हलो जोतेको हेर्न जानेलाई समेत घरमा छाक खान दिइएन

श्रावण १५, २०७२-असारमा धान रोपाइँ सकेर साउनमा कोदो रोप्ने चटारो थियो । मैले पूर्वतिर फर्केर गोरु नारेँ । पण्डित तोयानाथ अधिकारीले जोत्नुभो, पिँढीमा नांगै सुतेका ९० वर्षीय मायानाथ पौडेलले जुरुक्क उठेर भने, यो विसं २००६ साल साउनको ११ गते दिउँसो मध्यान्हको कुरा हो । हलो जोत्ने २७ जना बाहुनमध्ये आफू मात्रै जीवित रहेको पौडेलले सुनाए । विष्णुप्रसाद अधिकारी थिए, उनी पनि गत वर्ष बिते, उनले भने ।

बाहुनले पहिलोपटक हलो जोतेर क्रान्तिकारी काम गरेका थिए त्यतिबेला । त्यही सम्झनामा स्थानीयबासी सालैपिच्छे लमजुङ दुराडाँडा ६ अर्चल्यानीको बाटेगरामा साउन ११ गते हलोक्रान्ति दिवस मनाउँछन् । गएको सोमबार पनि उनीहरूले ६६ औँ हलोक्रान्ति दिवस मनाए ।

पण्डित तोयानाथले २ सियो जति जोतेर छोडेपछि बाहुनहरूले पालैपालो जोते, पौडेलले सम्झिए, यसअघि गाउँका कामी, दमै, सार्कीलाई हलो जोत्न लगाइन्थ्यो । उनका अनुसार बाहुनले हलो जोत्न थालेको खबर फैलिएपछि भुइँचालो आएजस्तै भयो । त्यसपछि हेर्नेहरूको मेला लागेको उनले बताए । हरेक बाहुनका घरमा दलित हली थिए । उनीहरूले नजोत्नोस् भनेर आग्रह पनि नगरेका होइनन्, उनले भने, तोयानाथ अरूभन्दा बाठा, नयाँ काम गर्न खोज्ने थिए । मानेनन् । उनका अनुसार राणाकालको त्यो क्रान्तिकारी काम सरकार र समाजलाई जँचेन । हलो जोतेकालाई घर निकाला गरियो । हेर्न जानेलाई समेत आफ्नो घरमा एक छाक खान दिइएन । हलो जोत्नेहरूमा शेषकान्त अधिकारी, हरिभक्त पौडेल, श्रीकान्त अधिकारीलगायत थिए ।

पौडेल त्यतिबेलाको घटना सुनाउँदै गए । ३/४ वर्षअघिदेखि सल्लाह गरेका रहेछन् । सानो भएकाले त्यो दिन गोरु फुकाएर ल्याउन मलाई अह्राए, उनले भने । यसरी कथा सुनाइरहँदा पनि उनी यति उत्साही भए कि, हिँड्नसमेत मुस्किल पर्ने उनी २ वटा लट्ठी टेकेर आफैँले गोरु नारेको बाटेगरामा पुगिसकेका थिए । बाहुनले हलो जोत्न हुँदैन, जात जान्छ, दलितसरह भइन्छ भन्ने मान्यता तोड्न तोयानाथको नेतृत्वमा हलो जोतियो, उनी सन्तुष्टी व्यक्त गरे ।

हलो जोत्ने कुरा २००४ अघिदेखि उठेको हो । हलो जोत्ने विषयलाई लिएर तोयानाथ, हरिभक्त, शेषकान्त, हरिदास पौडेललगायत अरूले थाहा नपाउने ठाउँमा सल्लाह गर्थे रे, स्व. विष्णुप्रसाद अधिकारीलाई उद्धृत गर्दै उनले भने, हलो जोत्दैमा केही नहुने, यसले किसानलाई सजिलो पार्ने र गाउँमा हली प्रथा अन्त्य हुने भन्दै हलो जोतिएको थियो । उनका अनुसार शास्त्रीय र कानुनी पक्षमा थप अुनसन्धान गर्न तोयानाथ र हरिभक्तलाई जिम्मा लगाइयो । राय लिँदै गर्दा २००५ फागुनमा ४ गते अगुवामध्येका मुखिया हरिदासको निधन भयो र केही समय योजना रोकियो । फेरि सल्लाह गरेर २००६ साउन ११ गते श्रीपञ्चमीका दिन हलो जोतेरै छाडियो, उनले भने ।

हलो जोतेपछि गाउँ र छिमेकमा हल्लीखल्ली मच्चियो । नजोत्नेले जोत्नेको विरोध गरे । झ्याली पिट्नसमेत पछि परेनन्, जोतेको हेर्नेमध्येका मायानाथका भाइ रामप्रसाद पौडेलले भने, जोत्नेहरूलाई घर निकाला गरियो । भात खोसियो । माइत आएकी छोरीचेली घर जान पाएनन्, घर गएका बुहारी माइत फिर्न पाएनन् । उमेर पुगेका युवायुवतीको बिहे २ वर्षसम्म रोकियो । उनका अनुसार कसैकसैले गएको थिएन भन्दै ढाँटीढाँटी भात खाए र पछि बिहे पनि गरे । कोही विस्थापित भए । कोही विदेश पलायन । हलो जोतेको २ दिनपछि हराएका मेरो बुबा पण्डित भवदत्त अधिकारी वर्मामा २८ वर्ष बसेर फर्किनुभयो, दुराडाँडा १ कछारथोकका ७० वर्षीय विष्णुप्रसाद अधिकारीले भने, बुवाले पल्लो गाउँको ढुंगाना थरकीलाई उतै बिहे गर्नुभएछ । अहिले बुवाआमा दुवै हुनुहुन्न ।

