कांग्रेसको आन्तरिक किचलोको कारण मन्त्रिपरिषद विस्तार भएन

काठमाडौं, साउन १० । नेपाली कांग्रेसभित्र मन्त्रालयको भागबण्डा नमिल्दा मंगलबार साँझ ५ बजेका लागि तय भएको सपथग्रहणको कार्यक्रम बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच कसलाई मन्त्री बनाउने र कुन समुहले कति मन्त्रालय पाउने भन्नेमा विवाद भएपछि आज हुने भनिएको मन्त्रिमण्डल विस्तार रोकिएको हो ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक गृहकार्यमा जुटेपनि पौडेल समुहको असहमतिका कारण विस्तार हुन नसकेको बताइएको छ । कांग्रेसमा पौडेल पक्षले ६ वटा महत्वपुर्ण मन्त्रालय नपाए आफ्नो समुह सरकारमा नजाने बताउदै आएको छ ।

प्रधानमन्त्री देउवाले कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ गरी १८ मन्त्री थप गर्ने तयारी गरेको भएपनि त्यो सफल हुन सकेन ।

कमेन्ट गर्नुहोस्