बुद्धशान्तिको समस्या र संभावित विवादको पहिचान

बुधबारे, साउन १६ । झापाको बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरुले स्थानीय आवश्यकता, समस्या र उत्पन्न हुनसक्ने द्वन्द्व–विवादको पहिचान गरेका छन् ।

सोमबार संवाद समूह झापाको संयोजनमा बुधबारेका भएको छलफलमा जनप्रतिनिधिहरुले स्थानीय ठाउँको समस्या केलाउनुका साथै सम्भावित विवाद पहिचान गरेका छन् । उनीहरुले स्थानीय आवश्यकता बमोजिम आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकीकरण पनि गरेका छन् ।

सुकुम्बासी समस्या, हात्ती आतंक, विद्युत्, सिंचाइ, स्वास्थ्य सेवाको अभाव, नदी नियन्त्रण, फोहोर व्यवस्थापन, बाटो निर्माण, शैक्षिक गुणस्तर वृद्धि र आवश्यक शैक्षिक जनशक्तिको व्यवस्थापनलाई बुद्धशान्तिका जनप्रतिनिधिले मुख्य समस्याको रुपमा औल्याएका छन् । त्यस्तै नदी नियन्त्रण, नागरिकता वितरण, दैनिक कामकाजमा आइपर्ने कानूनी जटिलता, शुद्ध खानेपानीको व्यवस्था, सुरक्षा व्यवस्थाको प्रबन्ध पनि समस्याको रुपमा औल्याइएको छ ।

बुद्धशान्ति–२ मा विरीङ खोलामा ढुंगा, गिटी, बालुवा उत्खनन्को विषयलाई लिएर स्थानीयबासी र जिल्ला समन्वय समिति तथा ठेक्का लिने पक्षबीच द्वन्द्व हुनसक्ने कुरा जनप्रतिनिधिले औल्याएका छन् । त्यस्तै गाउँपालिकामै प्रमुख समस्याको रुपमा रहेको सुकुम्बासी र सरकारी निकाय तथा नेपाल चिया विकास निगमबीच विवाद उत्पन्न हुनसक्ने विषय पनि औल्याइएको छ ।

त्यस्तै धार्मिक विधि अनुसार मानिसको शव अन्त्येष्टी गर्ने प्रक्रिया अन्तर्गत शव जलाउँदा निम्तिने प्रदुषण तथा सार्वजनिक स्थलमा शव गाड्दा हुने प्राकृतिक स्रोतको विनासको विषयलाई लिएर अन्तरधार्मिक समुदायबीच विवाद उत्पन्न हुनसक्ने सम्भावित विषय पनि जनप्रतिनिधिले औल्याएका छन् ।

गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले स्वास्थ्य सेवामा बुद्धशान्तिबासीको पहुँच पुर्याउन पाँच वर्षभित्र सुविधा सम्पन्न हस्पिटल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने बताए । त्यस्तै हात्ती समस्या समाधानका लागि स्थानीय तहबाट सम्भव नहुने भएकाले जिल्लाले हेरिदिन पनि उनले आग्रह गरे । चिया विकास निगमले तत्काल स्थानीय सुकुम्बासीको समस्या समाधान नगरे जस्तोसुकै कदम चाल्न सक्ने भुजेलले बताए ।

स्थानीय तहमा नाममात्रको सिंहदरबार रहेको र व्यवहारमा त्यस्तो कुनै अधिकार र जिम्मेवारी नभएको पनि उनले गुनासो गरे । स्थानीयका आवश्यकता बमोजिम विकास निर्माण गर्ने, यस वर्ष जयपुरदेखि इलामको सीमानासम्म विरीङ खोलामा ढुंगा, गिटी, बालुवा निकाल्न नदिने, एडिबीको ३७ करोड रुपैयाँ सहयोगमा वडा नं. १ र २ मा सिँचाइ आयोजना सञ्चालनमा ल्याउने योजना रहेको पनि भुजेलले बताए ।

बुद्धशान्तिकी उपाध्यक्ष मीरा भुर्तेलले कानूनी ज्ञान नहुँदा काम गर्न धेरै समस्या आइपरेको बताइन् । उनले बलात्कार, घरेलु हिंसा, बालश्रम शोषण जस्ता समस्या रहेको पनि औल्याइन् ।
बुद्धशान्तिका वडा नं. १ का अध्यक्ष भीमकुमार श्रेष्ठ, २ का अध्यक्ष दिलीप श्रेष्ठ, ३ का अध्यक्ष कमल उप्रेती, ४ का अध्यक्ष बुद्धिमान लिम्बू, ५ का अध्यक्ष बासुदेव खतिवडा, ६ का अध्यक्ष शम्भु पौडेल र ७ का अध्यक्ष मातृका पौडेलले आ–आफ्नो वडाको समस्या र कामको प्राथमिकताबारे जानकारी गराएका थिए । उनीहरुले आफ्ना ठाउँको विकासका लागि भौतिक विकास र पर्यटनको प्रचुर सम्भावना पनि औल्याएका थिए ।

छलफलमा अधिवक्ता बसन्त नेपालले स्थानीय तहमा जनप्रतिनिधिलाई कानूनी अज्ञानता र अन्यौलताले जटिलता थपेको बताउँदै अन्तरक्रिया तथा प्रशिक्षणमार्फत त्यस्ता समस्या समाधान गर्दै जानुपर्ने बताए । उक्त छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

सात बुँदे प्रतिबद्धता

संवाद समूहले संयोजन गरेको छलफलमा बुद्धशान्ति गाउँपालिकाका जनप्रतिधिले जनताको कामलाई प्रभावकारी बनाउन विभिन्न सात बुँदे प्रतिबद्धता जनाएका छन् । उनीहरुले त्यसमा सामूहिक हस्ताक्षर समेत गरेका छन् । गाउँपालिकाबाट प्रवाह हुने सेवालाई छिटो–छरितो पारदर्शी र प्रभावकारी बनाउने उनीहरुको प्रतिबद्धता छ । त्यस्तै जनताका माग र आवश्यकता बमोजिम विकास निर्माणका कामलाई प्राथमिकताका आधारमा अघि बढाउने, स्थानीय तहमा विकास र सु–शासनको बाधकको रुपमा रहेको भ्रष्टाचार निर्मूल गर्ने प्रतिबद्धता समेत उनीहरुले जनाएका छन् ।

गाउँपालिकामा महिला, दलित, आदिवासी, जनजाति, अल्पसंख्यक, सीमान्तकृत र आर्थिक वा सामाजिक रुपले पछाडि परेका वर्गको उत्थान र विकासका लागि पनि काम गर्ने उनीहरुको प्रतिबद्धता छ । त्यस्तै गाउँबासीलाई जनमुखी सेवा प्रवाह, विकास निर्माण, सुशासन, सामाजिक सुरक्षा उपलब्ध गराउन प्रयत्नशील रहने, जनताको काम गर्ने सवालमा सामाजिक, आर्थिक राजनीतिक तथा धार्मिक विभेद नगर्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् ।

स्थानीय तह सञ्चालन तथा विकास निर्माणका क्रममा कुनै विवाद द्वन्द्व उत्पन्न भएमा आपसी छलफल र संवादका माध्यमबाट समाधान गर्ने बुद्धशान्तिका जनप्रतिनिधिको प्रतिबद्धता छ।

तस्वीर: कमल पाण्डे (विनोद)

कमेन्ट गर्नुहोस्