मायानाथका अनुसार हलो जोतेपछि सुराकीका आधारमा राणा सरकारकोमा उजुरी पर्यो । सरकारको विरोधी काम गरेको आरोपमा पालामा बडाहाकिमले पठाएको भन्दै हलोक्रान्तिको १ वर्षपछि २००७ साउन ११ गते केही व्यक्ति आएर पण्डित तोयानाथ, शेषकान्त र श्रीकान्त अधिकारीलाई गिरफ्तार गरे । रातारात परेवाडाँडा, पुरानो सदरमुकाम कुन्छा, भोर्लेटार हुँदै १ दिन १ रात हिँडाएर उनीहरूलाई बिहान ४ बजे पोखरा गोश्वारामा पुर्याएका थिए । पछि उनीहरूले अड्डी कसे । केही गल्ति गरेको छैन, कानुन र वेदमा बाहुनले हलो जोत्न हुँदैन भन्ने उल्लेख भए हामी जस्तोसुकै कारबाही भोग्न पनि तयार छौँ भनेर अनशन बसेका ३ जनालाई ४८ घन्टापछि खान दिइयो । त्यसपछि उनीहरूलाई छाडियो । श्रीकान्तले त्यतिबेला पोखराको बिन्दवासिनीस्थित आधार स्कुलमा पढाउँथे । उनलाई कागज बनाएर छोडियो भने तोयानाथ र शेषकान्तलाई दैनिक धाउनुपर्ने तारेखमा । तारेखको म्याद गुजारेपछि उनीहरू फर्किए । तर, उनीहरूप्रति हेर्ने दृष्टिकोण गाउँघरमा फेरिएन ।

७ वर्षको उमेरमा बेसीसहरबाट विवाह गरेर दुराँडाडा गएकी खिनुमाया पौडेल (८१ वर्ष)ले माइत जाँदा भित्र पस्न नदिएको बताइन् । उनी रामप्रसादकी पत्नी हुन् । बिहे भएको ३/४ वर्ष भएको थियो । हलो जोतपछि माइती आउँदा हलो जोत्नेका बुहारी भनेर भित्र पस्न दिएनन्, उनले भनिन्, मलाई बाहिरै खान दिए, बाहिरै सुताए । धेरै पीडा खेप्नुपर्यो । पछि मिल्यो ।

फैल्याइएको क्रान्ति

उक्त क्रान्तिको आयाम हलो जोत्नुमा मात्र थिएन । अन्य तरिकाले समेत समाजमा विद्यमान अविश्वासलाई तोड्न लागिपरेका थिए अगुवाहरू । तीर्थराज शर्माले संकलन गरी निकालेको पुस्तक हलोक्रान्तिका जनक पण्डित तोयानाथ अधिकारी मा चिजामाया पौडेलले लेखेकी छन्, अछूत जातको सहयोग लिँदाको फल जीवनपर्यन्तको पीडा । तनहुँको बयपानीका शुकदेव पौडेलसँग विवाह गरेकी उनी बहिनी बिरामी भएपछि दुराडाँडास्थित माइती आएकी थिइन् । घर फर्कने बेलामा उनका बुबाले चामल, आलु, तरुल बोकाएर पुर्याउन भनेर स्थानीय आइतबहादुर सार्कीलाई पठाए । उता आइतबहादुर दलित भएको थाहा पाएपछि घरकाले कोसेली फाल्नुका साथै चिजामायालाई माइत पठाइदिएछन् । त्यसपछि शुकदेवलाई पनि गाउँलेले पण्डित्याइँ गर्न रोकेछन् । समाजमा क्रान्ति ल्याउनुपर्छ भन्दै सल्लाह गरेरै सार्कीलाई चिजामायाको कोसेली बोकेर पठाइएको मायानाथले बताए ।

त्यतिबेला हलो जोत्नेलाई व्यंग्यस्वरूप गाउँका अन्यले कवितासमेत बनाएका थिए । ती कवितालाई दुराडाँडा सत्र सयका खेमकर्ण कोइरालाले उतारेका छन् ।

लप्टन शेषकान्त, कविनाथ, हरिभक्त लट्टु

पायौ भनेर गुलियो चाट्ने त्यै चट्टु

पण्डित तोयनाथ, बद्रीनाथ, वसन्त तिघ्रे

हलो जोतेर, यिनी बाहुन हेर बिग्रे ।

दुराडाँडाको हलोक्रान्तिपछि अन्य जिल्लामा पनि यसले व्यापक रूप लियो । २००६ सालकै पुसमा पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ वैशाखमा अर्घाखाँची र गोरखा साथै २००८ मा स्याङ्जा पनि हलो जोत्ने अभियान सुरु भयो ।

पहिलोपटक हलो जोतिएको अर्चल्यानी बाटोगराको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गर्न हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान गठन गरिएको छ । हामीले २०६४ सालदेखि काम गर्दै आएका छौँ, संस्थाका सचिव दीपक पौडेलले भने, हलो जोतिएको ठाउँ र वरपर गरी २ रोपनी २ आना २ पैसा २ दाम जग्गा तोयानाथका परिवारले दिनुभएको छ । उत्तीसको बोट मौलाएको उक्त ठाउँमा तोयानाथको सालिक बनाउने योजना रहेको पौडेलले सुनाए । साउन ११ गतेको दिनलाई राष्ट्रियस्तरमै हलोक्रान्ति दिवस का रूपमा स्थापित गराउने अभियानमा जुटेको बताए ।

कान्तिपुर दैनिकको संस्करण कोशेलीमा दुई वर्षअघि आश गुरुङले लेख्नुभएको फिचर आलेख साभार

कमेन्ट गर्नुहोस्