कुम्भकर्ण माओवादी नेताका नाममा खुला पत्र

आदरणीय नेतागण,

एक शुभेच्छुकको तर्फबाट क्रान्तिकारी अभिवादन ।

स्थानीय तहको दोस्रो निर्वाचनमा लाज पचाउन गाउँ झर्नु भएपनि ब्यालेटको कन्टेनरमा भोट खसाल्नेबित्तिकै कुलेलाम ठोक्नुभएकाले पक्कै पनि काठमाडौंको खाल्डोमै हुनुहोला भन्ने विश्वासका साथ यो पत्र लेख्दैछु । प्रदेश नं.–२ मा कार्यक्षेत्र भएका कमरेडहरु त मधेशमा डुल्दै हुनुहोला । तर, स्थानीय तह निर्वाचन सम्पन्न भएका जिल्ला र प्रदेशका कमरेडहरु आफ्नो युगान्तकारी जिम्मेवारी पुरा गरेर प्रदेश सभा निर्वाचनको मिति कुरेर बस्नुभएको छ भन्ने सुन्दा मन कता–कता अमिलो भएको छ । यहाँहरुको यही जिम्मेवारीको भारीबारे थोरै मन्थन गर्ने जमर्कोसहित यो पत्र लेखिरहेको छु ।

स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । तपाईहरुले नै संशोधनवादी र प्रतिक्रियावादको मतियारको उपमा भिराएको एमाले २७६ स्थान र बुर्जुवा वर्गको प्रतिनिधि ने.का. २२७ स्थानमा विजय हासिल गर्दैगर्दा यहाँहरुकै अथक प्रयास र बलिदानीपूर्ण सङ्घर्षले ८४ स्थान जितेको धमिलो चित्र हाम्राअगाडि छ । तर, तपाईहरुका आँखा भने खुलिसकेका छैनन् । तपाईहरु निर्वाचनको समीक्षामा त हुनुहुन्छ । तर, कि त ‘कुरोको चुरो’ पत्ता लगाउन सकिरहनुभएको छैन, कि त आफ्नो लाज ढाक्न माक्र्सवाद र सिद्धान्तको नयाँ पगरीकै खोजीमा हुनुहुन्छ । यसले यहाँहरुले जतिसुकै बौद्धिक बिमर्श गरे पनि व्यवहार सच्चिने लक्षण देखिएको छैन ।

माओवादीले चुनाव किन हार्यो ? यहाँहरुका आ–आफ्नै समीक्षा छन्, तर्क छन्, अनि त्यसलाई पुष्टि गर्ने अनेकौं बहाना पनि । तर, जनता र शुभेच्छुक तपाईहरुको तर्क र बहानासँग सहमत छैनन् । सधैंझैं यसपटकको पार्टी बैठकमा पनि अरु सबै खराब र आफू असल भएको दलिलसहित समीक्षा रिपोर्ट राख्नुभएकै होला । तर, यसले माओवादी बन्दैन भन्ने कुरा यसपटक पनि भुसुक्कै बिर्सिनु भएजस्तो लाग्यो । तपाईले भनेजस्तै माओवादीसँग पैसा नभएर चुनाव हारेको हो ? तपाईले भनेजस्तै जनतामा राजनीतिक चेतना भएर एमाले–कांग्रेसले जिते ? तपाईको दलिलझैं चुनावमा आर्थिक चलखेल नै निर्वाचन परिणामको सम्पूर्ण कारण हो ? यसो गम्छु, मन मान्दैन । माओवादी हार्नुमा अरु कसैको दोष नभएर मस्त निद्रामा सुत्ने कुम्भकर्ण नेताहरुको दोष छ भन्ने म बबुरा शुभेच्छुकको ठम्याई छ ।

तपाईले भनेजस्तै माओवादीसँग पैसा नभएर चुनाव हारेको हो ? तपाईले भनेजस्तै जनतामा राजनीतिक चेतना भएर एमाले–कांग्रेसले जिते ? तपाईको दलिलझैं चुनावमा आर्थिक चलखेल नै निर्वाचन परिणामको सम्पूर्ण कारण हो ? यसो गम्छु, मन मान्दैन । माओवादी हार्नुमा अरु कसैको दोष नभएर मस्त निद्रामा सुत्ने कुम्भकर्ण नेताहरुको दोष छ भन्ने म बबुरा शुभेच्छुकको ठम्याई छ 

