सर्वोच्चको निर्णयप्रति एमाले स्थायी कमिटीले पास गरेको विशेष प्रस्तावमा के छ ?

काठमाडौं, साउन १६ । नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले भरतपुर घटनाका सन्दर्भमा सर्वोच्‍च अदालतले गरेको निर्णय दुखद भएको भन्दै विशेष प्रस्ताव पारित गरेको छ।

‘हिजो सर्वोच्‍च अदालतबाट सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ–एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, यसबाट जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको छ ।’

‘सर्वोच्चले गरेको निर्णयलाई गम्भीर रुपमा लिँदै भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगरप्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाउन समेत आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ।

वैशाख ३१ गते सम्पन्‍न भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा जेठ १४ गते राती माओवादी केन्द्रका प्रतिनिधिहरुले आफू निर्वाचन हार्ने निश्चित भइसकेपछि सुनियोजित ढंगले मतपत्र च्यातेको घटनाले प्रचलित कानून, लोकतान्त्रिक मूल्य र निर्वाचनका सर्वस्वीकार्य मान्यतालाई उपहास गरेको एमालेको निष्कर्ष छ’, विज्ञप्तिमा भनिएको छ।

कमेन्ट गर्नुहोस्