भरतपुर १९ मा पुन मतदान गर्न सर्वोच्चको आदेश

काठमाडौं, साउन १६ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गर्न आदेश दिएको छ ।

भरतपुर १९ मामतपत्र च्यातिएपछि निर्वाचन आयोगकोे पुन मतदान गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज अन्तिम सुनुवाई गर्दै भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्न आदेश दिएको छ।

आइतबार न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः मतदान गर्ने आदेश दिएको हो। जेठ १४ गते मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले छानबिन गरी पुन मतदानको निर्णय गरेको थियो।

उक्त निर्णयको विरुद्धमा नेकपा एमालेका तर्फबाट वडा नम्बर १९ का वडा सदस्य गुञ्जमान विकसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै यथास्थितिमा राख्न आदेश दिएको थियो। च्यातिएको मतपत्रको अवलोकन र दुवै पक्षको बहस सुनेपछि आइतबार सर्वोच्चले पुन मतदान गर्ने निर्वाचन आयोगकै निर्णयलाई सदर गरेको हो।

मतपत्र च्यातिएपछि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुन मतदानको माग गर्दै आएका थिए भने नेकपा एमालेले पुन मतगणना गर्नुपर्ने माग गरेको थियो।

कमेन्ट गर्नुहोस्