आज खिर खाने दिन, यस्ताे छ साउन पन्ध्रको महत्व

शुरूवात गराैं एउटा उखानबाट: “यी छोराछोरी बढ्लान् कमार्इ गर्लान् दूध-भात देलान् मलार्इ…”

उपर्यूक्त उखान आमाबुवाले आफ्ना छोराछोरीप्रति आफ्नो भविष्यको शिथिल शरीर र वृद्ध उमेरमा पाउने माया स्याहार र प्रेमको अपेक्षा दर्शाउन सदियाैंदेखि पुस्ता दरपुस्ता सुनिंदै आइएको हो । दूध-भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तरार्इतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसंग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोहडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।

नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाअाजा, विहे-वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरुले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर अाउँछ ।

मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको अाकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आर्यूवेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतैकतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।

भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा बिभिन्न मन्दिरहरुमा निशुल्क गरिब दीनदुखिहरुलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरुमा दीनदुखिहरूलाई खिर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।

हामी संस्कृती र संस्कारमा साँच्चीकै धनी छौं, खिर खानलाई कुनै कार्जे या उपलक्ष्यनै कुर्नपर्छ भन्नेपनि छैन्, श्रावणको १५ लाई खिर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खिरकोलागि प्रचलित छ ।

रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैंयन दशकदेखि स्वादिलो बनाउँदै अाएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् जसलार्इ लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।

अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दुधको ब्यापक बिक्रि हुन्छ नेपालमा । बिहानैदेखि दुध पसलहरुमा भिडभाड हुनेगर्दछ, आफ्नोलागि खिरको जोहो गर्न नभुलौ है । ल है शहरतिर हो भने त डेरीमा अरूदिन ३-४ बजे सक्किने दूध बिहान ९ नबज्दै सक्किएला… ढिलो हुँदा नपाइएला नि ! हाम्राे पात्राेबाट साभार गरिएकाे हाे ।

कमेन्ट गर्नुहोस्