भारतका १४ औं राष्ट्रपति कोविन्दले लिए सपथ

एजेन्सी, साउन १० । भारतका नवनिर्वाचित राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका हुन् । समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका कोविन्दले ६५ प्रतिशत मत प्राप्त गरी अघिल्लो साता निर्वाचित भएका हुन्। मंगलबार बिहान राष्ट्रपति कोविन्दले पत्नीसहित राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गरेका थिए।

७२ वर्षीय कोविन्दलाई विशेष सवारीका साथ राष्ट्रपति भवनमा प्रवेश गराइएको थियो। त्यस बखत त्यहाँ उपस्थित विशिष्ट व्यक्तिले उनलाई स्वागत गरेका थिए।

भारतीय दलित समुदायको प्रतिनिधित्व गरेका राष्ट्रपति कोविन्दले शपथ ग्रहणपछि दिएको मन्तव्यमा आफूले सधैं न्याय, समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट गर्नुहोस्