सिन्धुलीमा ३४ हजार भूकम्प प्रभावित, घर निर्माण गर्ने ३ हजार

सिन्धुली, साउन १४ । वि.स. २०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पपछिको पुनर्निर्माणले तिव्रता पाउन सकेको छैन ।

सिन्धुलीमा ३४ हजार प्रभावितमध्ये ३ हजारले मात्र घर निर्माण सुरु गरेको एक तथ्यांकले देखाएको छ । भूकम्प प्रभावितको आवास निर्माणका लागि सरकारले किस्ताबन्दीमा अनुदान वितरण गरे पनि सिन्धुलीमा दोस्रो किस्ता लिनेको संख्या न्यून छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्यव समितिको सचिवालय सिन्धुलीका अनुसार जिल्लाका ३४ हजार २ सय ७० लाभग्राही मध्ये २९ हजार १ सय ५१ जनाले पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन् ।

तर, घर निर्माणको काम भने ३ हजार जतिले मात्र सुरु गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले २ हजार ६ सय ३१ लाई दोस्रो किस्ता र १ सय ३२ लाई तेस्रो किस्ता सिफारिस गरेको जनाएको छ ।

सिन्धुलीमा घर निर्माण शुरु गरेका भूकम्प प्रभावित मध्ये १ हजार १ सय ८५ ले मात्र दोस्रो किस्ताको रकम प्राप्त गरेकाले पनि पुनर्निर्माणको काममा ढिलाई भएको पुष्टि भएको छ ।

पुनर्निर्माणका लागि सरकारी मापदण्ड र झन्झटिलो प्रक्रियाका कारण प्रभावितहरुले घर बनाउन नसकेको बताएका छन् ।

वर्षाको समयमा दक्ष कामदार, इञ्जिनियरको कमी, पानी, काठ र निर्माण सामग्रीको अभाव र प्राविधिक ज्ञानको कमीका कारण पुनर्निर्माणले गति लिन नसकेको भूकम्प प्रभावितहरु बताउँछन् ।

स्थानीय तहमा खटिएका ईन्जिनियरले भूकम्प प्रतिरोधी घर सिफारिस गरेर शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको प्राविधिक सुपरिवेक्षण टोलीले प्रमाणित गरेपछि मात्रै जिल्ला आयोजना कार्यान्वयन इकाइ मार्फत दोस्रो किस्ता वितरण हुन्छ ।

भूकम्प प्रभावितले पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रोमा थप एक लाख गरी तीन लाख पाउने व्यवस्था छ ।

तर न्यून आर्थिक अवस्था भएका ग्रामिण क्षेत्रका भूकम्प प्रभावितले महंगो निर्माण सामग्री प्रयोग गरेर भूकम्प प्रतिरोधि घर बनाउन सक्ने अवस्थामा देखिँदैनन् ।

सिन्धुलीमा २५ हजार ५ सय ३८ गुनासा संकलन भए पनि हाल सम्म २ सय ९९ गुनासा मात्र फछ्र्योट भएको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्