स्थानीय निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेद्वार

काठमाडौं, भदौ १४ ।  प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले उम्मेदवार बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । शनिबारदेखि २ नम्बर प्रदेशका नेतासँग लगातार छलफल गरेको कांग्रेस महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितका नेताले उम्मेदवार टुंगो लगाएका हुन् । उम्मेदवार छनोट गर्ने छलफलमा दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगानालगायत सहभागी थिए ।

 कृषिमन्त्री एवं केन्द्रीय सदस्य रामकृष्ण यादवले करिब दुई नम्बरका सबै ठाउँको उम्मेदवार टुंग्याएको जानकारी दिए । ‘अन्य पार्टीका उम्मेदवार हेरेपछि बुधबार साँझ वा बिहीबार बिहानसम्म हाम्रा उम्मेदवार सार्वजनिक गर्छैाँ’, उनले भने । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाबाट आएको नामबाट उम्मेदवार तय गर्न महामन्त्री कोइराला र विमलेन्द्र निधिलाई दिएका थिए । देउवाको यो निर्णयप्रति २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गरेपछि उनीहरूलाई पनि छलफलमा सहभागी गराइएको थियो ।

यसअघि उम्मेदवार छनोटबारे पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता जनकपुर पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए । उम्मेदवार टुंगो नलगाएको भन्दै आइतबार कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले फेसबुकमा असन्तुष्टि पोख्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

पार्टी स्रोतका अनुसार उम्मेदवारी छनोटमा पार्टीभित्रका गुटले प्रभाव पारेपछि नाम टुंग्याउन पार्टीलाई हम्मे-हम्मे परेको थियो । निधिले देउवा खेमाको उम्मेदवारलाई प्राथमिकतामा राखेपछि पौडल समूहका महामन्त्री कोइराला तथा केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना र कोषाध्यक्ष सीतादेवी यादवले असन्तुष्टि व्यक्त गरेका थिए । – अन्नपूर्ण पोस्टबाट 

कमेन्ट गर्नुहोस्