अमेरिकाले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने

काठमाडौं, साउन ११ । अमेरिकाले रुस, इरान र उत्तर कोरियामा नयाँ प्रतिबन्ध लगाउने देखिएको छ ।

अमेरिकाको सदनमा प्रतिबन्ध लगाउनुपर्ने विषयमा बहुमतले मतदान गरेका छन् ।

सदनमा प्रस्ताव गरिएको नयाँ प्रतिबन्धमाथिको विधेयकमाथि ४ सय १९ सदस्यहरुले मतदान गरेका छन् । यो प्रस्तावको विपक्षमा तीन जना सांसद मात्रै रहेका छन् ।

यो विधेयक पारित भएमा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप र पूर्वी यूक्रेनमा रुसको प्रवेशका लागि रुसी अधिकारीहरुलाई निशाना बनाउन सकिने विविसीको आँकलन छ ।

रुसको सांसद ड्यूमाको अन्तर्राष्ट्रिय मामिला कमिटिका लोनिड स्ल्त्सकीका अनुसार, यो नयाँ प्रतिबन्धबाट अमेरिका र रुसबीचको सम्बन्ध जटिल हुन सक्छ । यो विधेयक राष्ट्रपति ट्रम्पकहाँ प्रस्तुत गर्नु अघि सीनेटबाट समेत स्वीकृति आवश्यक छ ।

सिनेटबाट समेत यो विधेयक पारित भएमा यसले डोनाल्ड ट्रम्पलाई समेत अप्ठ्यारोमा पार्ने छ । किनभने पछिल्ला दिनहरुमा ट्रम्पले रुससँग बिग्रिएको सम्बन्ध सुधार्ने प्रयास गरेका छन् ।

त्यसो त राष्ट्रपति ट्रम्पसँग यो विधेयक माथि भिटो प्रयोग गर्ने अधिकार सुरक्षित नभएको होइन, तर यसो गरेको खण्डमा उनलाई रुससँग झुकाव राखेको अर्को आरोप लाग्ने देखिन्छ । रिपब्लिकन नेता स्कट टेलरका अनुसार, यसमा भिटो अधिकार प्रयोग हुने सम्भावना न्यून छ ।

अमेरिकाले यसअघि नै रुसी नागरिक र कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको छ । गत वर्ष पूर्व राष्ट्रपति बाराक ओबामाले ३५ जना रुसी अधिकारीहरुलाई फिर्ता पठाउने आदेश दिएका थिए ।

उता इरान र उत्तर कोरियामाथि भने उनीहरुका परमाणु र ब्यालेष्टिक मिसाइल कार्यक्रमका लागि प्रतिबन्ध लगाउन थालिएको हो ।

कमेन्ट गर्नुहोस्