Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बलिउड क्षेत्रलाई त्याग्ने केही चर्चित अभिनेत्रीहरु

साउन १४ । बलिउडका थुप्रै अभिनेत्रीहरुले चल्तीमै हुँदा अभिनय यात्रा टुंग्याएका छन् । आफ्नो समयका चर्चित रहेकामध्ये केही अभिनेत्रीले अभिनयलाई गुडबाई भन्न फ्लपसम्म पर्खिएनन् । कतिपयले भने आफू अभिनीत बलिउड चलचित्र फ्लप हुँदै गएपछि कामविहीनताका कारण स्वतः फिल्मकर्म छाडेका छन् ।

चलचित्र फ्लप नहुँदै एकाएक बलिउड क्षेत्रलाई बाईबाई भन्न पछि नपरेको अभिनेत्रीहरुको लिस्ट यी हुन्-

आयशा जुल्का

आयशा जुल्का नब्बेको दशककी चर्चित हिरोइन हुन् । हाल ४५ वर्षीया उनले ११ वर्षको उमेरमा अभिनय करिअर सुरु गरेकी थिइन् । सन् १९८३ मा बनेको ‘कैसे कैसे लोग’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेकी उनी सन् २०१० सम्म अभिनयमा सक्रिय रहिन् ।

सन् २००३ मा व्यवसायी समीर वाशीसँग बिहे गरेकी उनले २७ वर्ष लामो करिअरमा ५२ वटा फिल्ममा अभिनय गरिन् । ‘खिलाडी’, ‘जो जिता वही सिकन्दर’, ‘बलमा’, ‘रंग’ जस्ता चलचित्रमा अभिनय गरेकी उनले आमिर खान, सलमान खानजस्ता सुपरस्टारसँग पनि काम गरिसकेकी छिन् । फ्लप भएर फिल्म उद्योग छोड्नुभन्दा चल्तीमै बाटो लाग्नु उचित भएको तर्क उनको छ ।

मन्दाकिनी

राज कपुरको निर्देशनमा बनेको चर्चित चलचित्र ‘राम तेरी गंगा मैली’ मा मन्दाकिनीले महत्वपूर्ण भूमिका निर्वाह गरिन् । त्यो फिल्मले उनलाई करिअरको नयाँ उचाइमा पुर्याएको थियो । त्यो फिल्ममा उनले निकै बोल्ड सिन दिएकी थिइन्, जसले गर्दा उनको करिअर एकाएक चम्किएको थियो । ती दृश्यहरूको अहिले पनि चर्चा हुने गर्छ ।

सन् १९८५ मा ‘मेरा साथी’ फिल्मबाट करिअर सुरु गरेकी उनले सन् १९९६ को ‘जोरदार’ फिल्मसँगै अभिनय बन्द गरिन् । अचेल उनी तिब्बती योगाको क्लास चलाउने गर्छिन् । उनी दलाई लामाकी अनुयायी हुन् ।

भाग्यश्री

सलमान खानका साथ ‘मैने प्यार किया’ फिल्मबाट डेब्यु गरेकी भाग्यश्रीले ‘त्यागी’, ‘पायल’, ‘घर आया मेरा परदेशी’ लगायतका थुप्रै फिल्ममा अभिनय गरिन् । पहिलो फिल्म हिट भएपनि त्यसपछिका उनका फिल्मले खासै कमाल देखाउन सकेनन् । त्यसकारण काम पाउँदा–पाउँदै पनि उनले १९ वर्षको उमेरमै अभिनय छाडिन् । अचेल उनी गृहस्थी जीवन व्यतीत गरिरहेकी छिन् ।

नीतु कपुर

नीतुले बाल्यकालदेखि नै अभिनय थालेकी हुन् । अभिनेता ऋषि कपुरसँग १४ वर्षको उमेरमै प्रेममा परेकी नीतुले २१ वर्षको उमेरमा ऋषिसँग बिहे गरिन् । नीतुले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । बिहेपछि पनि उनले ‘बेसर्म’, ‘दो दुनी चार’ लगायतका केही फिल्ममा सानो भूमिका निर्वाह गरेकी थिइन् ।

