लोक कथाः कर्णे डाँकुदेखि श्रीकर्ण ॠषिसम्म

साक्ष्यात सुशील

लामो समयसम्मको चोरी र डकैती पेसाबाट अकुत सम्पत्ति कुम्ल्याए पनि कर्णे डाँकालाई मनमा शान्ति हुन छोड्यो । धन सम्पत्ति प्रशस्त भएपनि मनमा सन्तुष्टि नहुँदा उनी भड्किदै हिंड्न थाले । आखिर जे गरेपनि शान्ति मिल्दो रहेनछ भनेर बिरक्तिदै एकाबिहानै भगवान शिवको दर्शन पनि गर्ने र प्रसाद स्वरुप एक चिलिम गाँजा खाने सुरले हानिए ।

चैत्र यामको सितलो बिहानी । बनकालीको घना जङलबाट चराचुरुङ्गीको चिर्बिराहट । ठाउँ ठाउँमा समुह समुह बनाएर र्इश्वरको भजनमा लीन मानिसहरु । टाढैबाट पशुपतिको गजुर देखेपछि मनमा एक किसिमको शान्तिको अनुभव हुन्छ । दुई हात जोड्दै पशुपतिको मन्दिरतिर अघि बढ्दै गर्दा वनकालीको भर्याङ् छेउ कुटी बनार्इ बसेको बाबाले बोलाउछन । “बालक खुब भड्किएको छस ?”

कर्णे डाँका बाबातिर नियाल्छ । एउटा धोती बेरेको , जिउभरि खरानी घसेको । निधारमा तीन वटा सेतो धरको कोरेको । बीचमा तेस्रो नेत्र बनाएको । फुस्रो दाह्री पालेको । एक हातमा चिलिम र अर्को हात कमन्डलु लिएको बाबा । हेर्दा साक्षात शिव नै उनी हुन जस्तो । दुई हात जोडेर कर्णे डाँका कुटी नजिकै टुक्रुक्क बसेर भन्छ । ” हो बाबा । जीवनमा धेरै कुरा पाए तर सुख र सन्तुष्टी कहिले पाइन । “

“बालक यस्तो तलाई मात्र होईन, सबैलाई हुने गर्छ । गौतम बुद्धलाई पनि भएको थियो । रत्नाकर डाकुलाई पनि भएको थियो । तर पछि उनीहरु महान मानिस बने ।“

उत्सुक हुँदै कर्णे सोध्छ “त्यो रत्नाकर भनेको को हो बाबा ?”

“रत्नाकर एउटा डाकु थियो । नारद ॠषिको सुझाव पाएपछि एउटा घना जङलमा गए । डकैती गर्न छोडिदिए । सारा भतिक जीवन छोडिदिए । दिनरात राम नाम उच्चारण गरेर तपस्या गर्न थाले । अन्तमा उनी बाल्मिकी ॠषिले प्रख्यात भए । त्यसपछी उनले रामयण लेखे ।”

यो सुनेपछि कर्णे डाकाको मनमा एक किसिमको उर्जा प्राप्त हुन्छ । जीवनले नयाँ मोड लिएको अनुभव गर्छ । भौतिक जीवनदेखि वाक्क लाग्छ ।

“बाबा एक चिलिम प्रसाद खाउ न ?” बाबाले तानिरहेको गान्जाको चिलिम मागेर दुई तीन सर्को लगाउँछ ।

“ल बालक अब बाबाको तपस्याको बेला भयो । तँ जा । तर बाबाको कुरा ध्यान दे । भौतिक जीवनबाट सन्तुष्टीको आशा नगर । भौतिकता माया हो माया ।”

यति भन्दै बाबा कुटी भित्र पसेर आँखा चिम्लिन्छन । एक्छिनसम्म कर्णे डाँका बाबालाई नियालिरहन्छ । धेरै बेर आँखा नखोलेपछी बाबाको सुनौलो कमन्डलु, छेउमा राम राम लेखेको ओढ्ने र कुटीमा झुण्ड्याइराखेको रुद्राक्षको माला लिएर आफ्नो बाटो लाग्छ ।

