प्रधानमन्त्री एवम् कुलपतिलाई खुला–पत्र

प्रधानमन्त्री एवम् कुलपति ज्यू नमस्कार ।

बिगत ५ दिनदेखि नेपालका आंशिक प्राध्यापकहरू रिले अनशनमा छन् । जेष्ठ विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले अग्रणी भूमिका निर्वाह गरेको आन्दोलन विगत ५ महिनादेखि चलेको भएपनि निकासको बाटो अझै लिएको छैन ।

०४६ पछिको परिवर्तन र ०६१÷६२ को आन्दोलनले दुई पटक समस्याको समाधान भएपनि ०६४ पछिका आंशिक प्राध्यापकले गणतन्त्रात्मक समयमा ज्यालाको माग गरिरहेका छन् । केवल भनिरहेका छन्, करार गर र अब उप्रान्त आंशिक नियुक्त बन्द गर ।

रूद्रप्रसाद भट्टराई

प्रधानमन्त्री एवम् कुलपति ज्यू ! विश्वविद्यालयमा कक्षाभार थामिनसक्नु छ तर आंशिकलाई करार गर्न दरबन्दी छैन भनिन्छ पटक—पटक । हामी दशौँ वर्षदेखि त्यहि स्थानमा आंशिक छौँ, निस्कीऊँ भन्दा कहाँ जाने ? उमेर आंशिकमा बितेको छ । शिक्षण संस्थाले चुसेका हामी तपाइँसमक्ष न्याय मागिरहेका छौँ । तत्कालिन प्राधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले जस्तो निर्णय गरी दरबन्दी सृजना गर्न अवश्य सक्नुहुन्छ तपाइँ । विश्वविद्यालय पढाउने शिक्षकले यो स्तरको लेखाई नसुहाउला तर कुलपतिसँग गाँस, बास र कपासको लागि आग्रह गर्ने अधिकार अवश्य छ । हामीलाई उपकुलपति, रेक्टर र रजिष्टारले पटक पटक ढाँटे, धोका दिए अहिले भन्छन् ‘सकिँदैन’ । यहि भएर पत्र लेख्न बाध्य बने म ।

०६५ सालदेखिका हरेक सरकारसँग सम्झौता गरेका छौं, कतै राहत उपलब्ध गराउला भनेर तर खहरे खोलाजस्तै भए बिगतका १० वर्ष ! चारैतिरबाट गरिब मास्टरसावहरूले दुःख गरेर सर्ट र पाइन्ट टल्काएर कक्षा लिन कहिल्यै आनाकानी र बिरामी भएको बहाना गरेका छैनन् । केवल भनिरहेका छन्, लगानी गरियो कम्तिमा मासिकी ज्याला देऊ अर्थात करार गराइदेऊ ।

सीमा निर्धारण गरि करार गर्नुपर्ने, पढाएको ज्याला पाउनुपर्ने, समयानुसार विज्ञापन गर्नुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने जस्ता माग राखेर अनशन सुरु गरेका आंशिक प्राध्यापकको पीडा थामिनसक्नु छ । विश्वविद्यालय पटक पटक सम्झौता गर्छ तर कार्यान्वयनमा चुक्ने गरेको कारण आंशिकको समस्या लम्बिँदो छ । तर उनीहरूको जायज माग पूरा नगरेकै कारण अनशन रोज्नुपर्ने वाध्यता विश्वविद्यालयले नै रोजेको प्रष्ट छ । कसैको ज्यान मागेको होइन कुलपति ज्यू, केवल भनिरहेका छौँ पढाएको पैसा मासिकमा देऊ ।

आंशिक प्राध्यापकसंग भएका लिखित सम्झौताहरू अक्षरंश पालना हुने हो भने विश्वविद्यालय बन्छ । तर पटक—पटक छलकपटमा गुजार्ने राणनीतिलाई फेरिपनि लम्ब्याइँदो छ । कार्यकारी निकायले यतिका दिनसम्म दरबन्दी छैन भनेर टारिरहेको छ । यस्तै हाल छ त्रिविको कुलपति ज्यू, भन्नोस् हामी के गरौं ? कहाँ जाऊँ, र कसलाई भनौँ !

