अब आन्दोलन गर्ने आंशिक प्राध्यापक संघको चेतावनी

काठमाडौं, साउन १४ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले अब आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका छन् ।

गत मंगलबार त्रिवि उपकुलपतिको कार्यलय अगाडि रिले अनसन शूरु गरेका उनीहरुले सरकारले कुनै पहल नगरेको भन्दै आगामी आगामी २२ गतेसम्म अनसन जारी राख्ने र त्यसपछि पनि माग पूरा नभए आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

त्रिविको ६० वटा आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकले बौद्घिक शोषण भएको भन्दै आफूहरुलाई करार नियुक्ति गरिनुपर्ने माग अघि सारेका छन् । यसैबीच त्रिभुवन विश्वविद्यालयले उनीहरुको दीर्घकालिन समस्या समाधानका लागि ३ सदस्यीय समिति गठन गरेको छ । निकायगत, विषयगत आंशिक प्राध्यापकको संख्या यकिन गरी काम अगाडि बढाइरहेको समितिका संयोजक टेकनाथ ढकालले जानकारी दिएका छन् ।

मुलुकभर कार्यरत आंशिक प्राध्यापकको संख्या यकिन गरेर समितिले यहि साउन अन्त्यसम्ममा त्रिविलाई प्रतिवेदन बुझाउने उनले बताए ।

कमेन्ट गर्नुहोस्