को हुन् माओवादी केन्द्रबाट महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाएकी आशा कोईराला ?

२०२६ सालमा गोरखामा जन्मनुभएकी आशा कोईरालाले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । २०४२ सालदेखि नै कम्युनिष्ट पार्टीमा संगठित कोईराला २०५० सालमा अखिल नेपाल महिला संघ तनहुँको संयोजक हुँदै २०५४ सालमा महिला संघको जिल्ला अध्यक्ष चयन हुनुभएको थियो । राधा मा.वि. जामुनेमा स्थायी शिक्षिका भएर कार्यरत कोईरालालाई २०५४ साल बैशाख १० गते संगठनकै कामको शिलशिलमा तनहुँको सतिश्वाराबाट प्रहरीले पहिलो पटक पक्राउ गरेको थियो ।

हात हतियार खरखजना मुद्दामा ३५ दिन हिरासत र १ महिना जेल राखेपछि पुनरावेदन अदालतले धरौटीमा रिहा गरेको थियो । त्यसपश्चात २०५५ साल साउनमा कोईरालाला प्रहरीले तनहु गुणादीस्थित आफ्नै घरबाट गिरफ्तार गरी शान्ति सुरक्षा एेन अन्तर्गत तनहुँ, कास्की, बारा, पर्सा र महोत्तरीका विभिन्न हिरासतमा नजरबन्दमा राखेको थियो ।

बन्दी प्रत्यक्षीकरणाको रिटमा अदालतबाट रिहाइको आदेश भएपनि अदालत परिसरबाटै पटक पटक प्रहरीद्वारा पक्राउ गरिएकी कोईरालाले तनहुँ, कास्की, जलेश्वर, विरगंज र केन्द्रीय कारागार काठमाडौंमा बन्दी जीवन बिताउनुभएको छ ।

२०५८ साल भदौमा तत्कालिन बिद्रोही माओवादि र सरकार बिच पहिलो चरणको वार्ताका क्रममा जेलमुक्त कोईरालालाई २०६२ साल जेठ ४ गते साभुङ गाबडाडाँबाट नेपाली सेनाको युनिफाईड कमाण्डले गोली हानी घाईते अवस्थामा पक्राउ गरेको थियो ।

हातमा गोली लागि घाइते बनेकी कोईरालालाई सेनाले विजयपुर, समरसुर गुल्म चापाघाट हिरासतमा राखेको थियो र १८ दिनको नवरबन्दपछि आतंककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण अन्तर्गत कर्तव्य ज्यान मुद्दामा कास्की काराकार चलान गरिएको थियो ।

२०६२÷६३ को आन्दोलनका क्रममा जेल भित्रै अन्य आस्थाका बन्दीसहित आन्दोलित कोईरालालाई गणतन्त्र स्थापनासंगै २०६३ असारमा मुद्दा फिर्ता लिई रिहा गरिएको थियो ।

माओवादी केन्द्रीय सदस्य समेत रहेकी समानुपातिक सांसद कोईराला २०६० सालमा तत्कालिन विद्रोही माओवादीद्वारा घोषित जिल्ला जनसरकारको प्रमुख समेत हुनुभएको थियो ।

कमेन्ट गर्नुहोस्