नीति निर्माण तहमा बसेर राम्रा कानूनहरू निर्माण गर्दै दीर्घकालीन हुने कार्यहरू गर्नुपर्नेमा विश्वविद्यालयहरूमा पछिल्लो समय घुष्याहा र भ्रष्ट व्यत्तिहरूको मनोमानी बढ्नाले पेशा र पद्दतिमाथि धब्बा जन्मन पूगेको छिपाउन सकिन्न । यसमा तपाइँहरूको भूमिका जोड्दार छ । यस्ता गतिविधिले गर्दा पैसा खर्च गरेर जे पनि जसरी पाइन्छ भन्ने केहीतन्त्रले जरा गाडेको छ । त्यस्ता तत्वहरूका लागि आंशिक प्राध्यापक को समस्यालाई समाधान गर्नु अपरिहार्य छ । यो वेथितिलाई यत्तिकै छाडिदिने हो भने गलत परिपाटीको कहिल्यै अन्त्य हुँदैन । आंशिकले भोको पेटले कलेज पढाएका छन र स्थाईलाई आराम गर्न दिएका छन् । अब बुझ्नुस् कुलपति ज्यू विश्वविद्यालय आंशिक प्राध्यापकले धानेको छ ।

यहाँ आंशिक प्राध्यापकले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । कयौँपटक धोकाखडीमा उनीहरूको जीवन चल्दो छ । नविन नेतृत्व आउँदा समाधान हुने आशा धेरै पटक मरिसकेको छ । इतिहासको पाटो ताजा छ, विश्लेषण गर्ने छुट्टै परिपाटी होला, तर न्याय नभएको प्रष्टै देखिन्छ । सरकार, संसद, राजनीतिक दल, पदाधिकारी, विभिन्न निकायहरू राजनीतिक संस्कार र दायित्ववोध नभएका कारण हामीले दुःख माथि महादुःखको सामना गरिरहेका छौँ ।

विज्ञापनपनि समयानुसार नखोल्ने अनि उमेरको हदबन्दी लगाउने, पढाइरहेकोलाई बाइपास गर्ने अनि विज्ञापन खोल्न दिएन भन्ने, मुद्धा पर्ने विज्ञापन गर्ने अनि निकायले अल्झायो भन्ने । यस्तै यस्तै किचलोका कारण त्रिवि गुज्रिँदो छ । कुलपति ज्यू अब भन्नुस अनि गर्नोस् यो एक शिक्षकको मात्र आवाज होइन देश विदेश चलाउने पीँढिले यो चित्कार प्रकट गरिरहेको छ । तपाइँलाई देश चलाउन सिकाउने प्राध्यापकको यो हालत् तपाइँ कतिन्जेल हेर्न सक्नुहुन्छ ! नयाँ नेपाल भनिएपनि आंशिकले यसको स्वाद चाख्न पाएका छैनन् । यसकारण तपाइँबाट हाम्रो आशा केवल हामीसँग सरकारले गरेका लिखित सम्झौताहरू कार्यान्वयन गरिदिनुस् । बरु ठूला माछा वर्षमा २ वटा पक्डीनुस् तर आंशिकलाई दरबन्दी सृजना गर्नुस् । पील्सिएका करिब १३०० आंशिक प्राध्यापकहरूका यो माग होइन, जायज त्यतिबेलै भएका हुन् जुन पूरा गरेर शैक्षिक क्षेत्रलाई आंशिक मूक्त बनाइदिनुस् । आशा छ अर्कोपटक पत्र लेख्दा आंशिक भएर होइन करार भएर लेख्ने बाचा गर्दै कलम रोक्छु ।

कमेन्ट गर्नुहोस्