पानामा पेपर काण्डमा मुछिएका नेपालीको अनुसन्धान खै ?

काठमाडौं, साउन १६ । पनामा पेपर काण्डलाई नै आधार बनाएर पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिनु परेपछि यो काण्ड पुनः चर्चामा आएको छ ।

एक वर्ष अघि सार्वजनिक भएको पनामा पेपर काण्डलाई आधार बनाएर शरीफविरुद्ध पाकिस्तानको अदालतमा मुद्धा पर्‍यो, जसमा आफू दोषी नरहेको प्रमाणित गर्न शरीफ असफल भएपछि प्रधानमन्त्रीको पद त्याग्न बाध्य हुनुपर्‍यो ।

एक वर्षअघि पनामा पेपर काण्डमा नेपालीको नाम पनि सार्वजनिक भएको थियो । सार्वजनिक दस्तावेजमा सात नेपालीले ट्याक्स हेभेनमा रकम थुपारेको सार्वजनिक भएपछि सम्पत्ति शुद्धिकरण विभागका उपमहानिर्देशकको संयोजकत्वमा अध्ययन गर्न समिति गठन भएको थियो । उक्त समितिले प्रतिवेदन पनि बुझाइसकेको छ ।

सोही प्रतिवेदनका आधारमा विभागले छानविन गरिरहेको जनाएको छ । तर, एक वर्षको अवधिसम्म पनि छानविन सम्पन्न हुन सकेको छैन । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रवक्ता बिनोद लामिछाने यो विषयमा अनुसन्धान भईरहेको र निष्कर्षमा पुग्न यति नै समय लाग्ने भन्न नसकिने बताउँछन् ।

सुरुमा ७ जनाबाट अनुसन्धान थालिएकोमा हाल २० जना पुगेको विभागले जनाएको छ । पानामाको एउटा अति गोप्य कानुनी कम्पनी मोस्याक फोन्सेकाले झण्डै १ करोड १० लाख दस्तावेज सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्