कर्णे डाँका दोधारमा पर्छ । भौतिक जीवनलाई निरन्तरता दिउँ वा चरम शान्तिको नीम्ति यसलाई तिलान्जली दिएर जङल पसौ रु दिमागमा दोहोरो भिडन्त चले झै हुन्छ । सोच्दै सोच्दै गौशाला आइपुगेको पत्तो पाउदैन । भौतिक जीवन अर्थात डाकुको पेश छोड्नु पनि उनको नीम्ति सहज थिएन । मिलन खुकुरीसँगको मित्रता टुट्थ्यो । पाकेट्मार च्याक्सी उ भनेपछि हुरुक्क हुन्थ्यो । ठमेलका क्याबिनका अनिता र आसा सेक्सीलाई छोड्नु सहज थिएन । जीवनमा यस्तो दोधार त उनी डीएसपीको घर फोर्दा समेत भएका थिएनन ।

लामो र गहन सोचपछि अन्ततस् कर्णे डाँकाले आफ्नो जीवनको बारेमा ठुलो निर्णय लिन्छ । सारा भौतिक जीवन छोडेर जङलमा शान्तिको निम्ति प्रबेश गर्ने निधो गर्छ । निर्णय लगतै अघि बाबाको कुटीबाट लुटेको पहिरन लगाउछ । आफ्नो लामो कपाल पछाडि बाँधेर जटा बनाउँछ । घाँटीमा बाबाको रुद्राक्षको माला । शरीरमा गेरु बस्त्र । अस्ति भर्खर ठमेलमा किनेको ५ हजारको चाइनिज पेस्तोल आफ्नै कोठामा छोडेर बाहिर निस्कन्छ, चार कोसे झाडी जनाको निम्ति ।

पूर्व झापा जाने बस समात्छ गौशालाबाट ।

“ओइ जोगी भैया कता रु पैसा लागेगा ।” आफुलाई भारतियसँग जस्तो ब्यवहार गर्दा कर्णे डाँकु कन्सुरी तातिसकेको हुन्छ तर भौतिक जीवन त्याग गरेको कारण एकै पञ्चमा ढाल्ने बानी तत्काललाई प्रयोग गर्दैन ।

” चार कोसी झाडी त जान्छ नी रु म त्यतै जाने हो । पैसा दिउला । ” सकी नसकी नरम स्वरमा भन्छ ।

“ल जाबो त्यसो भए अन्दर । लास्ट मी जावो । ” सिट देखाउँदै भित्र पठाउँछ । बस गुडेको केही समय पछि खलासी पैसा उठाउन आउँछ । त्यसो त उसको यात्रामा पैसा तिर्ने बानी नभएकोले होला । केही भेउ पाउदैन । सधैं गुडिरहेको गाडीमा चढ्ने बाणी आज कता कता अप्ठ्यारो पनि भैरहेको हुन्छ । खलासीलाई कमन्डुलुभित्र राखेको एटिएम कार्ड झिकेर दिन्छ।

“क्यास नहि है । एस्से पैसा निकाल्न हमे नै आता ।”

“क्यास छैन बालक । यो कार्ड फिर्ता दिनुपर्दैन । आफै राख बालक ।” निकै भद्र स्वरमा खलासीलाई बुझाउछ । खलासी खुशी एटिएम पाउन्दा निकै खुशी हुन्छ । आज सम्म देखेको थियो तर हातमा राम्रोसँग राख्न पाएको थिएन । कर्णेले नेबिल ब्यान्क लुट्दा प्रहरीले फिर्ता लान बिर्सेंको कार्ड थियो । त्यसबाट पैसा कसरी निकाल्ने कर्णेलाई समेत कहिले आएन ।

