाडमाथि दुईवटा एक्साभेटर र तल दुईवटा लोडर राखेर कामलाई तीव्रता दिइएको हो ।

२ सय मिटर लम्बाइ र ४४ मिटर अग्लो पहाड भएको सो ठाउँमा सडक करिब छ मिटर मात्रै फराकिलो छ ।

सडकलाई १८ मिटर फराकिलो बनाउन पहाड हटाउन लागिएको र उक्त ठाउँमा करिब ३५ प्रतिशत काम मात्रै बाँकी रहेको खनालले जानकारी दिए ।

असार २७ गतेबाट रातमा सवारी साधन बन्द गरेर थालिएको हो ।

कमेन्ट गर्नुहोस्