अरु पार्टीलाई चुनाव २ वर्षअघि लाग्छ । तर, तपाईहरुलाई २ महिना अघिसम्म पनि चुनावी हावाले छुँदैन । अघिल्लो वर्ष निर्वाचन आयोग मतदाता नामावली संकलन गर्दै थियो, एमाले, कांग्रेसका नेताहरु गाउँ–गाउँ पसेर आफ्नो समर्थकलाई निर्वाचन कार्यालयसम्म ल्याउँदै थिए । उनीहरु आयोगको ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ नारालाई व्यवहारमै लागु गरेका थिए । तर, त्यही बेला तपाईहरु गुट बनाउन र पार्टी बैठकहरुमा कुर्सी हान्नै व्यस्त हुनुहुन्थ्यो । आफ्ना समर्थकलाई सदरमुकामसम्म ल्याउने त्यो लफडा किन गर्नु ? तपाईहरु भन्नुहुन्थ्यो, ‘माओवादी भन्दा राम्रो पार्टी कोही छ ? जनताले माओवादीलाई भोट नहालेर कसलाई हाल्छन् ?’ तपाईहरुमा एक प्रकारको दम्भ थियो । तर, जनताले दम्भ चिन्दैनथे र चिनेनन् । निर्वाचनले चार बल्र्याङ खाएपछि नि तपाईहरुको चेत खुलेन, बरु जनता गणेशमानले भनेझैं ‘भेडा नै रहेछन्’ भन्ने अन्तर्मनले निष्कर्ष निकाल्नुभयो ।

हिजो तपाईहरु भन्नुहुन्थ्यो, ‘हामी जनताका नोकर हौं, जनताको सेवा नै हाम्रो एक मात्र लक्ष्य हो ।’ तर, अहिले तपाईहरुको अन्तर्मनले त्यसो भन्दैन । तपाईको लक्ष्य न साम्यवाद छ, न जनताको सेवा नै । आफ्ना अमूक स्वार्थ पूर्तिका लागि सर्वहारा वर्गको हबला चाहीँ दिई नै रहनुहुनेछ भन्ने हामीलाई राम्रोसँग हेक्का छ । तर, सर्वहारा वर्गप्रति प्रेम होइन, एक प्रकारको घृणाभाव तपाईहरुमा जाग्छ भन्नुपर्दा मन अमिलो हुन्छ । शहरका तारे होटलमा छिरेपछि तपाईहरुको दिनचर्या फेरिएको छ । सुगुरको खोर सफा गर्न आउनुभएका तपाईहरु आफै सुगुरजस्तै देखिँदा पनि कुनै फिक्री छैन । यसले तपाईहरुलाई भन्दा बढ्दा सूर्ता हामीलाई परिरहेको छ ।

नेतागण, तपाईहरुलाई थाहा छ ? कांग्रेस र एमालेभित्र पनि गुट छ । मत मतान्तर त्यहाँ पनि भइरहन्छ । तर, तपाईहरुको जस्तो यदुवंशी लडाई त्यहाँ गर्दैनन् । उनीहरु हरेक कुरालाई विधिसम्मत छिनोफानो गर्छन्, पद्दतिको पालना गर्छन् । भित्र मारामार गर्छन् । तर, बाहिर एकले अर्काको राम्रोसँग संरक्षण गर्छन् । उनीहरुलाई राम्रोसँग हेक्का छ कि जतिसुकै दुश्मन भएपनि अन्तिममा पार्टीकै मान्छे काम लाग्छ । तर, तपाईहरुको सोच्ने तरीका बिल्कूलै उल्टो छ । तपाईहरु, आफ्ना सिध्याउन अरुको बैशाखी टेक्नुहुन्छ । वर्गबैरीको काखमा बसेर मित्रको मुटुमा छुरा धस्नुहुन्छ । अनि, यो सबै राम्रैसँग हिसाब गरेको विरोधीले तपाईलाई कसरी नेता मान्ला ?

२०६४ सालमा संविधान सभाको निर्वाचन हुँदै थियो, त्यतिबेला माओवादी नेताहरु गाउँ र दुरदराजमा थिए । तर, समय फेरियो, कार्यनीतिक स्थानान्तरण र जीतको उन्मादले तपाईहरुको कार्यशैली र प्रवृत्ति फेरियो । २०६४ को निर्वाचनमा बल्र्याङ् खाएका एमाले–कांग्रेसका नेताहरु २०७० सम्म आउँदा धुलो टक्टकाउँदै उठे र दगुरे । तर, तपाईहरुको चेत खुलेन । अझैसम्म मस्त निद्राबाट नब्युझिँदा कार्यकर्ता र शुभेच्छुक आकूलब्याकूल छ ।

