रामानन्द चोकः दुई पूर्व प्रधानमन्त्री, एउटालाई कुचो, अर्कोसँग सेल्फी

काठमाडौं, भदौ १४ । मंगलबार दिउँसो जनकपुरमा दुईवटा दृश्यले आम मानिस तरङ्गिगत भए । बिहान जनकपुरको मा प्रचण्डलाई स्थानीय चिया पसलमा देख्दा जनतामा कौतहुलता जाग्नु स्वभाविकै थियो ।

एकपछि अर्को गर्दै मधेसका सर्वसाधारण भेला भए । उनीहरुका लागि प्रचण्डको आगमन कता कता आफ्ना दुखेसो पोख्ने ठाउँ थियो । प्रचण्डले चियाको सर्को तान्दै सर्वसाधारणसँग भलाकुसारी गरे । राष्ट्रिय राजनीतिका जटिलता भन्दा पनि स्थानीय समस्याका बारेमा कुरा गरे ।

मधेस, मधेसी जनताको भावनालगायतका कुरा गरे । दोश्रो दृश्य अलि पीडादायी थियो । त्यहाँ आक्रोश थियो, पीडा थियो । हात हातमा कुचो बोकेका महिलाहरु थिए ।

ढुंगा बोकेका पुरुषहरु थिए । उनीहरुको निशाना थिए पूर्व प्रधानमन्त्री माधव नेपाल । पीडादायी यसअर्थमा कि माधव नेपाल त्यही मधेसको रौतहटबाट सांसद भए । प्रधानमन्त्री भए । तर उनी र उनको दलले त्यही मधेसको भावनालाई समेटेर तयार भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्यो ।

यसबाट मधेसका जनता आक्रोशित हुनु स्वभाविकै थियो । फलस्वरुप रामानन्द चौक आन्दोलनमयी बन्यो ।

एमालेको अगुवा कार्यकर्ता भेलाको कार्यक्रम बिथोलियो । नेता नेपालमाथि ढुंगामुढा प्रहार भयो । बुधबार भने रामानन्द चोक फेरी आफ्नै पूर्व स्वरुप मा फर्केको छ ।

त्यही रामानन्द चोकमा प्रचण्डसँग सेल्फी खिच्नेको लर्को देखियो । प्रचण्डसँग चिया खाँदै राजनीतिका कुरा गर्ने सर्वसाधारण देखिए । 

मानौं, प्रचण्ड उनीहरुको आफ्नै नेता हुन । वीसौं वर्ष मधेसकै राजनीति गरेका, मधेसमा नै घर भएका माधव नेपाल लखेटिएको चोकमा प्रचण्डको भने भव्य स्वागत देखियो आज बिहान । लाग्छ, रामानन्द चोकले परिवर्तन खोजेको छ । सिंगो मधेसमा परिवर्तन । र, लाग्छ यो चोकले माओवादीलाई मात्रै यो परिवर्तनको भरपर्दो संवाहक मानेको छ ।

कमेन्ट गर्नुहोस्