काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचनको मतगणना सुरु भएको छ ।
बुधबार सम्पन्न उक्त निर्वाचनको मतगणना आज विहान ९ बजेदेखि नै सुरु गरिने भनिएतापनि अपरान्ह साढे एक बजेदेखि मात्रै सुरु गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा गणना भइरहेको निर्वाचन संयोजक रमेश मल्लले जानकारी दिएका छन् ।
सुरूमा प्रदेश नम्बर १ र २ बाट मत गणना शुरू भएको छ । चारवटा वुथमा एकैसाथ मतगणना भएको छ ।
भदौ ७ गतेबाट सुरु भएको क्रान्तिकारीको २१ औं सम्मेलनबाट नयाँ नेतृत्व चुन्न बुधबार निर्वाचन भएको थियो । पहिलोपटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न लागेको अखिल क्रान्तिकारीको बुधबार साँझ ७ बजेसम्म मतदान भएको थियो ।
अखिल क्रान्तिकारीको अध्यक्षको चुनावी मैदानमा अनिल शर्मा र रञ्जित तामाङ छन् ।