तपाईहरु पार्टीका सिसिएम, पिबिएम, स्थायी समिति सदस्य, पदाधिकारी के–के पदमा हुनुहुन्छ । तर, तपाईहरुको कद देखेर दया लाग्छ । ३९९९ सिसिएममध्ये करिब ३५०० जना त कांग्रेसको क्रियाशील सदस्य र एमालेको जनवर्गीय संगठनको सदस्य जति पनि हैसियत राख्नुहुन्न । एकाध नेताहरु असल, इमान्दार र मेघावी पक्कै छन् । तर, ३९९९ को थुप्रोभित्र उहाँहरुले आफ्नो इमान्दारिता र क्षमताको प्रयोग गर्ने अवसर बिरलै पाउनुहुन्छ । काम गर्नेहरुको पनि कुम्भभेला र कुम्भमेला देखेर जाँगर हराउँछ । यसपालिको चुनावमा पक्कै महशुस गर्नुभयो होला, हाम्रा पिबिएमसँग एमालेका गाउँ कमिटी सदस्य चुनाव लडे र भारी मतले विजयी भए । तर, तपाईहरु अझै पार्टीमा बढुवा नभएकोमा गुनासो गर्दै हुनुहुन्छ । सचिवालय बैठकले २ अंकको केन्द्रीय समिति बनाउने निर्णय गरेपछि सायद निद्रा पनि लाग्न छोड्यो होला । तर, पदअनुसारको कद खै ? मान्छे केन्द्रीय नेता भएर वडामा १० मतमा चित्त बुझाउनुपर्दा यहाँलाई आत्मग्लानी हुँदैन ?

जतिबेला २०६४ सालमा संविधान सभाको निर्वाचन हुँदै थियो, त्यतिबेला माओवादी नेताहरु गाउँ र दुरदराजमा थिए । तर, समय फेरियो, कार्यनीतिक स्थानान्तरण र जीतको उन्मादले तपाईहरुको कार्यशैली र प्रवृत्ति फेरियो । २०६४ को निर्वाचनमा बल्र्याङ् खाएका एमाले–कांग्रेसका नेताहरु २०७० सम्म आउँदा धुलो टक्टकाउँदै उठे र दगुरे । तर, तपाईहरुको चेत खुलेन । अझैसम्म मस्त निद्राबाट नब्युझिँदा कार्यकर्ता र शुभेच्छुक आकूलब्याकूल छ । अहिले एमाले–कांग्रेसका नेताहरु जनयुद्धका आधारबस्ती गाउँ–गाउँ छिरेका छन् । तर, तपाईहरुलाई शहर छिरेपछि गाउँ पाखे लाग्न थालेका छन् । डोटीको जिल्ला पार्टीको बैठक काठमाडौंमै बसेर चलाउनु हुन्छ । अनि, एमाले–कांग्रेसले नजितेर कसले जित्छ ?
कम्युनिष्ट पार्टी सर्वहारा वर्गको एक गतिशील दस्ता हो । यो कुनै मौसमी संगठन होइन ।

तर, तपाईहरुलाई जनताले सदाबहार नेता ठान्दैनन् । तपाईहरुको कार्यक्षेत्र दार्चुला छ । तर, डेरा काठमाडौंमा हुन्छ । मान्छे मर्छ, मलामी जानु तपाईको दायित्वभित्र पर्दैन । कार्यकर्ता, शुभचिन्तक समस्यामा पर्छन्, तपाईबाट सहानुभूति पाउँदैनन् । फोन गर्छन्, सकभर उठाउनु हुन्न, झुक्किएर उठाई हाल्नुभयो भने कार्यकर्ताले हौसला पाउँदैन, गाली पाउँछ वा अनेक बहाना बनाएर तर्कनुहुन्छ । छ महिनामा एक दिन जिल्ला झर्नुभयो भने पहिलो काम गुट बनाउने हुन्छ । पार्टीको बैठक बस्नुहुन्छ । तर, सकूर्लर पनि नबन्दै काठमाडौं टाप ठोक्नुहुन्छ । न्याय सम्पादनमा न्यायले जित्दैन, प्रलोभनले जित्छ । विकास निर्माणका काममा अग्रसरता लिनुहुन्न । बरु, चन्दाका लागि बार्गेनिङ गर्नुहुन्छ । अनि, पार्टी कसरी बन्छ कमरेड ?
पार्टीका सबै नेता खराब छैनन् ।

