एनआरएनए अमेरिकामा चरम राजनीतिक खिचातानी, जोशीको पक्षमा मत माग्दै एमाले अध्यक्ष ओली

न्यूयोर्क, साउन १० । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न चुनावमा तिब्र राजनीतिक प्रतिस्पर्धा भैरहेको छ । नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका गौरी जोशीको पक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष फोन सम्पर्कमार्फत मत मागिरहेका छन ।

मतदाताको आकर्षण नभएपनि अमेरिकामा पैसाका आधारमा उम्मेदवार बनेर चर्चामा आएका जोशीले विभिन्न पक्षका व्यक्तिलाई आफ्नो प्रभावमा ल्याउन भने सफल भएका छन । आफू केन्द्रको उपाध्यक्षमा उठ्ने तयारी गरेका नेपाली काँग्रेसको भ्रातृ संस्था जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष भैसकेका कानुन व्यवसायी खगेन्द्र जिसी अहिले एमाले उम्मेदवारको पक्षमा लागेका छन ।

जिसी काँग्रेस नेता महेन्द्रध्वज जिसीका भाई हुन । काँग्रेस समर्थकहरुले भने जिसीले केन्द्रको उम्मेदवारी र आर्थिक सहयोगको आशामा आफ्नो विचार समेत बेचेको आरोप लगाएका छन । जिसीले अमेरिका एनआरएनएको निर्वाचन समितिलाई समेत जोशीको पक्षमा काम गर्न दबाब दिएका छन ।

जिसीले निर्वाचन समितिकी संयोजक बन्दीता शर्मा दाहाललाई म्यासेज लेखेर जोशीको पक्षमा काम गर्न दबाब दिएका छन । दाहाल पहिले जिसीकै ल फर्ममा काम गर्ने कानुन व्यवसायी हुन । त्यतिमात्र होइन जोशीकै पक्षमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट पनि भित्रभित्रै लागेका छन ।

विष्टले काँग्रेस निकट रहेका वर्तमान अध्यक्ष एवं भावी अध्यक्षका प्रत्यासी डाक्टर केशव पौडेललाई भन्दा जोशीलाई समर्थन गरेको देखिएको छ । प्रजातान्त्रिक विचार समर्थकले भने जिसी र विष्टको आलोचना गरेका छन ।

एमाले समर्थनमा उम्मेदवार बनेका जोशीले बार्षिक झण्डै १५ मिलियन डलर आम्दानी गर्छन । उनी पछिल्लो समय अमेरिकामा आर्थिक रुपमा फड्को मार्ने व्यक्ति हुन । जोशीका पक्षमा अहिलेका एनआरएनए महासचिव डाक्टर बद्री केसी पनि लागेको देखिएको छ ।

एनआरएनएले निकाल्ने वर्ष पुस्तकमा जोशी कुनैपनि कार्यकाल काम गरेको नभेटिएपनि केसीले उनले काम गरेको भनेर निर्वाचन समितिलाई पत्राचार गरेका छन । तर कुन आधारमा उनले पत्राचार गरे भन्ने भने खुलाउन सकेका छैनन ।

कमेन्ट गर्नुहोस्