बाढीपीडितलाई राहत वितरण

लहान, भदौ १५ । बाढीका कारण डुबानमा परेका सप्तरीको तिरहुत गाउँपालिकास्थित भेडिया र मैनाकडेरीका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

बाढीबाट अति प्रभावित मैनाकडेरी र भेडियाका एक सय २५ परिवारलाई कारितास नेपालको सहयोगमा जिल्लास्थित श्रीपुर्राज सामुदायिक विकास केन्द्रले राहतस्वरुप पाल, पोषणयुक्त खानेकुरा र सरसफाइ तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

यस्तै बाढी प्रभावित उक्त बस्तीका १५ जना सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त खानेकृुरा वितरण गरिएको केन्द्रका कार्यक्रम संयोजक विनोदानन्द चौधरीले बताउनुभयो ।

त्यसैगरी बाढी प्रभावित सोही बस्तीका एकसय बालबालिकालाई स्कुल ब्याग एक थान, कापी एक दर्जन, पेन्सील, कटर, एलेजर र कलम १० थानका दरले वितरण गरिएको थियो । रासस

लागु औषधसहित युवक

गएराति भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरबाट एक युवकलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका– १७ स्थित माडरबाट लागुऔषध लुकाइछिपाइ बोकेर आइरहेको अवस्थामा सिरहाको मिर्चैया नगरपालिका– ६ निवासी १९ वर्षीय बलमेन्द्र साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहको साथबाट नाइट्रोभेट ६० ट्याब्लेट र स्पास्मो प्रोक्सिवान ४५ ट्याब्लेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्