आज माओवादी केन्द्र छ त अध्यक्ष प्रचण्डदेखि केही इमान्दार नेता र लाखौं जुझारु कार्यकर्ताका कारणले छ । उनीहरु पार्टीका बारेमा सोच्छन्, सम्पूर्ण शक्ति पार्टीकै लागि लगाउँछन् । तर, ८० प्रतिशत नेता कुम्भकर्ण भएपछि प्रचण्ड र केही नेताहरुको वुद्धि, बर्कतले के नै पो गर्न सक्छ र ? आखिर, माओवादीमा त्यही भइरहेछ । अहिलेको सचिवालय बैठकले गरेको निर्णय पनि फेरि त्यही छेपारोको कथा हुने हो कि ? हामीलाई गहिरो सूर्ता छ । विगतमा गुट बनाउन, आफ्नो स्वार्थ पूर्ति गर्न, एकले अर्काको चरित्रहत्या गर्न जति शक्ति खर्चनुभयो, त्यति शक्ति संगठन निर्माण र जनसेवामा लगाएर हेर्नुस् त, माओवादी कहाँ पुग्दो रहेछ ?

 प्रचण्ड दिनमा १८/२० घण्टा व्यस्त हुनुपर्ने र तपाईहरु चौरमा बदाम खाएर घाम मात्रै ताप्ने हो भने माओवादी केन्द्र कसरी शक्तिशाली बन्ला ? सामान्य कार्यकर्ताको समस्या आफै समाधान गर्न सक्नुहुन्न भने मन्त्री, स्थायी समिति सदस्य, पोलिट्ब्यूरो लगायतका पदहरुका लागि मरिहत्ते गर्न सुहाउँछ ?

नेतागण, के तपाईहरुको स्थायी समिति र पोलिट्ब्यूरोको जिम्मेवारी बहन गर्ने क्षमता छ ? छ भने एक जना सुब्बाका सरुवाका लागि भीड बोकेर प्रचण्डलाई किन घेर्नुहुन्छ ? त्यति काम आफै फत्ते गर्ने तपाईले औकात राख्नु पर्दैन ? प्रचण्ड दिनमा १८/२० घण्टा व्यस्त हुनुपर्ने र तपाईहरु चौरमा बदाम खाएर घाम मात्रै ताप्ने हो भने माओवादी केन्द्र कसरी शक्तिशाली बन्ला ? सामान्य कार्यकर्ताको समस्या आफै समाधान गर्न सक्नुहुन्न भने मन्त्री, स्थायी समिति सदस्य, पोलिट्ब्यूरो लगायतका पदहरुका लागि मरिहत्ते गर्न सुहाउँछ ? छातिमा हात राखेर सोच्नुस् त, ‘के एमालेका सबै नेताहरु यसरी नै केपी ओली वा शेरबहादुरकोमा आउँछन् ?’ तपाईहरुको जिम्मेवारी पार्टी अध्यक्षलाई बोझ थप्ने होइन, पार्टी निर्माणका लागि बोझ घटाउने हो भन्ने हेक्का कहिले आउँला ? नेता भनेको समस्या नभएर समाधान हुनुपर्ने होइन र ?

नेतागण, माओवादी पार्टी बन्न धेरै केही गर्नु नै पर्दैन, पार्टी र देशका लागि प्रचण्ड जति खट्छन्, तपाईहरु सबै नेता आफ्नो जिम्मेवारी र औकातअनुसार त्यसको १० प्रतिशत मात्र खटिदा पुग्छ । तपाई आफ्नो कार्यक्षेत्रमा बस्दा पुग्छ । जनताको दैनिक समस्या र काममा नङ र मासुको सम्बन्ध बनाउँदा पुग्छ । के तपाईहरु पार्टी कार्यक्षेत्र छोडेर राजधानी र ठूला शहरमा रमाउने, जिल्ला र समर्थकसम्म आफ्नो स्वार्थसमूह बनाउने, स–साना कामका लागि अध्यक्षलाई घेराबन्दी गर्ने, पार्टी काम छोडेर कुम्भकर्णझैं मस्त निद्रामा सुत्ने, आफ्नो स्वार्थ पूर्ति गर्ने र जनतालाई रैति सम्झने संस्कार बदल्न तयार हुनुहुन्छ ? हुनुहुन्छ भने मात्रै माओवादी पार्टी रुपान्तरण भएर पहिलो पार्टी बन्नेछ, अन्यथा, प्रचण्ड, अनन्त, प्रभाकरजस्ता केही नेताले मात्रै यो पार्टी सधैं जोगाउन सक्ने छैनन्, बेलैमा चेतना होस् ।
१४ श्रावण २०७४

कमेन्ट गर्नुहोस्