माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक र नीतिगत निष्कर्ष

हरि अधिकारी ‘कुमार’

२०७४ साउन २,३,४,५,६ र ७ गतेसम्म ६ दिन माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्पन्न भयो । जिल्ला इन्चार्जहरुलाई आमन्त्रित गरिएको सो बैठक माओवादी केन्द्रको लागि ऐतिहासिक मोड हुनसक्छ । यो बैठकले निकालेको निष्कर्ष र देखिएको संकेत नेपाली क्रान्तिकारीहरुको लागि निकै आशालाग्दो छ । माओवादी राजनीति गर्ने, बुझ्ने र रमाउनेहरुले बैठकको वास्तविकतालाई ग्रहण गर्न सक्दा राम्रै हुन्छ ।

१. प्रचण्ड स्कूलः नेपाली कम्युनिष्ट आन्दोलनमा प्रचण्ड स्कूल छुट्टै पहिचान बोकेर स्थापित भएको क्रान्तिकारी स्कूल हो । नेपालको राजनीति र नेपाली कम्युनिष्ट आन्दोलनमा आवश्यकता र आकस्मिकताको भौतिक द्वन्द्ववादबाट जन्मिएको प्रचण्ड स्कूल वर्ग संघर्षमा निरन्तरतामा क्रमभङ्ग, छलाङ्ग, महाविपत्ति, अग्रगमन, परिवर्तन, युद्ध, शान्ति, आदि र अन्तरसंघर्षमा एकता, संघर्ष र रुपान्तरण मूलतः रुपान्तरण हो । यो समग्रको ठोस अध्यायन अनुसन्धान र मौलिक प्रकृतिको विशिष्ट निर्णयक्रमहरुको समुच्च रुप पनि हो ।

यसपटकको बैठकमा प्रचण्ड स्कूलको थप नयाँ आयामहरुको शुभारम्भ हो कि भन्ने अनुभूति सायद सहभागि सबैले गरेकै हुनुपर्छ । वस्तुगत र आत्मगत परिस्थितिको परिपक्कता सँगै जन्मँदै गरेको नयाँ अवस्थाको प्रक्षेपण गरि चेत हस्तक्ष्ेपद्वारा प्रचण्ड स्कूलले फेरि पहलकदमी बढायो भन्ने लाग्छ मलाई ।

२. संस्थागत अभ्यास:  यो बैठक गत पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम, समिक्षा र देशको विकसित राजनीतिक घटनाक्रम सँगै पाटीको भूमिका निर्माणमा केन्द्रित थियो । बैठकको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले बढो निर्मम, खुल्ला, स्पष्ट, चोटिलो र जिम्मेवारीबोधको साथ मूलतः आत्मगत पक्षमा जोड दिँदै कार्यालयको तर्फबाट संक्षिप्त रिपोर्ट राख्नुभयो । अध्यक्षको रिपोर्टमा प्रश्नैप्रश्नको घेराभित्रबाट उत्तरको अपेक्षा गरिएको थियो । त्यसपछि सातवटा प्रदेशका इन्चार्ज कमरेडहरुले आ–आफ्ना प्रदेशको रिपोर्ट राख्नुभयो । इन्चार्जहरुको रिपोर्टलाई आधार मान्दा निर्वाचन केन्द्रित सफलताको विन्दुमा ६ नं. प्रदेश अगाडि र ४ नं. प्रदेश पछाडि देखाप¥यो । अन्य प्रदेशहरु सापेक्षित रुपमा बीचमा देखिए (२नं. बाहेक) । त्यसपछि बैठकमा सहभागी इच्छुक कमरेडहरुले बोल्ने क्रम सुरु भयो । अन्त्यसम्म अध्यक्ष कमरेडले संश्लेषण गर्नु पूर्व ७९ जना कमरेडहरुले मार्मिक ढङ्गले रिपोर्ट र सुझावमा केन्द्रित भएर आ–आफ्नो कुराहरु राख्नुभयो । त्यसपछि अध्यक्ष कमरेडले कार्यालयका कमरेडहरु सँगको नियमित प्रत्यक्ष, परोक्ष संवाद र रिपोर्टमा उठेका कुराहरु, माओवादी आन्दोलन र यसको भविष्य पार्टी निर्माण र समग्र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवस्थाबारे निर्मम ढङ्गले आत्मासमिक्षा गर्दै तात्कालिन योजनाहरु प्रस्तावको रुपमा प्रस्तुत गर्नुभयो । छिटफुट सुझाव र टिप्पणी माथि स्पष्ट पार्दै बैठकको समापन भयो । यसपटक जनवादी केन्द्रियताको मौलिक र उन्नत संस्थागत अभ्यास कमिटिको बैठकमा पूर्ण स्वतन्त्रता पूर्वक प्रयोग भयो ।

