जात्रामा झडप दश घाइते, नियन्त्रणमा लिन हवाई फायर

नुवाकोट, साउन २५ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डलबीमा लाखेजात्रा हेर्न जम्मा भएको जात्रालुबीच झडप भएको छ । झड्पमा १० जना घाइते भएका छन । भने झड्प नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

लाखे नाचअन्तर्गतको हिले जात्रा हेर्न पुगेका जात्रालुहरु दुई समूहमा विभाजित भएर झडप हुदाँ दुवै पक्षका दश जना घाइते भएका छन् । घाइते हुनेमा बेलकोटगढी–६ का दीपराज लामा, प्रवीन तामाङ, प्रकाश तामाङ र सुब्बा तामाङ रहेको प्रहरी चौकी झिल्टुङका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पंकजकुमार सिंहले जानकारी दिए ।

यस्तै, बेलकोटगढी–७ रातमाटेका किरण लामा, चतुरमान लामा, अरुण अधिकारी, शम्भु कुँवर, निमा लामा र प्रदीप लामा घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरुको टाउकामा चोट तथा हात र खुट्टा भाँचिएका छन् ।

कमेन्ट गर्नुहोस्