चौपाया छाडा, नगरबासीलाई सास्ती

लोकेश धामी
धनगढी, साउन ११ । कैलालीको धनगढी नगर क्षेत्रमा छाडा चौपायाले नगरबासीलाई हैरान बनाएका छन । गाई धनीले दूध दुहेर छोड्ने प्रवृति र चौपाया व्यवस्थापनका लागि गौशाला तथा काञ्जी हाउस नहुँदा नगरबासी हैरान भएका हुन् ।

जथाभावी छोडिएका चौपायाका कारण अधिकांश व्यक्ति सडक दुर्घटनाको शिकार हुनु परेको छ । साघुँरो सडक त्यसमाथि जथाभावी छोडिएका चौपायाले रजाइँ गर्दा सडकमा आवतजावत गर्ने मानिसहरुले समस्या भोग्नु परिरहेका छ ।

नगरक्षेत्रमा बसेर व्यापार व्यवसाय गर्नेदेखि आवतजावत गर्ने सबैलाई छाडा चौपायाले आजित बनाएका छन् । सडकको छेउछाउमा बसेर ठेला व्यवसाय गर्नेलाई त झनै समस्या पारेको ठेला व्यवसायी कसिम अन्सारीले बताए ।

यस्तै छाडा चौपायाले खेतबारीमा लगाएको खेतीपाती खाएर स्थानीयबासीलाई हैरान परेका छन । राती सुतेको समयमा चौपायाको हुल नै आएर खेतमा लगाएको धान सखाप पार्ने गरेको स्थानीयको गुनासो छ । लगाएको अन्न बाली जोगाउन रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको धनगढी–१ का स्थानीय बासिन्दा बहादुर पार्कीले गुनासो गरे ।

बजारमा रहेका अधिकांश छाडा चौपायाले ट्राफिक व्यवस्थापनमा समेत निकै समस्या थपेको छ । साघुँरो सडक त्यसमाथि गाईवस्तु हुँदा सडक दुर्घटनाको जोखिम अत्यधिक बढेको व्यवसायी केशवराज जोशीले बताए । दिनहुँ छाडा चौपायाको संख्या बढेसंगै नगरक्षेत्रको सौन्दर्यता नै बिग्रीन थालेको छ ।

गाई दुहेर छोड्ने अधिकांश नगरबासीको प्रवृति बढ्दै गएकाले चौपायाको संख्या बढेको हो । यसको व्यवस्थापनका लागि चौपाया धनी स्वयम तथा नगरपालिकाकाले छिटो ध्यान दिनुपर्ने नगरबासीको भनाइ छ ।

बजार क्षेत्रमा रहेका कतिपय छाडा चौपाया सवारीसँग ठोक्किएर घाइते छन् । बढ्दै गएका छाडा चौपायाको नियन्त्रणका लागि काम भइरहेको धनगढी उप–महानगरपालिकाले जनाएको छ । नव निर्वाचित मेयर नृपबहादुर वडका अनुसार एक महिनाभित्र चौपायाको समस्या समाधान हुनेछ । यसको लागि फूलबारी र उर्मामा रहेका गौशालाको सुधार गरिन लागेको नगर प्रमुख वडले जानकारी दिए ।

नगरबोर्डबाट नै ति दुइ स्थानमा रहेका गौशाला सुधारका लागि बजेट छुट्याएर प्रक्रिया अघि बढी सकेकाले एक महिनाभित्र चौपाया व्यवस्थापन हुने नगर प्रमुख वडको दाबी छ ।

कमेन्ट गर्नुहोस्