आजको नाग पञ्चमी र यसको परम्परा

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो ।

अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।

अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।

हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।

प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । यसरी नागपञ्चमी मनाउँनुको महत्व प्रष्टिन्छ । (हरिराम जोसी- अभिनव स्ंस्कृति कोष, पृष्ठ- ४९०)

आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न्ो ठाउँ बिशेष प्रख्यात छ । प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।

नागपञ्चमीको पौराणिक तथा ऐतिहासिक आधार

सिन्धुघाँटी सभ्यताको उत्खनन्को क्रममा नग्न आकृतिको तपस्यारत योगीराज शिव र सर्पका आकृतिहरु प्राप्त भएका छन् । ऋगवेदमा नाग पूजाको उल्लेख पाइृदैन तर ईन्द्रलाई अहि (सर्प) भनिएको पाईन्छ । अथर्ववेदमा आदिजातीको रुपमा नागको उल्लेख परेको छ । आपस्तम्भ गृहसुत्रमा श्रावण महिनामा सर्पवलीकृत्य गरिने चर्चा परेको छ । महाभारत कथा अनुसार पाण्डुपुत्र अर्जुनले नागकन्या उपलीसङ्ग, रघुवंशमा नागकन्याहरुको विवाह रघुवंशसङ्ग भएको आदी प्रसंगले नागजातीको प्राचीनताको आधार प्रष्ट हुन्छ ।

(हरिराम जोसी- अभिनव स्ंस्कृति कोष) ईतिहासकारहरु अनुसार विश्वविजेता अलेक्जेण्डर नाग जातीका थिए । एसिया माईनरको प्राचीन मुद्राहरुमा सर्पका आकृती अंकित गरिएका छन् । आठौं शताब्दि ई.पू. देखि प्राप्त भएका (पञ्चमार्कड) आहत मुद्राहरुमा सर्पाकार आकृतिहरु पाईन्छ । ईजरायलका राजा योथवले नागपूजाको लागि एक मन्दिर स्थापना गरेका थिए । (हरिराम जोसी- अभिनव स्ंस्कृति कोष, पृष्ठ- ४९०)

पौराणिक साहित्यहरुमा नागजातीको सन्दर्भमा व्यापक परिचर्चा परेको छ । शेषनागले सम्पूर्ण पृथ्वीलाई धारण गरेको र भगवान विष्णु क्षिर सागरमा शेष शैय्यामा शयन गरेको कथन छ । भगवान शिवजीले नागपुजा देवताहरुको लागि पनि दुर्लभ पूजा भन्नु हुन्छ । यमुना नदिमा वसेर कालीनागले जल विषाक्त बनाएको र भगवान श्रीकृष्णले काली नागलाई दमन गरेको हरिवंश पूराणमा उल्लेख छ ।

महाभारतको आदी पर्वमा उल्लेख भएको कथा अनुसार तक्षक नागले डसेर राजा परिक्षितको मृत्यु भएपछि जन्मजेयले आफ्नो बाबुको मृत्युको बदला लिन सम्पूर्ण सर्प जातीको वंश विनासको लागी विशाल सर्पयज्ञ गरेका थिए । सम्पूर्ण सर्प जातीको नास हुने देखे पछि बासुकी नागले आफ्नी बहिनीको सहायता लिए ।

कथा अनुसार बासुकी नागका भाञ्जा आस्तिकले र ब्रम्हा ऋषीले राजा जन्मजेयलाई सम्झाई बुझाई प्रतिषोध नलिन आग्रह गरे पछि राजा जन्मजेयले बिशाल सर्पयज्ञ रोकेको दिन पञ्चमी तिथी परेकोले यसै दिनको सम्झनामा नागपञ्चमी मनाउँन थालिएको पौराणिक कथन छ । ( विणा पौड्याल -नेपालमा नाग पूजा ­) अमरकोषको अनुसार सर्पका २५ नाम भए पनि विशेषर्रुपले- अनन्तो बासुकी पद्म महापद्ममश्च तक्षक, कुलिर कर्कटो च शंखाश्चाष्टौ नाग प्रकीर्तिता भनि अष्ट नागको सम्झना गरिन्छ ।

नेपालमा नाग प्रजातीको प्राचीनता

वास्तवमा काठमाण्डौ उपत्यका अर्थात नेपालमण्डललाई पाशुपत क्षेत्रको साथसाथै वासुकी क्षेत्र पनि भनिन्छ । आज पनि हिन्दू तथा बौद्ध पुरोहितहरुले धार्मिक कार्यमा वासुकीक्षेत्रे भनि शंकल्पवाक्य वाचन गर्दछन् ।

काठमाण्डौ उपत्यकाको उत्पति नागजाती संग जोडिएको मिथक छ । स्वयम्भू पुराण अनुसार काठमाण्डौ उपत्यका जलमग्न रहेको समयमा नागजातीले शासन गर्दथे । विभिन्न आख्यान्न अनुसार नागहरुलाई नै नेपालको प्रथम आदिबासी हुन् भनि मानिन्छ । हालको नागदहमा तक्षक,कुलिक र कर्कोटक नागको आ श्रयस्थल थियो । महा चीनबाट आउँनु भएका महा-मञ्जु श्रीले चोभारको पहाड (कच्छवाल पहाड) काटेर पानी बाहिर निकाश गरे पछि सम्पूर्ण सर्पहरु पानी संगै बगेर बाहिर गए । पछि काठमाण्डौ उपत्यकाको रक्षाको लागि महा-मञ्जु श्रीले कर्कोटक नागलाई टौदह मै बस्ने आज्ञा दिए ।

