प्रमुख आयुक्त भन्छन-नेपाल जस्तो मुलुकका मतदाताले चारवटा मतपत्रको प्रयोग एकै पटक कसरी गर्न सक्छन ?

काठमाडौं, साउन १५ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपाल जस्तो मुलुकका मतदाताले चारवटा मतपत्रको प्रयोग एकै पटक प्रयोग गर्न नसक्ने भएकाले प्रदेशसभा र प्रतिनिधिसभा चुनाब एकैपटक गर्न नसकिने बताएका छन् ।

व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उनले दुबै चुनाव एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अप्ठरो पर्नसक्ने जानकारी दिए ।

चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन चुनावसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने अवस्थालाई सबै सरोकारवाला पक्षले हेक्का राख्न जरुरी रहेको बताए ।

मतपत्रलगायत चुनाव सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती, मतदाता नामावली संकलन, मतदानस्थलको व्यवस्थापन जस्ता कारण पनि एकै पटक दुईवटा चुनाव असम्भव रहेको उहाँको भनाइ थियो । उहाँको प्रश्न थियो – “दुबै चुनाव एकै पटक गर्ने हो भने मतपत्र मात्रै सात करोड छपाइ गर्नुपर्छ । त्यो अहिलेको संरचनामा कसरी सम्भव होला र प्रमुख चुनाव आयुक्त यादवले भने, ‘मतगणना व्यवस्थापनमा सुधार खाँचो छ । आचारसंहिताको पालनामा राजनीतिक दलबाट थप प्रतिबद्धता आउनुपर्छ ।’

“चुनाव चिन्ह वितरण गरेपछि मतपत्रको छपाइ गर्नुपर्छ भन्ने कुरा हाम्रो हकमा असम्भव जस्तै हो”, उनले भने ।

बैठकमा सभापति मोहनसिंह राठौरले एकैचरणमा चुनावको कुरा व्यापकरुपमा उठेकाले यस विषयमा चुनाव आयोगको धारणा सार्वजनिक हुन आवश्यक भएको विचार व्यक्त गरेका थिए ।

सांसद उदय नेपालीले धनी उम्मेदवारले मात्र चुनाव जित्छ भन्ने मनोविज्ञानलाई अन्त्य गर्न विद्युतीय मतदानको प्रयोग गर्नुपर्ने र त्यसलाई खर्चिलो हुन्छ भनेर पन्छाउन नहुने सुझाव दिए ।

अर्का सासद जनकराज जोशीले एकै पटक चुनाव गरिए मुलुकको ढुकुटीमा ६ अर्ब जोगिने हुनाले त्यसबाट बचेको पैसा ऊर्जाको विकासमा लगानी गर्नु उपयुक्त हुने सुझाव दिए ।

समितिका सदस्य सांसद नरसिंह चौधरीले प्रदेशसभा र प्रतितिनिधिसभाको चुनाव एकै पटक गर्न खोजिए मतदातामा अन्यौल सिर्जना हुने बताए ।

सांसद मिलन राजवंशीले पुरानो र ठूला दललाई मात्र होइन साना दललाई पनि एउटै आँखाले हेर्न आयोगलाई सुझाव दिँदै एकै पटक चुनाव भएमा मितव्ययी हुन गई दललाई पनि आर्थिक भार कम हुने बताए ।

सांसद हर्कबोल राईले आचारसंहिताको पालना कम हुने तथा चुनाव खर्च भने बढ्दै जाने प्रवृत्तिले मुलुकलाई कता धकेल्छ भनी प्रश्न गरे ।

सांसद अमनलाल मोदीले स्थानीय तहको चुनावमा धेरै पैसा खर्च गरेर तडकभडक गर्नेहरुमाथि चुनाव आयोगले कारबाही गर्न नसकेको टिप्पणी गरे ।

कमेन्ट गर्नुहोस्