ट्रम्प परे संकटमा, अमेरिकी सदनद्वारा रुसमाथि नयाँ प्रतिबन्धको प्रस्ताव स्वीकृत

वाशिङ्गटन, साउन १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नयाँ संकटमा परेका छन् ।

अमेरिकाका दुबै सदनले रुसमाथि थप नयाँ प्रतिबन्ध लगाउने विधेयकलाई समर्थन गरेपछि ट्रम्प अप्ठ्यारोमा परेका हुन ।

दुबै सदनबाट विधेयक पारित भएपछि ट्रम्पको टेबलमा हस्ताक्षरका लागि पठाइने चलन छ । ट्रम्पसँग यो विधेयकमा भिटो लगाउने अधिकार भएपनि उनका अगाडि भने अस्वीकार गरेमा समेत आलोचित भइने अवस्था देखिएको छ ।

सिनेटका विदेश सम्बन्ध समितिका अध्यक्ष बब कोर्कर र हाउस अफ रिप्रजेन्टेभिमा बहुमत सदस्य रहेका रिपबल्किन पार्टीका नेता केभिन म्याकार्थीबीच उक्त विधेयकलाई स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाउने सम्झौता भएको छ । सम्झौतापछि विज्ञप्ती जारी गर्दै कोर्करले दुबै सदनका मुख्य नेताबीच सम्झौता हुनु खुशीको कुरा भएको बताए ।

यसअघि हाउस अफ रिप्रजेन्टेटिभमका तीन जना सदस्यबाहेक अन्य सबैले उक्त विधेयकको पक्षमा मतदान गरेका थिए ।

उक्त विधेयकमा रुस, इरान र उत्तर कोरियामाथि थप नयाँ प्रतिबन्ध लगाउने कुरा उल्लेख छ । यसबाट रुस र अमेरिकाबीच सुध्रिन थालेको सम्बन्धमा समेत ठूलो असर पर्ने देखिन्छ ।

पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको भूमिका र ट्रम्पको पुटिनसँगको अनौपचारिक भेटको विषयले दुबै देशबीचको सम्बन्ध प्रभावित बन्दै आएको छ ।

सदनका नेताहरुबीच भएको पछिल्लो सम्झौता अनुसार, सिनेटले उक्त बिल पारित गरेर राष्ट्रपतिसमक्ष पठाइने छ ।

कमेन्ट गर्नुहोस्