पश्चिमा मुलुकमा शुक्राणु संकट, मानव जाति नै लोप हुने चिन्ता

काठमाडौं, पश्चिमी मुलुकका पुरुषहरुमा शुक्राणुहरुको संख्यामा नाटकीय रुपमा कमी आएको खुलासा भएको छ । नयाँ अनुसन्धानले अमेरिका र यूरोपीयन क्षेत्रका पुरुषको वीर्यमा ५० प्रतिशतले शुक्राणु घटेको देखाएपछि यसले ठूलो हलचल मच्चाएको छ ।

शुक्राणुहरुसम्बन्धी करिब २ सय अध्ययनहरुको परिणामपछि मानव जाति नै लोप हुने चेतावनी दिइएको हो ।

समाचार संस्था बिविसीले प्रकाशित गरेको एक आलेख अनुसार, उत्तर अमेरिका, यूरोप, अष्ट्रेलिया र न्यूजिल्याण्डका पुरुषहरुमा गत चालीस वर्षमा शुक्राणुहरुको संख्या पचास प्रतिशत घटेको छ ।

मानिसको प्रजनन प्रक्रियामा सार्वजनिक भएको यो रिपोर्टमाथि केही वैज्ञानिकहरुले भने सन्देह व्यक्त नगरेका होइनन् । तर शोध टीमको नेतृत्व गरिरहेका चिकित्सक डा. हगाई लेभिन भने शोधका नतिजाहरुले मानव जातिको अस्तित्वबारे गम्भीर चिन्ता उत्पन्न गरेको बताउँछन् । यही अवस्था रहेमा यो सम्भव भएको समेत उनको दावी छ

मूल्यांकनको मापदण्डका आधारमा यो शोधको परिणाम आजसम्मकै ठूलो अनुसन्धान हो । यसअघि दर्जनौं अनुसन्धानले बिभिन्न देश र सहरका पुरुषहरुको शुक्रकीटको संख्या घटिरहेको तथ्य अगाडि सारेको थियो । यो अनुसन्धानमा भने त्यसरी सार्वजनिक भएका बिभिन्न अनुसन्धानहरुको विश्लेषण गरिएको हो ।  यसमा सन् १९७३ देखि २०११ सम्म गरिएका १८५ वटा अध्ययनको विश्लेषण गरिएको थियो ।

डाक्टर लेभिन संक्रामक रोगका विशेषज्ञ हुन ।

के हो वीर्य ?
सामान्यतस् एकपटक स्खलन हुँदा ३ देखि ५ मिलिलिटर वीर्य निस्कन्छ र यसमा शुक्रकीटको संख्या ४ देखि १२ करोडसम्म हुन्छ । वीर्यको सानो अंश मात्र शुक्रकीट हुन्छ । मानव शरीरमा वयस्क डिम्ब शरीरको सबैभन्दा ठूलो कोष हो भने शुक्रकीट सबैभन्दा सानो कोष हो । शुक्राणुको प्रारम्भिक अवस्थाबाट पूर्ण वयष्क शुक्राणु बन्ने प्रक्रियालाई मेडिकल भाषामा स्पर्मेटोजेनेसिस भनिन्छ । मानिसमा यो प्रक्रिया पूरा हुन करिब ६१ दिन लाग्छ ।

सूक्ष्म दर्शक यन्त्रको मद्दतले मात्र देख्न सकिने परिपक्व शुक्रकीट चेपागाँडा आकारको हुन्छ । बनावटका हिसाबले शुक्राणुलाई टाउको र पुच्छरमा बाँडिन्छ भने पुच्छरलाई पनि घाँटी, मध्यभाग, मुख्य भाग तथा अन्त्यको भाग गरी थप चार भागमा वर्गीकरण गरिन्छ ।

यौन सम्पर्कका बेला पुरुषको वीर्य स्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही महिलाको पाठेघर हुँदै पाठेघर र डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकले मात्र निषेचन गर्न सक्छ । यसरी शुक्रकीट र डिम्ब मिलन भै बनेको कोष २–३ दिनपछि पाठेघरमा बस्न आउँछ र क्रमशस् भ्रूण अनि गर्भस्थ शिशुमा विकसित हुँदै जान्छ । त्यसैले वीर्यमा शुक्रकीट नै छैन भने गर्भ रहन सक्दैन ।

वीर्यमा पाइने शुक्रकीटको उत्पादन अण्डकोषमा हुन्छ । अण्डकोषमा हुने अति नै मसिना एवं गुँडुल्किएका नलीमा निरन्तर रूपमा शुक्रकीट बन्ने प्रक्रिया चहिरहन्छ । किशोरावस्थामा पुगेपछि शुक्रकीट उत्पादन हुने तथा वीर्य बन्ने प्रक्रिया जीवनभर चलिरहन्छ ।

अण्डकोष नै यसको थैलीमा नझरे, अण्डकोषको विभिन्न खराबी, अण्डकोषमा कुनै चोटपटक, संक्रमण वा जन्मजात खराबी वा अन्य चोटले हुने संरचनागत खराबीले शुक्रकीट उत्पादनमा नकारात्मक असर पार्न सक्छ । हार्मोनको मात्रामा गडबडी, वंशानुगत खराबी, रेडियोथेरापी (विकिरण) तथा कतिपय औषधिले पनि शुक्रकीटको उत्पादनमा प्रभाव पार्न सक्छन् ।

कमेन्ट गर्नुहोस्