पर्यटन नीति– २०६५ पुनरावलोकन कार्यदल गठन 

काठमाडौं ,साउन १२ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले पर्यटन नीति– २०६५ पुनरावलोकनका लागि कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् ।

मन्त्रालयको पर्यटन प्रवद्र्धन महाशाखाका प्रमुख संयोजक रहेको कार्यदलमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका सिइओ र विशेषज्ञ सदस्य रहनेछन् । कार्यदलले नया“ संविधान र राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२५ को भावनाबमोजिम नीति परिमार्जन गर्नेछ ।

मन्त्री देवले पर्यटन मन्त्रालयमातहतका महाशाखा, विभाग र निकाय (नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगम, पर्यटन बोर्डलगायत)का प्रमुखलाई तत्कालीन (६० दिने) र एकवर्षे कार्ययोजना तीन दिनभित्र पेस गर्न पनि निर्देशन दिएका छन् । ‘तीन दिनभित्र मन्त्रालयमातहतका निकायका विभागीय प्रमुखले प्राप्त गर्न सकिने नतिजासहितको तत्कालीन र एकवर्षे कार्ययोजना पेस गर्न मन्त्रीज्यूबाट निर्देशन भएको छ,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले भने ।

कमेन्ट गर्नुहोस्