भारत–चीन तनाव बढ्दाे, नेपाली नेतृत्व कसरी सजग हुने

काठमाडौं, साउन ११ । महिना दिनयता भारत, चीन र भुटानको त्रिदेशीय सीमाविन्दु ‘दोक्लम’मा देखिएको तनावले यतिबेला अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान खिचेको छ ।

आणविक हतियार सुसज्जित दुई मुलुकको चुलिँदो विवादले एसियामात्र नभइ कतै पुरै विश्वलाई लपेट्ने हो कि भन्ने आशंका पनि व्यक्त गरिँदैछ । दुई छिकेकी मुलुकबीच असहज परिस्थितिबाट नेपाल कसरी जोगिनसक्छ ? धेरै नेपालीको ध्यान अब यता केन्द्रित भएको छ ।

त्रिदेशीय सीमा क्षेत्रमा देखिने यस्ता दृष्यले भारत र चीन युद्धको निकट रहेको आभास दिलाउन थालेको छ । चीन र भारतले विवादित भूमिमा आफ्ना सेनाको उपस्थिति बढाउँदै लगेका छन् । दुबै देशका सन्चारमाध्यममा सरकारी अधिकारी, कूटनीतिक क्षेत्रका व्यक्तिहरुको उत्तेजनापूर्ण अभिव्यक्ति आइरहेको छ ।

दुबै देशले आफूहरु सन् १९६२ को अवस्थामा नरहेको चेतावनी दिइरहेका छन् । जति सकिन्छ धम्कीपूर्ण भाषा प्रयोग गर्ने र एकले अर्कालाई गलाउने रणनीतिमा चीन र भारत छन् ।

अहिलेसम्म अवस्था ‘वार अफ वर्डस्’ अर्थात् वाकयुद्धको देखिन्छ । तर, कतै यो अवस्था भौतिक आक्रमणमा पुग्ने त होइन ? भन्ने खतरा पनि उत्तिकै छ । यस्तो अवस्था आइहाले एसियाको नक्सामा नै परिवर्तन आउने खतरा देखिन्छ । केहीगरी परिस्थिति नियन्त्रणभन्दा बाहिर गए त्यसको सबैभन्दा धेरै असर नेपाललाई पर्ने देखिन्छ ।

यी दुई मुलुक सन् १९६२ मा पनि आमने–सामने भएका थिए । त्यस समयमा नेपालले अपनाएको कूटनीतिक चातुर्य र गम्भीरताको अहिलेसम्म पनि प्रशंसा हुने गरेको छ । तर, अहिले भारत र चीन दुबैले नेपालको सम्बन्धलाई शंकाको दृष्टिले हेर्ने गरेकाले आफ्नो तटस्थता जोगाउन नेपालले थप मेहनत गर्नुपर्ने परराष्ट्रविद् रमेशनाथ पाण्डे बताउँछन् ।

दुई छिमेकी मुलुकबीच तनाव बढ्दै जाँदा त्यसको सामना कसरी गर्ने भन्नेबारे नेपालमा पर्याप्त तयारी नभएको गुनासो बढ्न थालेको छ । दुबै छिमेकी मुलुकलाई विश्वासमा लिएर नेपाललाई कसरी खतरामुक्त गर्ने भन्नेबारे राष्ट्रिय धारणा बनाउनुपर्ने आवाज विस्तारै बाक्लिन थालेको छ ।

कमेन्ट गर्नुहोस्