प्रायस् बसको छतमा बसेर यात्रा गर्ने कर्णेलाई बस भित्र बस्दा एक किसिमको निस्सासिदो अनुभव भैरहेको थियो । बसको ड्राइभर देख्नासाथ उसले चिनीहाल्छ की पोहोर दशैंमा लुटेको बसको ड्राइभर यही थियो । कुइनाले ढाडमा हानेर अरठ्ठ हुँदा पनि रोक्न मानेको थिएन । पछि कन्चटमा पेस्तोल तेर्साउनु पर्यो । धन्न जोगीको भेषमा भएकोले ड्राइभरले चिन्दैन । ड्राइभर बडो उत्तौलो पारामा बस चलाएको प्रष्ट देखिन्छ । गीतको सुरमा मात्तिदै, स्कुल कलेजका केटी आउँदा जोडसँग बिना काममा हरण बजाउनु त उसको सौख रहेछ । बेतोडले गाडी कुदाउँदा कर्णेलाई लगिसकेको हुन्छ यो बस कही न कही दुर्घटनामा पर्नसक्छ भनेर । नभन्दै अगाडीको गाडीलाई ओभरटेक गर्न खोज्दा छेउमा साइकल चलाएकी बालकलाई बसले ठक्कर दिन पुग्छ । साइकल एकातिर बालक एकातिर उछिट्टिन्छ । बस भित्र कोलाहलको बातावरण सिर्जना हुन्छ ।

बस बिस्तारै रोकिन्छ र ब्याक हुन्छ । के भएको बुझ्न नभ्याउदै बसले रुदै उठ्दै गरेको बालकलाई फेरी किचिदिन्छ । बस भित्र एक किसिमको कोलाहल र भागाभाग मच्चिन्छ । कोही झ्यालबाट हाम्फाल्छन । कर्णेको सात्तो जान्छ । लास्ट सिटबाट हत्तपत्त ओर्लिन प्रयास गर्दा गर्दै बसको झ्यालका सिसा फुट्न थाल्छन । आगोको मुस्लो छुट्छ । बस बाहिर आउछ र देख्छ बसको आधा भाग जलिसकेको हुन्छ । अघि ठक्कर दिएको बालकको लाश क्षत बिक्षत भएको हुन्छ । वरिपरिका गाउलेले बसमा तोड्फोड र आगजनी गर्दै ड्राइभरलाई मरणासन्न हुने गरी पिट्दै हुन्छन् । गाडीको लामो जाम हुन्छ । हेर्दा हेर्दै बस दुन्दुन्ती बल्न थाल्छ ।

कर्णेलाई भौतिक जीवनदेखि झनै वाक्क लागेर आउछ । एउटा बालकलाई मारेको आरोपमा अरको ड्राइभरलाई मार्दै हुन्छन् आफन्तहरु । रोकिएको गाडीका अन्य ड्राइभरहरु एक ठाउँमा जम्मा भएर पिटाइ खाने ड्राइभरलाई जोगाउछन र गाउलेको प्रतिकार गर्छन् । दोहोरो भिडन्त सुरु हुन्छ गाउले र ड्राइभर बीच । कैयौ गाडीको सिसा फुट्छ । लखाटा लखाट हुन्छ । यो द्रिश्य हेर्दै हेर्दै कर्णे आफ्नो बाटो लाग्छ । भौतिक जीवनमा यस्तै हो भन्दै झन्डै झन्डै आइपुग्न लागेको चार कोशे झाडी तिर लाग्छ ।

हिडेर चार कोशे झाडीको मध्य भागमा पुग्छ । धमिराले बनाएको अग्लो अग्लो गोलाको बीचमा आफ्नो आसन बनाउछ । मन मनै प्रण गर्छ आजदेखि चोरी डकैती त्यागी दिन्छु । एउटा सन्यासी जस्तो जीवन बिताउछु । आज सम्म गरेको पापहरुको प्रयश्चित गर्दै आज देखि गौशालाको कर्णे डाँकु होईन श्रीकर्ण ॠषिको नामले चिनिन्छु । यति प्रण गर्दै पलेटी कसेर आँखा चिम्लेर राम नाम जप्न थाल्छ । चार कोषे झाडीको मध्य भागमा चरा चुरुङीको चिरबिर् र सिरसिर बतासको तरङ छिचोलेर एकोहोरो राम राम रामको गुन्जन टाढा टाढासम्म स्पष्ट सुनिन थाल्छ ।

सुर्यले अस्ताउने सन्केत गर्दै थियो । पंक्षि बास बस्ने तरखरमा थिए । जङलको प्राकृतिक ध्वनी छिचोल्दै परेडको आवाज सुनेपछि श्रीकर्ण ॠषिको आँखा खुल्छ ।

“वोइ । के गरेछस रु को होस् तँ ?” परेडको अग्रपङ्क्तीको नाइके कर्कश स्वरमा चिच्याउछ ।

निधारमा फेटा बाँधेको । अग्लो कालो जुत्ता, छाती तनक्क तन्काएर उभिएका एक हुल मानिसलाई नियाल्दै श्रीकर्ण मुस्काउदै भन्छन् ” म तपस्वी हुँ बालक । “

हातमा मोटो लौरो बोकेको अर्को चिच्याउछ “वइ तैले कसलाई बालक भनिस रु तेरो थुतुनो भत्काउँ रु कन्काइ मुक्ती मोर्चाको अध्यक्षलाई चिन्दैनस तँ ?

“अर्कोले थप्छ” यो हेर्दा नाक चुच्चे पक्कै पनि बाहुनको सुराक हुनुपर्छ । हामीमाथि दमन गर्ने बाहुनबादी तैँ होईनस रु ठोक ठोक सालेलाई ।”

एकैपटक जत्था आइलागेपछी कर्णे कमन्डुलु छोडेर भाग्छन । चार कोषे झाडीको हागा बिङा काँडा गिर्खा पर्वाह नगरी आफ्नो ज्यान जोगाउन भाग्छन । पछि पछि एक हुल दौडिन्छन हातमा खुडा कोही लौरो कोही बन्दुक त कोही झन्डा बोकेर । दौडिदा दौडिदै अग्लो भिरको डिलमा पुग्छन र उचाइको पर्वाह नगरी हाम फाल्छन ।

श्रीकर्ण हाम्फाले लगतै भिरमा पुगेको एक हतियार धारी भन्छ ” बच्यो साला । फर्कौ अब , तल चाम्लिङ मुक्ती मोर्चाको ईलाका हो । ” हतियारधारी समुह फर्किन्छन ।

अग्लो भिरबाट हाम्फालेर जोगिएका श्रीकर्ण ॠषिको पहेलो धोती ठाउँ ठाउँमा घिस्रिएर प्वाल पर्छ । मैलिएर खैरो खैरो रङको हुन्छ भने ओढ्ने च्यातिएर क्षत बिक्षत हुन्छ । रुद्राक्षको माला चुटिन्छ । बाँधेर राखेको जटा फुस्किएर कान्ध भरी कपाल फैलिन्छ । तपस्यामा सन्चित उर्जाले टल्किएको अनुहार मैलो र मलिन बनिसकेको छ । घस्रिएर ठाउँ ठाउँमा छाला फर्किन्छ । रगतले धोतीमा राघेपाटे बुट्टा बनाउछ । एक खुट्टा खोल्च्याङ खोल्च्याङ गर्दै नदीको आवाजलाई पछ्याउदै अगाडि बढ्छन ।

झमक्क रात परिसकेको हुन्छ । नदीको छेउमा टुक्रुक्क बसेर पानी पिउन लाग्दा अर्को द्रिश्य देखिन्छ । एक हुल जत्था हातमा राँको लिएर उनी तर्फ अघि बढ्दै गरेका हुन्छन् । श्रीकर्ण मुखमा राखेको पानी निल्नासाथ राकोको एउटा झटारो उनको सामु खस्छ ।

