एक्लिए बाबुराम, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्ने

बाबुरामको आत्मवादी चिन्तन पार्टी संकटको मुख्य कारण

काठमाडौं, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्ति फुटाउन माओवादीलगायतका पार्टीले षडयन्त्र गरिरहेको स्टाटस लेखिरहँदा उनकै सहयात्री खिमलाल देवकोटाले भने राजिनामा दिइरहेका थिए ।

खिमलाल देवकोटा नयाँ शक्तिभित्र सक्रियरुपमा खटिएका नेता थिए । खासगरी पार्टीका नीति र कार्यक्रमहरुको प्रचार र प्रसारमा उनको भूमिका अहम् थियो । शुरुआती दिनहरुमा देवकोटाले पार्टीका हरेक सामग्रीहरुको प्रचारका लागि योजनाबद्ध काम शुरु गरेका थिए ।

तर पार्टीभित्र निर्वाचनमा पराजयपछि जुनखालको छलफल र मन्थन हुनुपथ्र्यो, त्यसको साटो पद र अवसरको बहस शुरु भएपछि उनले राजिनामा दिएको घोषणा गरे ।
खिमलाल एउटा उदाहरण मात्रै हुन, नयाँ शक्तिभित्र पछिल्लो समयमा देखा परेको गैर राजनीतिक कार्यशैलीका कारण लामो समय पार्टी पद्दतीमा हुर्केकाहरु खिन्न भएका छन् ।
विचार जे जस्तो भएपनि पार्टी एउटा पद्दतीमा अघि बढ्नुपर्छ भन्नेहरु अहिले शक्तिका लागि जे पनि गर्ने बाबुराम लाइनका कारण निराश भएका हुन । पार्टीभित्रै अन्तर्सघंर्ष गरिरहेका उनीहरुले बाबुरामलाई वैचारिक दृष्टिले छोडेका छन् ।

अर्थात्, बाबुरामले षडयन्त्रको जतिसुकै कुरा गरेपनि आन्तरिक कारणले नै उनी एक्लो पर्दै गएका छन् ।

बाबुरामसँग निराश भएका नेताहरुले पार्टी नै छोड्ने अभिव्यक्ति नदिएपनि पार्टीभित्र बाबुराम एक्लिँदा जुन मिशनका साथ नयाँ शक्ति गठन भएको थियो, त्यो पुरा नहुने उनीहरुको चिन्ता छ । सिँगो जीवन राजनीतिक आस्था र समर्पणमा बिताएपछि जीवनको उत्तरार्धमा केही नयाँ गरौं भन्दा पुरानो भन्दा पनि झन स्खलित वैचारिक अवस्था सिर्जना भएपछि धेरै जसो नेताहरु अहिले वैचारिक संकटमा परेका हुन ।

बाबुरामले नयाँ शक्ति गठन गरेको दिन प्रचण्डले भनेका थिए– मैले २६ वर्षसम्म बाबुरामलाई झेले, अरुले एक वर्ष झेलेर देखाउन । अहिले त्यही सही भएको छ । बाबुरामलाई झेल्नु गारै रहेछ भन्ने निष्कर्शमा अधिकांश पूर्व सहयात्रीहरु पुगेका छन् । केही अझै उनकै समर्थनमा छन् तर पार्टी फुटाउन हुन्न भन्ने मत व्यक्त गरेपनि बाबुरामको यो कार्यशैलीसँग चाहिँ सहमत हुन सकिन्न भन्नेको जमात बढी छ ।

पछिल्लो बैठकले पार्टीमा नयाँ जीवन दिन सकेन । आशा गरिएको थियो, यो बैठकले कम्तीमा संगठनात्मक र वैचारिक मन्थन गर्ला भनेर । तर त्यसो भएन । बैठकमा अधिकांश नेताहरुको असन्तुष्टि मात्रै सुनियो । त्यहाँ सिर्जनात्मकता देखिएन । बैठकपछि जुन उर्जा नेताहरुमा देखिनुपथ्र्यो, त्यो देखिएन । बरु विकल्प खोज्नैपर्ने हो त ? भन्ने अवस्थामा नेताहरु पुग्न थालेका छन् । यो भनेको बाबुरामको कार्यशैलीका कारण हो भन्ने स्पष्ट भएको अवस्था छ ।

बाबुरामले आफ्नो पार्टी माओवादीसँग एकीकरण हुनै नसक्ने कुरा बारम्बार भनिरहेका छन् । त्यो भित्र उनको डर र असफलताले जन्माएको कुण्ठा लुकेको देखिन्छ । त्यसैले कुनै बेला नयाँ नेतृत्वलाई पार्टी हस्तान्तरण गर्ने, कुनै बेला ५ वर्षपछि हस्तान्तरण गर्ने, कुनै बेला चुचुरो उक्लिने जस्ता उनका अभिव्यक्ति सार्वजनिक भएका छन् । यता उनकै समकक्षमा खुलेका साझा र विवेकशीलबीच एकता भएपछि बाबुरामलाई झनै तनाव भएको छ ।

अहिले अवस्था के छ भने, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्छ । तर यो फूट अरु पार्टीहरुको षडयन्त्रका कारण भने हुने छैन । किनभने अरु पार्टीलाई त्यो षडयन्त्र गर्नु आवश्यक नै छैन । जसरी माओवादीभित्रको फूट आफ्नै कारणले भयो, त्यही कुरा नयाँ शक्तिमा पनि लागु हुने छ । नयाँ शक्तिभित्र बाबुरामले जसरी विचार, विधि र पद्दतीलाई सही ढंगले स्थापित गर्न सकेनन्, अबको फूट, पलायन र स्खलन त्यही कारण हुने छ ।

समस्या के छ भने बाबुराम चेत्दैनन्, उनी आत्मवादी छन् । उनका लागि उनले जानेको सत्य हो । उनले बुझेको साँचो हो । उनी ‘म’ बाट शुरु गर्छन् । ‘हामी’ भन्न उनको दिमागमा नै आउँदैन । मैले यसो गरेँ, मैले यहाँ ल्याइपुर्याएँ, मैले गर्दा यसो, मैले नभए उस्तो…। उनका हरेक अभिव्यक्तिमा झल्किने यो ‘म’ नै अहिलेको मुख्य समस्या हो । तर उनी यो सच्याउन चाहँदैनन् । यो प्रवृत्तिका रुपमा विकास भइसकेको छ । यही कारणले अहिले नयाँ शक्ति संकटमा परेको हो । यो संकटबाट सहजै अगाडि बढ्न सक्ने अवस्था देखिँदैन । विकल्प खोज्नैपर्ने अवस्थामा सबै पुगेका छन् । तर विकल्प खोज्दा उचित अवतरण या समायोजनको विकल्प नभेट्दा सम्म बाबुरामलाई थेग्नैपर्ने बाध्यतामा पनि उनीहरु छन् ।
(नयाँ शक्तिका एकजना नेतासँग गरेको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्