हाल पनि टौदहमा विशेष जात्रा पर्वहरु मनाउँने परम्परा छ । प्राचीन सेनवंशावली अनुसार नेपालका मगरहरुलाई नागवंशी भनिएको पाईन्छ । वंशावली अनुसार पार्कोटका मगर राजाहरुको छोरी सेन राजाले विहे गरेको उल्लेख पाईन्छ । त्यस्तै भगवतकृत सेन वंशावलीमा नागभूपतिअप्तशोभा अर्थात नागराजाका ऐश्वर्यले सुहाएका भनी मगर राजाहरुलाई सम्बोधन गरिएको पाईन्छ । नागहरु सरल मानव प्रजाती हुन ।

त्यस अर्थ योगी नरहरीनाथले नास्ती अपराधौ सः नाग अर्थात जस्को कुनै अपराध गर्दैन त्यो नाग हो भनि नाग प्रजातीको सरलपनाको व्यख्या गर्नु भएको छ । पश्चिम नेपालमा स्थापना भएको खश राज्यका प्रथम शासक लाई पनि नागराज भनिएको पाईन्छ । यस बाट नेपाल सभ्यताको विकासमा नाग जातीको योगदान रहेको तथ्यलाई स्वीकार गर्न कर लाग्छ ।

निश्कर्ष

प्राचीनकाल देखि नै नेपालमा नागपूजा मनाउँदै आएको पाईन्छ । भगवान शंकरले गहनाको रुपमा र भगवान विष्णुले शैय्याको रुपमा प्रयोग गर्ने नाग लाई बौद्ध धर्ममा उत्तिकै श्रद्धाका साथ पूजिन्छ । पञ्चध्यानी बुद्धहरु मध्य उत्तर दिशाका अमोघशिद्धी नागफणा द्धारा रक्षित हुन्छन ।

बौद्ध ग्रन्थ अनुसार स्वर्ग अर्थात देवलोक मञ्जु श्री देवकुल सङ्ग,मत्र्यलोक सङ्ग पद्मपाणी बोधिसत्व अर्थात नरकुलको नाथ सङ्ग र पाताल( नागलोक) बज्रपाणी नागकुलको नाथ सङ्ग सम्बन्धित मानिन्छ । योगशास्त्र अनुसार मानव शरीरका ७ वटा चक्रहरु मध्य मुलाधार चक्रमा रहेको शुसुप्त शक्ति सर्पाकार कुण्डलीयुक्त अवस्थामा रहेको हुन्छ ।

यौगिक साधनाको माध्यम बाट उक्त कुण्डलीनी लाई जागृत गराउँदै शह श्रधार चक्रमा समाहित गराएपछि मानवले मोक्ष प्राप्त गर्दछ भन्ने दार्शनिक मान्यता छ । यसकारणले पनि भगवान शिवजीले सर्पलाई गहनाको रुपमा प्रयोग गरेको स्वभाविक लाग्छ । आद्य शक्ति महा-लक्ष्मीले आफ्नो मस्तकमा लिङ्ग ,योनी र सर्पलाई धारण गर्दछिन् । लिङ्ग र योनी अर्थात प्रकृति र पुरुषको समन्वयबाट जगतको सृजना हुन्छ भने सर्प कालको प्रतिक हो । यस तथ्यले जगतको शृष्टि र प्रलय देवीको कारण बाट हुन्छ भन्ने दार्शनिक मान्यता छ ।

लिच्छवीकालिन तथा मल्लकालिन अभिलेख तथा विभिन्न वंशावलीहरुमा नाग प्रजाती र तिनको पूजा बारे चर्चा परेको छ । काठमाण्डौ उपत्यकाका विभिन्न धारा,कुवा, ढुङ्गेधाराहरुमा नागदेवको प्रतिमा स्थापना गरिनुमा आध्यामिकता तथा पर्यावरणीय अवधारणा अभिव्यक्त भएको तथ्य प्रष्टिन्छ । अंशुमदभेदागम, शिल्परत्न जस्ता प्रतिमालक्षण (मूर्ति विज्ञान) सम्बन्धि ग्रन्थहरुमा नागदेवको प्रतिमा लक्षणको विषयमा चर्चा परेको छ ।

शेषशायी विष्णुका मूर्तिहरुमा नागको उत्कृष्ट प्रतिमा निर्माण गरेको आज सम्म पनि बुढा निलकण्ठमा अवस्थित शेषशायी विष्णुको मूर्ति बाट प्रष्टिन्छ । नागपञ्चमकिो पूजा बाट बिभूति पूजा र साम्यदृष्टिको ज्ञान प्राप्त हुन्छ । (हरिराम जोसी- अभिनव संस्कृति कोष) विभूति पूजाको अर्थ परमात्माको अंशहरुको पूजा हो भने साम्यदृष्टिको अर्थ समभाव राख्नु हो ।

नेपालका बौद्धहरुले भगवान पशुपतिनाथको दक्षिणको अघोर मुखलाई वज्रपाणीबोधीसत्वको रुपमा मान्दछन ।काठमाण्डौ उपत्यकामा बनेका मठ, मन्दिर, विहारहरुमा पाईने नागको प्रतिमाहरुले एकातिर हिन्दू ,बौद्ध र आदीबासी जातीहरु बीचको आपसी भाईचाराको बोध गराउँछ भने धार्मिक तथा साँस्कृतिक समन्वयको दर्शनलाई प्रगाढ बनाउँछ । शैव, बौद्ध र वैष्णव देवी देवताहरुले नागलाई गहनाको रुपमा प्रयोग गरेर यसै तथ्यलाई उजागर गरेका छन् । (गोविन्द न्यौपानेले अन्नपुर्णमा लेखेकाे लेख साभार)

कमेन्ट गर्नुहोस्