क्यान्सरले कैदीको मृत्यु

रत्ननगर, साउन १३ ।  चितवनको भरतपुरस्थित जिल्ला कारागारमा क्यान्सरका कारण एक कैदीको मृत्यु भएको छ ।

मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको आज बिहान करिब ५ बजेतिर मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए। कलेजोको क्यान्सरका कारण गम्भीर बिरामी भएका उनको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा बिहान मृत्यु भएको काफ्लेले बताए।

क्यान्सर रोगबाट पीडित हुँदै गएपछि केन्द्रीय कारागार काठमाडौँबाट गएको असार १३ गते उनलाई चितवन ल्याइएको थियो । उनको क्यान्सर अस्पतालमा उपचार जारी थियो । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १० वर्ष कैद तोकिएका उनले २ वर्ष मात्रै कैद भुक्तान गरेको जेलर काफ्लेको भनाइ छ ।

यसअघि गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको जिल्ला कारागार चितवनले जनाएको छ ।

भरतपुर कारागारमा अझै चारजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा क्षमताभन्दा तेब्बर बढी ५६३ कैदी र थुनुवा रहेको कारागारले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्