मुख्य योजनाकारसहित ‘र’ का एजेण्ट भनिने चार पक्राउ

भरतपुर, साउन ११ । चितवनको रत्ननगरका उद्योगपति तथा व्यवसायीलाई ‘र’ को एजेण्ड बनेर अपहरणको योजना बनाइरहेको बेला प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

‘र’को एजेन्ट हुँ भन्दै एसएमएस र फोनमार्फत त्यहाँका व्यापारीहरुलाई धम्क्याउँदै अपहरणको योजना बनाउने मुख्य योजनाकारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सशस्त्र प्रहरीको जागिरबाट भागेर बसेका एक जना सिपाही समेत रहेका छन् ।

मुख्य योजनाकार भनिएका धादिङ ज्वालामुखी गाउँपालिका २ का र्इश्वर बस्नेत धादिङकै रामकृष्ण श्रेष्ठ, रोशन बस्नेत र मनोज श्रेष्ठ पक्राउ परेका हुन् ।

बस्नेत २०६४ बैसाखमा सशस्त्र प्रहरी बल सानो गौचर काठमाडौंमा भर्ना भई करिब ४ वर्ष जागिर गरी २०६८ असोजमा भागेर बसेका हुन् ।

उनीहरुले रत्ननगरका व्यापारीलाई फोनबाट ५० लाख फिरौती रकम माग गरेको र नदिए ज्यान मार्ने धम्की दिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपक थापाले बताए ।

चारैजना धादिङबाट चितवनको सौराहा, मकवानपुरको दामन हुँदै काठमाडौं पुगेका थिए । ‘उनीहरुले ठाउँ÷ठाउँबाट मोबाइलको सिम परिवर्तन गरी धम्क्याएका थिए ।

चारैजनालाई मध्ये क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान टोली, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी चितवनको विशेष टोलीले काठमाडौंको नयाँ बसपार्कको सिस्नेरी गेष्ट हाउसबाट साउन ९ गते सोमबार पक्राउ गरेको हो ।

उनीहरुले पीडितलाई दाङको व्यापारी जस्तै हत्या गर्ने भन्दै पटक÷पटक फोनबाट फिरौतीको रकम मागेका थिए । आफूहरु ‘र’को एजेन्ट भएको भन्दै फिरौती रकम नदिए अपहरण गरी हत्या गर्ने उनीहरुले चेतावनी दिँदै आएका थिए ।

कमेन्ट गर्नुहोस्