उर्जामन्त्रीको चेतावनी, ‘झोलामा खोला बोक्छौं ! कारवाही गर्छु’

काठमाडौं, साउन १२ । नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले झोलामा खोला बोकेर हिँड्ने तर काम नगर्ने दलालीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शाहीले विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासका कहीँबाट पनि कन्जुस्याई गर्नु नहुने बताए । उनले बुढीगण्डकी जलविद्युत परियोजना निर्माण कम्पनीले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी पनि दिएका छन् ।

उनले भने, ‘सम्झौता अनुसार तोकिएको समयसिमाभित्र काम सम्पन्न गर्न नसक्ने कम्पनीसँगको सम्झौता हामी तत्काल खारेज गर्छाैं ।’ उनले उक्त परियोजनाबारे मुआब्जा दिने काम पनि भैरहेको जानकारी दिए ।

यसअघि १६ अर्ब मुआब्जा रकम निकासा भैसकेको र अहिले १० अर्ब निकासाको तयारीमा रहेको बताउँदै मन्त्री शाहीले विद्युत क्षेत्रको विकासको लागि उर्जा उत्पादनमा वृद्धि गरिने बताएका छन् ।

मन्त्री शाहीले अब लोडसेडिङ नहुने बताउँदै विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताए ।

मन्त्री शाहीले राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भन्दै आवश्यकता अनुसार विदेशी लगानी भित्र्र्याइने विश्वास दिलाए ।

कमेन्ट गर्नुहोस्