३. नीतिगत निष्कर्षः पहिलो कुरा वर्तमान राजनीतिक अवस्थाको विश्लेषण हो । एकातिर शान्तिप्रक्रियासँग सम्बन्धित कतिपय संवेदनशील राजनीतिक मुद्दाहरु सम्झौता गरिए अनुरुप सल्टीएका छैनन भने अर्कोतिर माओवादीको नेतृत्वदायि पहलकदमीमा भएको शान्ति प्रक्रिया सहितको राजनीतिक सम्झौता र कार्यान्वयनको यो अवस्था प्रतिक्रियावादीहरुलाई पटक्कै पचेको छैन । चरम अन्धराष्ट्रवादी दक्षिणपन्थी यथास्थितिवादी हावा साम्राज्यवाद तथा विस्तारवादको आर्शिवादमा मडारिरहेको छ । पराजित सामन्तवाद अवसर कुरेर बसेको छ । विशिष्ट प्रकृतिको निक्कै पेचिलो र जोखिमपूर्ण बर्गसंघर्षको रणनीति (शान्ति र प्रतिश्पर्धाको) चक्करदार मोडमा यतिबेला माओवादी आन्दोलन उभिएको छ । विस्तारवाद र साम्राज्यवादको दलालीद्वारा स्वाधिनतालाई बन्धक राख्दै यथास्थिति हुँदै प्रतिगमनको पक्षपोषण गर्ने कि आत्मनिर्भर स्वतन्त्र क्रान्तिकारी राजनीतिक धारद्वारा परिवर्तन र अग्रगमनको पक्षपोषण गर्ने ? आजको नेपालको राजनीतिको केन्द्रिय प्रश्न यही हो । राजनीतिक प्रतिनिधिको हैसियतले माओवादी केन्द्र एकातिर र अर्कोतिर काँग्रेस –एमाले उभिएका छन् । बाहिर अन्य कैयौं व्यक्ति तथा शक्तिहरु अलमलमा परिरहेका छन् ।

दोस्रो कुरा विचारधात्मक प्रश्न हो । क्रान्ति गर्ने भनेको क्रान्तिकारी विचार र क्रान्तिकारी विचारले बाँधिएको जनताको संगठित बलले हो । नेपाली राजनीतिमा उथलपुथलकारी शक्तिको रुपमा स्थापित दशबर्षे जनयुद्धको विचार र दशबर्षे शान्ति र प्रतिश्पर्धाको मौलिक विचार प्रकट भएकै छन् । जनयुद्धको बीचबाट प्रचण्डपथको रुपमा क्रान्तिकारी विचार संश्लेषण गरियो । त्यो संश्लेषित विचारले जनयुद्ध भरि नेतृत्वदायी भूमिका खेल्यो । अब त्यसैसँग जोडेर दशबर्षको शान्ति र प्रतिश्पर्धाको राजनीतिले जनताको पक्षमा गरेका संकेतहरुलाई सम्बोधन गर्दै हाम्रै मौलिकतामा

विचारधारात्मक संश्लेषण जरुरी छ । आज माओवादी आन्दोलन वरिपरि मान्छेहरु कम भएका होइनन् । बरु जनतासँग जोडिएको विचारले भरिएको तागत कम भएको हो । यसको निम्ति पार्टीले विकसित विचारको संश्लेषण गर्नै पर्छ । कम्युनिष्ट आन्दोलन भनेको अन्तराष्ट्रवादी आन्दोलन पनि हो । यो राष्ट्रिय विशेषतामा व्यक्त हुने गर्छ । मालेमावादी पार्टी हुनुको नाताले माओवादी केन्द्रले आफ्ना मौलिक अनुभवहरुलाई जोड्दै थप विचारको विकास गर्न सक्नैपर्छ । यदि यसो नगर्ने हो भने हामी मालेमा वादी हुनै सक्दैनौं ।

तेस्रोकुरा एकता र ध्रुविकरणको कुरा हो । स्थानीय तहको निर्माण र निर्वाचनसम्म आउँदा हामी सबैखाले माओवादीहरु सतहमा आइपुगेकै छौं । सायद हामी सबैले आ–आफ्ना वास्तविक ओजन थाह पाएकै छौं । कसले के भन्यो, हिजो के ग¥यो आज यी कुरा सहायक हुन् । मूल कुरा हामी के गरिरहेका छौं भन्ने कुरा हो । त्यो सबैको अगाडि छर्लङ्ग छ । त्यसैले पहिलोचरणमा सबैखाले माओवादीहरु विना संकोच माओवादी आन्दोलन मेरो पनि हो भन्दै सँगै बसी खुल्ला समिक्षा गरौं । एकताबद्ध हौं र अगाडि बढौं । त्यसले जनतामा व्यापक विश्वास वृद्धि गर्छ । त्यसपछि दोस्रो चरणमा नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुको ध्रुविकरण गरौं । यो आजको आवश्यकता हो । माओवादी केन्द्र यसको लागि प्रतिबद्ध छ । नेपालमा समाजवादी क्रान्तिको आधार निर्माण गर्ने सर्तमा विनाकुनै संकोच अगाडि बढ्न तयार छ ।

