कुकुरले टोकेको बेवास्ता गर्दा १९ बर्से युवाकाे ज्यान गयाे

बाग्लुङ, साउन ११ । केही दिनपहिले काठमाडौँबाट घरमा आएका रायडाँडाका कमल विश्वकर्माको काठमाडौँ पुनः फर्कने सपना पूरा हुन सकेन।

काठमाडौँको गोंगबुमा बसोबास गर्ने कमल माइक्रोका सहचालक थिए। गत वैशाखमा सडकमा हिँड्ने क्रममा एउटा भुस्याहा कुकुरले उनलाई टोकेको थियो, तर उनले वास्ता गरेनन्। त्यसको असर तीन महिनापछि देखियो। कुकुरले टोकेपछि रेबिजविरुद्धको सुइ नलगाउँदा उनको ज्यान गएको छ।

साविकको रायडाँडा–३ हाल बाग्लुङ नगरपालिका वडा नम्बर ११ सिन्धलीमा बुबा ताराबहादुर र आमा डालिमायाँको कोखबाट जन्मेका कमलले १९ वर्षको उमेरमा संसार छोड्नुपर्‍यो। १५ दिन पहिले काठमाडौँबाट बिरामी भएर उनी घर आएका थिए। मुखबाट र्‍याल निकाल्ने, पानीदेखि डराउने गरेका कमलले खानेकुरा निल्न गाह्रो भई घाँटी दुखेको भनेपछि परिवारले गाउँकै झारफुकबाट निको होला भन्ने ठानेका थिए। तर, परिवारका कुनै सदस्यलाई यी लक्षण रेबिज रोगको हो भन्ने जानकारी समेत थिएन।

झारफुकबाट छोरा निको नभएपछि बाग्लुङको धौलागिरी अञ्चल अस्पतालमा कमललाई उपचारका लागि लगिएको थियो। अञ्चल अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनलाई पोखराको फेवासिटी अस्पताल लागियो। त्यति बेलासम्म पनि उनलाई के रोग लागेको हो भन्ने पत्तो नलागेको कमलका आफन्त यामबहादुर विश्वकर्माले बताए।

‘हामीलाई पोखराको फेवासिटी हस्पिटल लाने बेलासम्म कुन रोग हो भन्ने थाहा थिएन,’ विश्वकर्माले भने, ‘फेवासिटी हस्पिटलमा डाक्टरहरुले कमलको मुखबाट र्‍याल आउने र उसले कुकुरको जस्तो व्यवहार देखाएपछि सोधीखोजी गरे।’

डाक्टरले कमललाई ‘केही समय पहिले कुकुरले त टोकेको थिएन?’ भनेपछि मात्र उनले काठमाडौँमा तीन महिनापहिले कुकुरले टोकेको कुरा बताए। त्यसपछि मात्र डाक्टरहरु कमललाई रेबिज लागेको निष्कर्षमा पुगेका थिए।

उनलाई रेबिज लागेको थाहा पाएपछि गण्डकी अस्पतालमा रिफर गरियो। रिफर गरेको दुई दिनमा उनको मृत्यु भयो।

शनिबार बिहान करिब ३ बजेतिर कमल एक्कासी कुकुरजस्तै भुकेपछि उनकी आमा डालिमायाँ विक छोरालाई निकै गाह्रो भएको ठानेर नजिकै जाँदा कमलले आमालाई पनि टोकेका थिए। आमालाई टोकेको करिब १० घन्टापछि शनिबार दिउँसो कमलको मृत्यु भएको आफन्त यामबहादुर विश्वकर्मा बताए। उनले भने, ‘ऊ आफू त रेबिजको शिकार भएर ज्यानै गयो, उसले आमालाई समेत रेबिजबाट संक्रमित बनायो। आमा डालिमायाँको काठमाडौँको टेकु अस्पतालमा उपचार भइरहेको छ।’

जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका खोप प्रमुख विरेन्द्रकुमार चौधरी भन्छन्, ‘कुकुरले टोकेपछि रेबिजविरुद्धको सुइ लगाउनुपर्छ भन्ने जानकारी नहुँदा वा हेक्का नराख्दा कमलले अकालमै ज्यान गुमाउनु परेको हो ।’ कुकुर, बिरालो, बाँदर जस्ता जनावरले टोकेपछि तुरुन्त रेबिज विरुद्धको सुइ लगाउनुपर्ने उनको सुझाव छ। रेबिज विरुद्धको सुइ जिल्ला जनस्वास्थ्यबाट निःशुल्क पाइने भएकाले यस्ता घटनामा हेलचेक्र्याइँ नगर्न चौधरी सुझाव दिन्छन्।

 

 

कमेन्ट गर्नुहोस्