वैदेशिक रोजगार व्यवसाय व्यवस्थित बनाउने प्रचण्डकाे प्रतिबद्धता

काठमाडौं, साउन ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा अाज नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा पूर्व प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, प्रभावकारी र व्यवस्थित बनाउन सबैको सामूहिक पहल आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्ने कामलाई आफू र आफ्नो पार्टीले प्राथमिकता दिएको स्पस्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको काम गुणात्मक चरणमा प्रवेश गरेको उल्लेख गर्दै अब मुलुक आर्थिक विकास र समृद्धिको दिशामा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

आफ्नो पार्टी सामाजिक न्यायसहितको आर्थिक विकासको पक्षमा रहेको उनको भनाइ थियो। सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्या समाधान गर्न अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्