चौथो कुरा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो । ०७ साल वरिपरिबाट पाँच बर्षसम्म देश कसैले सञ्चालन गरेको अवस्था छैन । अझ ठोस रुपमा सुगौली सन्धीपछि विस्तारवादी, साम्राज्यवादी र सामन्तवादीहरुको गठजोडले सँधै देश अस्थिर र अविकसित रहिरह्यो । गणतन्त्र आएको १० बर्षमा १० वटा सरकार बने । अब यो देशको स्थिरता, विकास, नयाँ राष्ट्रिय एकता र स्वतन्त्र कुटनैतिक विकासको निम्ति जनताद्वारा प्रत्यक्ष कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्छ । विगतमा हाम्रो पार्टीले र एमाले समेतले यो कुराको उठान गरेको हो । पहिलो संविधानसभाको अन्तिम समयमा आएर सहमति पनि भएको हो । दोस्रो संविधानसभामा माओवादी तेस्रो स्थानमा पुगेपछि त्यो एजेण्डा कमजोर हुन पुग्यो । सम्झौता नहुँदा प्रतिगमन संगठित हुने र गर्दा माओवादीले भनेजति नहुने भएपछि माओवादीको एजेण्डा नोट अप डिसेन्टको रुपमा संस्थागत गर्दै यस खालको संविधान सहमतिमा निर्माण गरियो । अब स्थानिय तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा देश र जनताको परिवर्तनकारी चाहनाहरु सुदृढ पार्दै अगाडि बढ्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अनिवार्य छ । नत्र अस्थिरता रहिरहने र साम्रज्यवाद तथा विस्तारवादका दलालहरुले नाटक मञ्चन गरिरहने खतरा रहन्छ । देश विकसित हुनुभन्दा विथोलिन तिर जान्छ । अन्र्तराष्ट्रिय चलखेल बढ्न जान्छ ।

पाँचौ कुरा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो । हाम्रो जस्तो बहुआयामिक देशमा केही समय पूर्ण समानुपातिक प्रतिनिधित्वको शासन व्यवस्था अनिवार्य छ । शासन सत्ताको विभिन्न अङ्गहरुमा विभिन्न तह र वर्गमा विभाजित जनसमुदायको सहभागिता सुनिश्चित नगराई देशलाई बलियो र विकसित पार्न सकिँदैन । माओवादीले शान्तिप्रक्रियामा आउँदा मिश्रित प्रणाली स्वीकार ग¥यो । त्यो पनि वर्ग शक्ति संघर्षको सन्तुलनले पैदा गरेको विशिष्ट अवस्थाले गर्दा हो । अहिले गणतन्त्र संस्थागत हुने क्रममा अगाडि बढेको छ । स्थानिय तहको निर्धारण र निर्वाचन भईसकेको छ । पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली त्रुटीपूर्ण र अपूर्ण छ । त्यसैले निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्दछ ।

छैटौं कुरा जिवन्त संगठन र सुदृढ जनसम्बन्ध हो । आज संगठनात्मक रुपले माओवादी केन्द्र अस्पष्ट र अव्यवस्थित जस्तो देखियो । कमिटि प्रणाली कमजोर भयो । मनका कुराहरु कमजोरीहरु कमिटिमा भन्ने स्थिति रहेन । टिकाटिप्पणीहरुको सिमै रहेन । विभाजन, गुट÷उपगुट र विरोधीहरुको चलखेलले संगठनात्मक जीवन छिन्नभिन्न भयो । वर्गबैरीहरुसँग प्रतिरोध गर्ने तागत कमजोर बन्दै गयो । त्यसैले तत्कालैदेखि जनवादी केन्द्रियताको अभ्यास गर्न सक्षम कमिटिहरुद्वारा यसको हल गरिनुपर्छ ।

आज पनि जनताले माओवादी छोडेका छैनन् । बरु खोजेका र रोजेका छन् । माओवादीले जनतालाई छोड्ने हो कि भन्ने आशंका बढेको छ । यो स्थिति तुरुन्त सच्चाउन सक्नुपर्छ । जनताले माओवादी खोज्न पर्ने र माओवादी रोज्न पर्ने अवस्थाको अन्त्य गर्नैपर्छ । यसोगर्न अहिले शान्तिपूर्ण र प्रतिश्पर्धाको तरिकाद्वारा जनताको सेवा गर्नुको विकल्प छैन । आफूलाई माओवादी हुन र बनाउन चाहनेहरुले जनताको सेवक बन्नैपर्छ । जनताको सरोकारका सवालहरुको नेतृत्वदायी भूमिका खेल्नैपर्छ । यसले एकैसाथ माओवादी बन्ने र जनसम्बन्ध सुदृढ हुने काम गर्दछ । सबै जनता माओवादी हुने स्थिति भएपछि पार्टीपनि पहिलो हुन्छ । पार्टीका यावत समस्याहरु पनि सहजै समाधान हुन्छ । (लेखक माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हुन)

कमेन्ट गर्नुहोस्