सायरा बानो

सायरा एकताका बलिउडमा निकै चर्चित थिइन् । विशेष गरी उनको लट्काझड्का र अदाले तारिफ पाउने गथ्र्यो । उनले २२ वर्षको उमेरमा तत्कालीन सुपरस्टार दिलीपकुमारसँग बिहे गरेकी थिइन् । उनले ‘जंगली’, ‘आई मिलनकी वेला’, ‘दूरकी आवाज’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनले बिहेपछि अभिनय चटक्कै छाडेकी हुन् ।

मीनाक्षी शेषाद्री

मीनाक्षीले करिअर उचाइमा पुगेका वेलामा एकाएक ब्यांकर हरिश मैसुरसँग बिहे गरिन् । बिहेपछि उनी पतिका साथ अमेरिका बसाइँ सरिन् । ज्याकी स्राफ, ऋषि कपुर र सनी देओल लगायतका हिरोसँग अभिनय गरेकी उनले ‘मेरी जंग’, ‘घर हो तो ऐसा’, ‘घायल’, ‘दामिनी’, ‘घातक’लगायतका हिट फिल्म दिइन् । अचेल उनी आफ्ना छोरी केन्द्रा र छोरा जोसको हेरचाहमा व्यस्त छिन् । उनले अमेरिकाको टेक्सासमा डान्स क्लास पनि चलाउँछिन् ।

बबिता

आफ्नो जमानाकी चर्चित हिरोइन बबिता शिवदासिनीको फिल्म करिअर छोटो, तर सफल रह्यो । उनले चरम सफलताको अवस्थामा फिल्म अभिनय छोडेकी हुन् । खासमा उनले प्रेमका लागि फिल्म अभिनय छाडेकी हुन् । फिल्म छाडेर बिहे रोजेकी उनले रणधीर कपुरसँग बिहे गरिन् । तर, उनको बिहे धेरै समय टिकेन । बबिताले दुई छोरी करिश्मा र करिनालाई लिएर पति रणधीरसँग अलग बसिन् । बबिताले छोटो समयमै ‘हसिना मान जायगी’, ‘फर्ज’ र ‘किस्मत’ फिल्ममा अभिनय गरेकी थिइन् ।

ट्विंकल खन्ना

सन् १९९५ को वर्षात् फिल्मबाट करिअर सुरु गरेकी ट्विंकलले ‘जान’, ‘जब प्यार किसीले होता है’, ‘मेला’, ‘जोरका गुलाम’ लगायतका थुप्रै फिल्ममा अभिनय गरिन् । अक्षयकुमारसँग बिहे गरेपछि भने उनी घरजममै व्यस्त भइन् । सन् २००१ मा रिलिज भएको ‘लभ के लिए कुछ भी करेगा’ फिल्म नै उनको प्रदर्शित अन्तिम फिल्म हो । बिहेपछि उनलाई अक्षयले नै अभिनयमा लगाउन चाहेनन् । ट्विंकलका आरव र नितारा, दुई सन्तानको हेरचारका साथै किताब लेखन र इन्टेरियर डिजाइनिङमा पनि सक्रिय छिन् ।

सोनु बालिया

असी र नब्बेको दशकमा बलिउडमा आफ्नो नाम चम्काएकी मोडल तथा हिरोइन सोनुले सन् १९८५ मा मिस इन्डियाको उपाधि जितेकी थिइन् । झन्डै तीन दर्जन फिल्ममा अभिनय गरे पनि सफलता नपाएपछि उनले बी ग्रेडका फिल्ममा अभिनय गर्न थालिन् । तर, उनको कामले निकै आलोचना खेप्नुपर्यो । त्यसपछि उनले फिल्म अभिनय छाडेर बिहे गरिन् । उनले एनआरआई सूर्य प्रकाशसँग बिहे गरिन् । केही वर्षपछि सूर्यप्रकाशको निधन भयो । सोनुले फिल्म निर्माता प्रताप सिंहसँग दोस्रो बिहे गरिन् । धेरै वर्षदेखि सोनु अमेरिकामा बस्दै आएकी छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: