लगनखेल बसपार्क हटाइयो !

काठमाडौं, साउन १५ । ललितपुरको लगनखेलमा रहेको बसपार्कलाई हटाई अबदेखि उक्त स्थानलाई बसस्टपको रुपमा मात्रै
प्रयोग गरिनेछ । अत्याधिक ट्राफिक जामको समस्याका कारण त्यसलाई व्यवस्थापन गर्न आइतबारदेखि लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार अब लगनखेलमा एउटा रुटमा दुईवटा बस मात्र बस्न पाउनेछन् । ‘दुईवटा गाडी मात्र लगनखेलमा हुँदा यात्रुले बाटोमा धेरैबेर गाडी कुर्नुपर्दैन’ उनले भने, ‘यसले यात्रुलाई आवतजावगत गर्न सजिलो हुनुका साथै ट्राफिक जामको समस्या पनि कम हुन्छ ।’

यसअघि लगनखेल बसपार्कमा ललितपुरका विभिन्न ठाउँमा गाडी जम्मा हुने गरेकोमा अब सम्बन्धित गाउँमा नै बसपार्क बनाइएको पनि उनले जानकारी दिएका छन् । हालसम्म बसपार्क लगनखेलमा गाडीहरु जम्मा भएर बस्ने गरेकोमा अबदेखि गोदावारी, चापागाउँ, बुङ्मती, लुभू, लामाटार, लगायतका स्थानमा नै बसपार्क बनाएर त्यहाँबाट बस छुट्ने उनले बताए ।

व्यवस्थापिका संसद उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धी समितिको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा गएको मंगलबार बसेको बैठकले लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गर्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्