जिसस अछाममा कांग्रेस–माओवादी गठबन्धन निर्विरोध विजयी

अछाम, साउन १७ । जिल्ला समन्वय समिति (जिसस) अछामको संयोजकमा नेपाली काँग्रेसका नेता नरबहादुर कुँबर निर्विरोध चयन भएका छन ।

मंगलवार भएको मनोनयन दर्ता कार्यक्रममा एमालेले उम्मेदवारी नदिएपछि कुँबरसहित काँग्रेस माओवादी गठबन्धन निर्विरोध भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो १२ बजेसम्मका लागि तोकेको मनोनयन दर्ताको समयमा कांग्रेस माओवादी गठबन्धनका तर्फबाट मात्र मनोनयन दर्ता भएपछि ९ सदस्यीय समिति निर्बिरोध चयन भएको हो ।

समन्वय समितिको संयोजकमा नरबहादुर कुँबरको मात्र उम्मेदवारी परेको छ भने उपसंयोजकमा स्वतन्त्रवाट कांग्रेसकै टोपबहादुर रावलको एक्लो उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भएका छन ।

यस्तै सदस्यहरुमा नेपाली काँग्रेसबाट शिव तिरुवा, तुलाराम साउद, सुरत थापा, लक्ष्मी शाह र तुल्छि चलाउने तथा माओवादी केन्द्रवाट खकेन्द्र साउद र लक्ष्मी कुमारी सुनार पनि निर्विरोध चयन भएका छन ।

जिल्ला समन्वय समितिका लागि स्पष्ट बहुमत भएपनि नेकपा माओवादी केन्द्रलाई पनिसंगै लिएर काँग्रेसले समन्वय समिति बनाएको हो । कुल २० मत (प्रमुख र उपप्रमुख) मध्ये ११ मत काँग्रेस, ५ मत एमाले र ४ मत माओवादी केन्द्रसंग रहेको थियो ।

कांग्रेसले समन्वय समिति एकल रुपमा चयन गर्न सक्ने भए पनि केही स्थानीय तह र गाँउ तथा नगर कार्यपालिकाको निर्वाचनमा दुई दलबीच तालमेल भएकाले उक्त गठबन्धनलाई निरन्तरता दिन पनि समन्वय समितिमा पनि दुई सदस्य माओवादी केन्द्रको भागमा परेको कांग्रेस जिल्ला सभापति भरतकुमार स्वाँरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्