पढाईको धोकोः ८० वर्षको उमेरमा बेनीका अमर बहादुर कक्षा १ मा भर्ना

बाबियाचौर, म्याग्दी, भदौ ४ । बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत वैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीसँगै बसेर पढ्ने गरेको नेशनल एकेडेमीका प्राचार्य याम थापाले बताउनुभयो ।

उहाँले नेपाली र अंग्रेजी अंक, अक्षर लेखपढ सिक्नका लागि विद्यालय भर्ना भएको बताउनुभयो । धार्मिक ग्रन्थ अध्ययन गर्न, हरहिसाब गर्न, आफ्नो, परिवारका सदस्य र ठाउँको नाम चिन्ने उहाँको उद्देश्य छ ।

बौद्ध धर्ममा आस्था राख्नुहुने थापाले पढ्न नजान्दा धर्मग्रन्थका बारेमा बुझ्न नसकेका कारण आफैँले पढेर ज्ञान हासिल गर्ने अठोट लिनुभएको छ । उहाँ भारतीय सेनाका पेन्सनर हुनुहुन्छ । पच्चीस वर्षअघि पेन्सन आउनुभएको थियो ।

थापा नातिनातीनासँगै झोलामा कापी, कलम र किताब बोकेर विद्यालय आउने र पढाइमा निकै चासो दिने गरेको शिक्षिका टीका थापाले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्