” त्यो धोतीलाई काट हाम्रो ईलाकामा के गर्न आयो रु काट काट । ” एउटा गर्जन सुनिन्छ टाढैबाट । लगतै राँको लिएको जत्था उनी तर्फ डौडिन्छन । श्रीकर्ण ॠषि खुट्टा खोल्च्याउदै नदी किनारमा रहेको डुंगामा हतार हतार बस्छन र खियाउदै नदीपारी लाग्छन । डुङा नदी बीचमा पुगिसक्दा पनि काट काटको आवाज सुनिन्छ र राँकोको झटारो बज्रिरहन्छ । नदी निकै चौडा भएकोले जत्था पार गर्न सक्दैनन । एक त सुकेको, त्यसमाथी घाइते शरीरले खियाउदै डुङ्गालाई बल्ल बल्ल किनारा लगाउछन । रात छिप्पिसकेको हुन्छ ।

खुर्पे चन्द्र मधुर प्रकाशको सहारामा किनाराबाट अर्को जङल प्रबेश लगतै उनको आँखा एउटा तुलमा पर्छ जहाँ ठुलो अक्षरमा लेखिएको हुन्छ “मधेश प्रदेश मे स्वागत है ” पढे पगतै श्रीकर्णको मनमा चिसो पस्छ । यहाँ पनि भाग्नुपर्ने स्थिती हुनसक्छ तर अन्य बिकल्प नभएकोले प्रबेश गर्न वाध्य हुन्छन् ।

अन्धकार जङलको लामो बाटो हिंडेपछि एउटा खाली सानो झुप्री फेलापर्छ । पेट भोको भए पनि थाकेको शरीरलाई आराम दिन झुप्री भित्र पल्टिन्छन । एकैछिन पछि निन्द्राले झ्याप्प समात्न लागेको बेला बाहिर गोली पड्केको आवाज आउछ ।

” सर यतै भागेको होला । ” एउटा सेनाको जवान झोप्री देखाउदै भन्छ ।

” तैले देखेथिस सिकारीलाई । रु ” सेनाको क्याप्टेन सोध्छ ।

” अ सर । खैरो धोती लगाएको छ । काँधमा ओढ्ने बेरेको छ । अनी रगतको टाटो पनि छ हात खुट्टामा । चितुवा मार्दा लागेको । ” यति सुन्नासाथ श्रीकर्ण ॠषिको सातो पुत्लो उड्छ । सेनाको जवानले बताएको सबै पहिरन र चिन्ह उनैसँग मिल्न जान्छ । जवान गोली तेर्साएर झुप्री तिर आएको देखेपछी श्रीकर्ण झोप्रीको पछाडीको घारीमा फाम्फालेर भाग्छन ।

“उ भाग्यो ठोक । साले चितुवा मारा । लखाट ।” कर्णको पछाडि अन्धाधुन्ध गोली बर्सिन्छ । दौडिदा दौडिदै पछाडिबाट चलाएको गोलीले खोल्च्याएको खुट्टाको पिडुला छेडेर जान्छ । ज्यान बचाउने ध्याउन्नमा गोलीको पर्वाह नगरी अगाडी दौडिरहन्छन । दौडेर लामो दुरी पारगरिसकेपछि सेनाले पिछा गर्न छोडिदिन्छ । रक्ताम्मे खुट्टा लिएर एउटा रुखको छहारीमा ढल्किन्छन । तिब्र भोक,प्यास र थकाईको कारण एकै छिनमा अचेत अवस्थामा पुग्छन ।

झिस्मिसे बिहानी भैसकेको हुन्छ । एक हुल मानिस वरीपरी घेरिएर बसेका हुन्छन् । रातभरको दौडाइले उसलाई नेपाल भारत सिमामा ल्याइपुर्याएको हुन्छ । चारै तिर फुस्रो र बुङ्ङ उडेको बातावरण । घामले शरीर कालो भएर डढेका मानिसहरु । लोग्ने मान्छेले धोती र गंजी लगाएका । टाढा टाढा सम्म समतल देखिने । स साना घर खरले छाएको देखेपछि कर्णेलाई लाग्छ यो मधेस हो । जहाँ उ पहिलो पटक आएको छ । यहाँ लुट्न आउन रहर लागेको थियो तर भारतिय डाँकाहरुको एकछत्र राज छ रे भन्ने थाहा पाएपछि पछि हटेका थिए । ।

