दल दर्ताका लागि निर्वाचन आयोगको आह्वान

काठमाडौं, साउन १४ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।

शनिबार सार्वजनिक सूचना जारी गरी आयोगले माघ ७ भित्र दुवै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक ब्यबस्थालाई आधार मान्दै आयोगले दुवै निर्वाचनको प्रक्रिया सुरु गरेको जनाएको छ ।

आयोगले दुवै निर्वाचनका लागि ३० दिनको समय दिएर दलहरुलाई दल दर्ताको लागि सार्वजनिक आव्हान गरेको हो । संविधानको धारा २ सय ७१ मा राजनैतिक दलको मान्यता पाउन आयोगमा दल दर्ता अनिवार्य गराउनु पर्ने उल्लेख छ । आयोगले दल दर्ताका लागि गत आर्थिक बर्षको आय ब्यय विवरण सहितको प्रतिवेदन, निर्वाचनमा भाग लिने जिल्ला, दलको झण्डा, चुनाव चिन्ह निवेदनका साथ आयोगमा बुझाउनुपर्नेछ ।

त्यस्तै पार्टीको बिधान, नियमावली र घोषणापत्र पनि निवेदनका साथ संलग्न गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आयोगको समयसिमा भित्र अर्थात् आगामी भदौ ११ गते भित्र दर्ता भएका दलले मात्र सहभागी हुन पाउनेछन् ।

साउन १ गतेदेखि जिल्ला सदरमुकामबाट नामावली संकलन सुरु गरेको आयोगले जिल्ला सदरमुकाम सहित स्थानीय तहबाट पनि नामावली संकलन गर्न लागेकोछ ।

कमेन्ट गर्नुहोस्