मालपोतका नासु कार्यालयमै रक्सी खाएर ढलेपछि…

मालपोतका नासु कार्यालयमै मदिरामा लठ्ठ कन्चनपुर, भदौ ११ । कन्चनपुरस्थित जिल्ला मालपोत कार्यालयमा कार्यरत् नायव सुब्बा धर्मराज जोशी आइतबार कार्यालय समयमै मदिरा सेवन गरेर अर्धचेत अवस्थामा भेटिएका छन् ।

सेवाग्राही आफ्नो काम गराउनका लागि नायव सुब्बाको कार्यकक्षमा जाँदा उनी मदिराको नसामा लठ्ठ भएर टेबलमाथि खुट्टा राखेर सुतिरहेको अवस्थामा भेटिएका थिए ।

उनलाई यस्तो अवस्थामा देखेपछि सेवाग्राहीले कार्यालय प्रमुखलाई जानकारी गराए ।

कार्यालय प्रमुखले सो कुरा थाहा पाएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरे । तत्कालै प्रहरी टोली आयो र नासु जोशीलाई नियन्त्रणमा लियो ।

जोशीलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको छ ।

नासु जोशी यसअघि पनि पटक–पटक कार्यालय समयमा मदिरा सेवन गरेर आउने गरेको र कार्यालयमै सम्झाउने गरिएको भएपनि उनले आफूहरुले भनेको कुरालाई बेवास्ता गर्दै गएपछि बाध्य भएर प्रहरी बोलाउनुपरेको प्रमुख मालपोत अधिकृत गोविन्दप्रसाद अधिकारीले बताए ।

साथै, यस्ता गैरजिम्मेवार कर्मचारीहरुलाई विभागीय कारबाही गरिनेसमेत अधिकृत अधिकारीले बताए ।

मालपोत अधिकृत अधिकारीले यस्ता घटना दोहोरिन नदिन र सेवालाई चुस्त–दुरुस्त गर्न तल्लो तहका कर्मचारीलाई कडा निर्देशन दिने जानकारी दिए ।

इमेज़ख़बरबाट

कमेन्ट गर्नुहोस्