एउटी आईमाईले एक बाल्टिन पानी टाउकोदेखि खनाइदिन्छिन । कर्ण झस्किएर बिउझिन्छ ।

“राती राती डकैती गर्ने यही हो ।” एउटा युवक चिच्याउछ । “पारीबाट आएको हो । राती घुरहुको घर फोरेको यसैले हो । पुलिस आउँदै छ रे ।”

कर्ण ॠषि केही बोल्न खोज्नै लाग्दा “रगत आ’छ नी । त्यो हिजो पुलिसले हानेको हो । अर्को बोल्छ” कस्तो बाठो हेर्न, चिन्दैन भनेर जोगीको भेषमा आएको । जग्गु साहुको छोरो अपरहण गर्ने नी यही जस्तो लाग्छ । “

चार(पाँच जना युवाहरु दौडेर आउछन । “साला बच्चा अपहरण गर्ने यही होईन । यसलाई जिउदै जलाउनुपर्छ ।“ कर्णलाई घिसार्दै दोबाटोमा ल्याउछन र लडाएर एक अँगालो पराल फुकाउछन ।

कर्ण चिच्याउदै म अपहरणकारी होईन, श्रीकर्ण हो भन्छ । तर कसैले सुन्दैनन । पराल सल्काउनै लाग्दा पछाडिबाट एक दर्जन प्रहरी आइपुग्छन । आगो लगाउनबाट जोगाउछन । “ल हामी आयौ अब कानुनी कारवाही हुन्छ । अब आफ्नो आफ्नो घर जानुस् । पुलिसलाई आफ्नो काम गर्न दिनुस् ।”

भिडबाट एक युवक कराउछ ” यसलाई यही कार्वाही गर्नुपर्छ । हामीलाई प्रहरीको विश्वाश छैन । मधेशी जनताले नै कार्वाही गर्नुपर्छ ।”

इन्स्पेक्टर सम्झाउन अगाडी बढ्नै लाग्दा एउटाले ढुङा बजारिहाल्छ । जवाफी कार्वाहीमा प्रहरीले लाठीचार्ज गर्छ । दोहोरो ढुङ्गा हानाहानमा श्रीकर्णको निधारमा चोट लाग्छ । प्रहरीलाई बचाउन हम्मे हम्मे पर्छ । अन्त्यमा दर्जनौ अश्रु ग्यास प्रहार गरेर स्थिती नियन्त्रणमा आउँछ ।

कर्णलाई बचाएर नेपाल भारत सिमानामा रहेको हल्हलिया प्रहरी चौकीमा राखिन्छ । दुई दिनको भोको घाइते कर्ण चौकीमा बोल्न नसक्ने अवस्थामा हुन्छन । चौकीमा राखिएको ३ घन्टापछि इन्स्पेक्टरको फोन बज्छ । लामो समयको हिन्दी सम्वादपछि प्रहरी जवानलाई आफ्नो कोठामा बोलाउँछन ।

“ल सुन । यो डाँकु मात्र होईन भारतिय नक्कली नोटको कारोबार गर्दोरहेछ । भारतियले सार्वजनिक गरेको आइ एस आइको एजेन्टको हुलिया यसैसँग मिल्दो रहेछ । त्यसैले पारी बुझाउनुपर्छ । त्यसलाई केही खाना दिएर हिंड्नसक्ने बना । पारीबाट मान्छे लिन आउँदै छन् । चाँडो बुझाउनुपर्छ नत्र माथिबाट प्रेसर आउछ । ल गैहाल त । चाँडो गर केटा । है ।“

(बुट बजार्दै) हस सर ।

कर्णलाई उठाएर दुईवटा सुख्खा रोटी र दही खान दिईन्छ । केही समयपछि भारतिय प्रहरीको एउटा जिप आएर कर्णलाई लिएर जान्छ ।

कमेन्ट गर्नुहोस्