Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वीरगन्जमा कांग्रेसले बनायाे ८८ वर्षीया कार्कीलार्इ उपमेयरकाे उम्मेदवार

वीरगन्ज, भदौ १८ । कांग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयर उम्मेदवारको पनि टुंगो लगाएको छ । उपमेयरमा महाधिवेशन प्रतिनिधि ८८ वर्षीया शान्ति कार्कीलाई उम्मेदवार बनाउने भएको छ । मेयरमा अजय द्विवेदीलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले वीरगन्जको उपमेयरमा नेतृ शान्ति कार्कीलाई उठाउने निर्णय गरेको जिल्ला सचिव श्याम पटेलले जानकारी दिए ।

केन्द्रीय सदस्य रमेश रिजाल र जिल्ला सभापति तथा मेयर उम्मेदवार अजय द्विवेदीबीच उपमेयर उम्मेदवार छनौटमा विवाद हुँदै आएको थियो । कार्कीले विभिन्न आन्दोलनका क्रममा जेलसमेत बसेको र पार्टीमा धेरै योगदान दिएको पर्सा कांग्रेसले जनाएको छ ।

उपमेयरमा केन्द्रीय सदस्य रिजालले पत्रकार एवं प्रेस युनियनका संस्थापक सदस्य कन्हैयालाल केशरीकी छोरी प्रियंका केशरीको नाम प्रस्ताव गरेका थिए । तर, एक नेताका अनुसार केशरीको नाम उपमेयरका लागि जिल्लाबाट सिफारिस नै भएको थिएन ।

मेयर र उपमेयरको टुंगो लागेसँगै वीरगन्ज महानगरमा कांग्रेसले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएको छ । केन्द्रीय सदस्य शेखर कोइराला, मेयरका उम्मेदवार द्विवेदी र उपमेयरका उम्मेदवार कार्कीसँगै स्थानीय नेता कार्यकर्ताले चुनावी घरदैलो सुरु गरेका छन् । कांग्रेसले शुक्रबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गरेको घरदैलो कार्यक्रम गरेको छ ।

 

 

त्यस्तै, जगरनाथपुरमा पार्टी प्रवेश कार्यक्रम र वगहीमा रात्रीसभासमेत गरेको छ । जगरनाथपुरमा भएको पार्टी प्रवेश कार्यक्रममा मधेस आन्दोलनका सहिद दिलीप चौरसियाको परिवारका सबै सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस पर्साले जनाएको छ ।

छोरा सहिद हुँदा पनि मधेसी दलले साथ नदिएकाले मधेसी दलको साथ छोड्नुपरेको चौरसियाका परिवारजनले बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम र एमाले परित्याग गरी तीन सयभन्दा बढी कांग्रेसमा प्रवेश गरेको कांग्रेस जिल्ला सचिव श्याम पटेलले दाबी गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: