Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गिद्धः एउटै पहरामा तीन जाति

अर्घाखाँची, भदौ १८ । लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित हुन थालेको छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा पाँच प्रजातिका गिद्ध पाइएका छन् । मरेका जनावरलाई आहारा बनाई पारिस्थितिक प्रणलीलाई सन्तुलनमा राखी पर्यावरणलाई जोगाउन यसको निकै ठूलो योगदान रहन्छ । आफैँ शिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदूषित र दुर्गन्धित वातवरणलाई स्वच्छ राखी महामारी र सरुवा रोग लाग्नबाट जोगाउँछ । प्रकृतिको कुचीकार गिद्ध पछिल्लो समयमा लोप हुने अवस्थामा छ ।

हिमाल र तराईका विभिन्न सामुदायिक वनमा पाँचथरी गिद्ध पाइने गरेको गिद्ध संरक्षण अभिायनका विज्ञ कृष्णप्रसाद भुसालले बताउनुभयो । उहाँका अनुसार यहाँ डंगर, सुन, गोब्रे, हिमाली र हाडफोर गिद्ध पाइन्छन् ।

हिमालमा पाइने हिमाली गिद्ध र तराईमा पाइने डंगर गिद्धको बासस्थान जिल्लाका विभिन्न स्थानका जंगल र पहरा हुन् । हिमाली र डङ्गर गिद्धसमेत रैथाने रुपमा बस्ने भएकाले अर्घाखाँची तिनको उपयुक्त बासस्थानका रुपमा विकास हुँदै गइरहेको छ ।

पाँचथरी गिद्ध सधैँभरि बस्ने रैथाने भए पनि समय समयमा सानो खैरेगिद्ध र राजगिद्ध पनि बसाइँसराइ गरेर आउने गरेको नेपाल पक्षी संरक्षण संघ, गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसालले बताउनुभयो ।

यहाँको उत्तरी भेग अर्घा किमडाँडा, धारापानी, ढाकावाङ, गोखुङा, हंसपुर, खनदह, खन, अर्घातोष, डिभर्ना र बल्कोटका पहरा र ठूला रुखमा बासस्थान फेला परेको छ । “बाँगी घेराका भीरमा तीन प्रजातिका गिद्धले बच्चा कोरल्छन्”, उहाँले भन्नुभयो, “एउटै पहरामा तीन जाति रहेको यो नेपालकै पहिलो अध्ययन हो ।”

सुन्निएको र दुखेको निको पार्न पशुमा प्रयोग गरिने डाइक्लोफेन्याक नामक औषधिको प्रयोग भएको जनावरको सिनो खाँदा ठूलो संख्यामा गिद्ध मरेको अनुसन्धानले देखाएको छ । गिद्धको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेर अतिसंकटापन्न अवस्थामा पुगेको छ । गिद्धको लोप भएमा प्राकृतिक चक्र नै परिवर्तन हुने भएकाले पनि यसको संरक्षण अति आवश्यक रहेको छ ।

लोपोन्मुख पक्षी डंगर गिद्धका पाँच बच्चा पाँच वर्षअघि अर्घाखाँचीबाट चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा लगेर राखिएको छ । सन्धिखर्क नगरपालिका– १० मा पर्ने गर्ताखोला खहरे र गर्लाम सामुदायिक वनबाट ती गिद्धका बच्चा लगिएको गर्ताखोला खहरे गर्लाम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर रानाभाटले बताउनुभयो ।

घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेन्याकका कारण गिद्धको संख्या घटेर अतिसंकटापन्न अवस्थामा पुगेकाले बचाउन त्यहाँ लगिएको हो । उमेर पुगेपछि कृत्रिम प्रजनन गराएर बच्चा हुर्काई डाइक्लोफेन्याकमुक्त सुरक्षित प्राकृतिक वातावरणमा छाडिने छ ।

सन्धिखर्क– १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले गिद्ध संरक्षणका लागि वन संरक्षण गर्नु महत्वपूर्ण भएको बताउँदै गिद्ध संरक्षणले वातवरण र पर्यावरण जोगाउन निकै ठूलो भूमिका खेलेको हुँदा यसलाई बचाउन आफूहरुले पहल गर्ने जानकारी दिनुभयो ।

गिद्धलाई डाइक्लोफेन्याकरहित शुद्ध र नियमित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायस्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलिएको थियो ।

किसानबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तु संकलन गरी जटायु रेष्टुरेन्टमा रहेका पशुको वृद्धाश्रममा लगिन्छ । नेपाल पंक्षी संरक्षण संघका अनुसार १२ वर्ष अघिसम्म नेपालमा पाँच लाख र भारतमा १६ करोड गिद्ध थिए । नेपालमा पाइने आठ प्रकारका गिद्धमध्ये जिल्लामा पाँच प्रकारका गिद्ध छन् । गिद्धका लागि राम्रो बासस्थान भए पनि गिद्ध संरक्षणका लागि अर्घाखाँचीको स्थानीय प्रशासन राजनीतिक दल गैर सरकारी संस्था सबैले पहल गर्न जरुरी रहेको वातावरणप्रेमी बताउँछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: