देश बेच्न लागेको लेन्डुपहरुले बचाउँछन् गणतन्त्र ! महेन्द्र, बिपी र लेन्डुप

युवराज गौतम/

शिलालेख, ताम्रपत्र वा पुरातात्विक महŒवको अभिलेख धुलोले छोपिए पनि इतिहास हराउँदैन । भ्रम, दुष्प्रचार वा कुनै प्रायोजित हल्लाले सत्यको आकाशमा घनघटा छाउन सक्छ तर सत्य नै शाश्वत हुन्छ । युगीन हुन्छ । पात्रहरू मर्छन्, इतिहास कालजयी हुन्छ ।

राजा त्रिभुवनका छोरा राजा महेन्द्र र उनीपछि राजसिंहासनमा विराजमान वीरेन्द्र तथा ज्ञानेन्द्र जस्ता चार जना शासकसँग नाम जोडिएर आउँछ बिपी कोइरालाको । राजा त्रिभुवनका पालामा गृहमन्त्री र राजा महेन्द्रझैँ विश्वेश्वरप्रसाद कोइराला आज पनि सर्वाधिक उच्चारण गरिने एउटा बहुचर्चित नाम हो । २००७ सालमा त्रिभुवनका महिला नाति ज्ञानेन्द्र शाह राजगद्दीमा बस्दा मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला क्रान्तिको मैदानमा सक्रिय थिए । उनीहरू ज्ञानेन्द्रलाई राजा मान्ने पक्षमा थिएनन् । राणा–कांग्रेस संयुक्त सरकार बनेपछि मोहनशमशेरलाई प्रधानमन्त्री स्वीकार गरेर बिपी गृहमन्त्री भए । राजा महेन्द्रको शासनकालमा बिपी सात वर्ष थुनिए । राजा महेन्द्र र राजा वीरेन्द्रको राजनीतिक चिन्तनसँग असहमत थिए बिपी । तर उनले राजसंस्थाको विकल्प खोजेनन् किनभने उनको दल गणतन्त्रवादी थिएन ।

बिपीले आत्मवृत्तान्तमा धेरै तथ्य उजागर गरेका छन् । सन् १९४८ मा जन्मेको इजरायललाई नेपालले मान्यता दिएपछि इजिप्ट जस्ता अरब राष्ट्रहरूबाट आएको ठूलो दबाब नेपालले भोगेको थियो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले दिएको भोजमा आफूले इजरायलकी विदेशमन्त्री (पछि प्रधानमन्त्री भइन्) गोल्डा मेयरसँग पाकिस्तानी विदेशमन्त्री जुल्फिकर अलि भुट्टोको परिचय गराइदिएको कुरा बिपीले उल्लेख गरेका छन् । अमेरिकाका राष्ट्रपति राजा महेन्द्रको स्वागत गर्न विमानस्थलमै आउने र ब्रिटेनकी महारानीले रेल्वे स्टेसनमा उपस्थित भएर राजा महेन्द्रको स्वागत गरेको उच्चस्तरको कूटनीति अब दन्त्यकथा भइसकेको छ ।

इतिहास भन्छ–, सिम्सनको प्रेममा परेर ब्रिटेनका राजा एडवर्ड (आठौं) राजगद्दी त्यागेर हिँडिदिए । बिपीले त्यस्तै प्रसंग उठाएर लेखेका छन्– ‘राजा त्रिभुवनले इन्द्रराज्यलक्ष्मीदेवी (तत्कालीन युवराज महेन्द्रकी धर्मपत्नी) स्वर्गवास भएपछि राणा परिवारभन्दा बाहिर गएर अर्को विवाह गर्न छोरालाई सल्लाह दिएका थिए । त्यही विषयले बाबु÷छोराबीच मतभेद भयो । महेन्द्रले युवराजाधिराज पद त्याग्ने कुरासमेत गरे ।’ बिपीले त्यस्तो परिस्थितिमा राजा त्रिभुवन र युवराज महेन्द्रबीच सम्बन्ध सुधार्न प्रयत्न गरेको देखिन्छ । अर्थात् त्यसबेला राजदरबार र उच्च राजनीतिज्ञहरू एउटै परिवार जस्ता थिए ।

बिपीकी जेठी बुहारी सुषमा (राजनीतिज्ञ प्रकाश कोइरालाकी पत्नी) भन्छिन्– ‘हामी २०२७÷२८ सालतिर सपरिवार सारनाथमा बसेका थियौँ । २०२८ माघ १७ गते राजा महेन्द्रको स्वर्गवास भएको खबर आयो । सात÷आठ वर्ष बिपीलाई जेलमा राख्ने राजाको मृत्यु भएको खबर सुन्दा म दुःखी भइनँ । युवावस्था थियो मेरो । राजनीति धेरै बुझ्दिनथेँ । ससुरालाई मनमा लागेको कुरा प्याच्चै भनिदिएँ– ‘राजा मरेछन्, ठिकै भयो ।’ उहाँले चिन्तित र दुःखी स्वरमा सम्झाउँदै भन्नुभयो– ‘राजा महेन्द्र राष्ट्रवादी र असल राजा हुन् । मलाई थुनेका थिए, त्यो अर्कै कुरा हो । त्यस्ता राजाको मृत्यु नेपालका लागि ठूलो क्षति हो ।’ केही दिनअघि कोइराला निवासमा पंक्तिकारसँग कुराकानी गर्दै सुषमाले भनिन्– राजा महेन्द्र र बिपीका बारेमा नकारात्मक कुरामात्र प्रचारमा आयो । सत्य कुरा ओझेलमा परे, मिथ्या प्रचार धेरै भयो ।

बिपीपुत्र प्रकाश कोइराला राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर भएको विश्लेषण गर्छन् । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस पथभ्रष्ट, दिग्भ्रमित र परमुखापेक्षी बन्दै गएको उनको विश्लेषण छ । प्रकाश बिपीपथमै छन् । गणतन्त्र गलत छ भन्छन् । तर बिपीको तस्बिरमा माल्यार्पण गर्ने र आफूलाई उनका नातागोता भएकामा गर्व गर्ने कतिपय कोइरालाले गणतन्त्रको ज्याकेट लगाएर बिपीको चिन्तन, आदर्श र मूल्यमान्यता चटक्क बिर्सेका छन् ।

प्रचण्डपथ भनेर माओवादीले ल्याएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको रक्षा गर्न कांंंग्रेसले माओवादीलाई कंगारुले बच्चा च्यापेझैँ थैलामा बोकेर दौडेको छ । वर्तमान सरकारको संरचना र भागबन्डा त्यसैको विद्रुप वा कुरूप दृश्य हो । यो कलाविहीन नाटकका लेखक, निर्देशक सबै विदेशी छन् तर रंगमञ्चमा देखिने पात्रहङको खल्तीमा नेपालको नागरिकता प्रमाणपत्र छ ।

विद्वान्हरूले शास्त्रका वचनलाई प्रमाण मान्दै तर्क गरेका छन्– ‘आफैँमा कोही कसैको मित्र वा शत्रु हुँदैन, व्यवहारले मित्रता र शत्रुता निर्धारण गर्छ ।’ भारतीय सरकारी नीति सनातन हिन्दु धर्म विरोधी भयो भन्दै धर्म निरपेक्षताका विरुद्ध निर्भिक ढंगले सम्पादकीय लेखेपछि टाइम्स अफ इन्डियाका सम्पादक गिरिलाल जैनलाई हटाइयो । सन् १९५० मा रिपोर्टर (सम्वाददाता) बनेर पत्रकारितामा प्रवेश गरेका जैनले सन् १९७८ देखि १९८८ सम्म सम्पादक भएर काम गरे । नेपाल–नीतिमा भारत स्पष्ट हुनुपर्छ भन्दै जैनले कैयन् लेख र सम्पादकीय लेखे । उनको चर्चित पुस्तक ‘इन्डिया मिट्स चाइना इन नेपाल’ (सन् १९५९) भारत, चीन र नेपालबीच कस्तो कूटनीतिक सन्तुलन हुनुपर्छ भन्ने तर्कमा आधारित छ ।

सन् १९६२ मा चीन र भारतीच युद्ध भएपछि नेपाल दक्षिण एसियाका नवोदित शक्तिहरूको रणनीतिक क्षेत्र बन्न पुग्यो । आज काठमाडौंँ पृथ्वीतलको एउटा महत्वपूर्ण रणनीतिक र सामरिक विन्दु बन्दै गएको छ । राजा महेन्द्र, माओ, नेहरु, बिपी आदिले पचास वर्षपहिले नै नेपालको भविष्यबारे विश्लेषण गरेका थिए । पं. जवाहरलाल नेहरुको ग्रन्थ ग्लिमसेज अफ वल्र्ड हिस्ट्रीमा उनले नेपाललाई कहिले पराधीन नभएको वीरभूमि भनेका छन् ।

राजनीति, कूटनीति, कर्मचारीतन्त्रलगायत प्रायः सबै क्षेत्र परावलम्वी बनिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्रता र गणतन्त्रमध्ये एउटामात्र रोज्नुपर्ने अवस्था देखिएको छ । संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गरे पुग्छ भन्नेहरू राष्ट्रियता भनेको महत्वहीन हो भनिरहेका छन् । राष्ट्र नै संकटमा पुग्छ र राष्ट्रियता नै निष्प्राण बन्छ भने संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका करोडौं डलरका गहना लगाएर छम्छमी नाच्नुको के अर्थ हुन्छ भनेर तर्क गर्नेहरू लाखौँ छन् । बहुमत नै सत्य हुन्छ भन्ने तर्क सदैव सत्य हुँदैन । उदाहरण छेउमै छ, सन् १९७५ मा सिक्किमलाई भारतमा गाभ्ने षड्यन्त्रमा जनमत संग्रहको नाटक गरेर बहुमतकै नाममा एउटा स्वतन्त्र राष्ट्र पराधीन भएको थियो । राष्ट्र निल्ने प्रक्रिया ‘अप्रजातान्त्रिक’ थिएन किनभने त्यो जनमत संग्रह नै थियो ।

स्यामुअल हन्टिङ्टनले सभ्यताको रक्षा र पानीका लागि धेरै राष्ट्रमा लडाइँ हुन सक्छ भनेर ‘क्ल्यास अफ सिभिलाइजेसन’ पुस्तकमा सविस्तार व्याख्या गरेर साना र कमजोर राष्ट्रहरूलाई झस्काइदिएका छन् । भारतले नेपाल तराईका केही सीमित व्यक्तिलाई प्रयोग गरेर नवनागरिक र हिन्दीलाई माया गरेको देखिए पनि यथार्थ फरक छ ।

नेपालबाट तराई टुक्र्याउन सफल भएमा सप्तकोशी, सप्तगण्डकी, कर्णाली र महाकाली जस्ता पानीको अजस्र स्रोतको बेरोकटोक सदुपयोग गर्न सकिन्थ्यो भन्ने उसको बुझाइ छ । नेपाल दरवारले यस्ता विषयमा राष्ट्रिय हितको मात्र कुरा गरेर भाँजो हालेको भन्दै नेपालमा आफ्ना मानिसमार्फत शासन गर्न गणतन्त्र ल्याइयो । पश्चिमा शक्तिराष्ट्रहरूले क्रिश्चियन धर्म फैलाउन धर्म निरपेक्ष घोषणा गर्न बाध्य बनाए । नेपाली एकताबद्ध भए भने विदेशीको योजना सफल हुँदैन भन्ने अध्ययन गरेर संघीयता नामको विभाजनकारी प्रज्ज्वलनशील पदार्थ भित्र्याइयो । दुष्परिणामहरू देखिँदैछन् ।

पूर्वकानुन सचिव मोहन बन्जाडेले चीनको दबाबमा नेपालमा एउटा संविधान गायव पारिएको खुलासा गरेका छन् । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा चौधवटा प्रदेश (प्रान्त) बनाएर रणमैदानका रूपमा विकसित गराउने पश्चिमाहरूको गुप्त योजनाअनुसार पहिलो संविधानसभाले त्यस्तो संविधान जारी गर्ने षड्यन्त्र थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवलाई समेत सुइँको नदिएर सभामुख सुवास नेम्वाङ, कृष्ण सिटौलालगायतका पात्रहरूमार्फत त्यो सबै गृहकार्य गरिएको उच्चपदस्थ कर्मचारी बताउँछन् ।

चीनले कडा स्वरमा विरोध जनाउँदै नेपाल–चीन सिमानामा आगो लगाउने त्यस्तो संविधान ल्याइएमा मौन नबस्ने संकेत दियो । अन्त्यमा, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई त्यो राष्ट्रघाती योजनामा असफल भए । राष्ट्रपति रामवरण यादवले समेत सर्सर्ती पढ्न नपाएको त्यो रहस्यमय संविधानमा के के थियो त ? कानुनविद्, संविधानविद्, लेखक, विश्लेषक सबैका निमित्त त्यो जिज्ञासाको विषय बनेको छ । ‘देखिजान्ने, सुनिजान्ने किनाराका साक्षी’ बस्दै आएका अधिकांश सांसदले वर्तमान संविधानको पेटबोलीमा के छ भन्ने पनि राम्ररी बुझेका छैनन् ।

समानुपातिक (समानपातकी ?) र चन्दामार्गबाट संसद्मा प्रवेश गरेका धनमाया र धनबहादुरहरूलाई झन् के थाहा ! त्यसैले, नेपाली राजनीतिमा जो आफूलाई शेर (सिंह) ठान्छन्, उनीहरू सर्कसका रिङ मास्टरको कोर्राबाट निर्देशित छन् । हालै दिल्लीमा नेपालका प्रधानमन्त्रीले गृहकार्य (होमवर्क) नबुझाउने विद्यार्थीले झैँ ‘अर्कोपल्ट संविधान संशोधन गन्र्या हुँ सर’ भनेर संविधानको स्वामी विदेशी नै हुन् भन्ने स्पस्ट पारिदिए । त्यसैले नेपाली राजनीति स्वचालित छैन भन्ने स्पस्ट भइसकेको छ । यहाँ देखिएका पार्टी मुख्यालयहरू शाखा÷प्रशाखा हुन् भन्ने स्पस्ट हुँदैछ । सिद्धान्त, नैतिकता, आदर्श, चरित्र वा दर्शन नभए पनि राजनीतिक दल चल्छ नेपालमा । त्यसैले सत्ता पाउँदा संविधान ‘उत्कृष्ट’ र नपाउँदा त्यही संविधानलाई ‘निकृष्ट’ ठान्ने घोर अवसरवादी र अराजनीतिक चरित्र विकसित हुँदैछ । राजा महेन्द्र र बिपीको वचन बिर्सेर लेन्डुपवादी भइसकेका कतिपय दललाई भरोसा गरिरहने हो भने राष्ट्रको पतन निश्चित छ । जनता बनेर स्वतन्त्र विचार राख्न डराउने बरु दलको कार्यकर्ता भएर राष्ट्रघातको समर्थन गर्ने प्रवृत्तिले बौद्धिक वर्गलाई पनि दास बनाएको छ । यो समस्या ‘ठूला’ दलमा झन् घातक बन्दै गएको देखिन्छ ।

दार्चुलाको टिङ्कर, बझाङको तानाराकोट धुली, हुम्लाको मुचु, मुगुको मुगुगाउँ, डोल्पाको छार्का भोट, मनाङको थोराङ् भन्ज्याङ, मुस्ताङको कैसाङ, गोर्खाको अठारसय खोला र लार्के भन्ज्याङ, रसुवाको रसुवागढी र सोम्दाङ, सिन्धुपाल्चोकको तातोपानी–कोदारी, दोलखाको लामा बगर, संखुवासभाको चेपुवा घाँटी, ताप्लेजुङको ओलाङचुङगोला, सोलुखुम्बुको नाम्चे र च्याल्सा, पाँचथरको च्याङ्थापु आदि ठाउँमा २००९ साल जेठ २७ गतेदेखि भारतीय सेना बसे । राजा महेन्द्रको शासनकालमा २०२६ सालमा ती सैनिक हटाइयो । चीन र भारतबीच प्रत्यक्ष–अप्रत्यक्ष÷पमा देखिएको तनाव र बाह्य शक्तिको प्रभावले नेपालमा राजनीतिक अस्थिरता बढ्दैछ । राष्ट्रिय सुरक्षामा धेरै चुनौती थपिँदै गएका छन् । चीन, भारत, अमेरिका र युरोपको चिन्ता गर्ने नेपालका अधिकांश अग्रगामीहरू राष्ट्रवादको वकालत गर्नेहरूलाई महेन्द्रीय (?) राष्ट्रवादका पक्षधर ‘प्रतिगामी’ ठान्छन् ।

राजा महेन्द्र र बिपीजस्ता व्यक्तित्वलाई अपमानित गरेर घरघरमा र दलदलमा लेन्डुप जन्माउन धेरै गैरसरकारी संस्था प्रसूति गृहका रूपमा खुलेका छन् । त्यसैले सत्यवादीहरूलाई दमन गरेर उनीहरूलाई कुल्चिरहने जुन पद्धति स्थापना गर्न खोजिँदैछ, गणतन्त्रको भेषमा त्यो लेन्डुपतन्त्र नै हो । साम्राज्यवाद र विस्तारवादको नयाँ संस्करणमात्र हो । शक्तिको खेलमा जनताले अल्छी, योजनाहीन, कायर, लोभी, विवेकहीन र दिग्भ्रमितलाई समर्थन गर्दैनन् । राजनीतिशास्त्र भन्छ– ‘जनताले पनि आफ्नो स्वार्थ हेर्छन् ।’ राष्ट्र नै बचाउन नसक्नेहरूले सत्ता सञ्चालन गर्दा एकदिन जनता शरणार्थी बन्ने अवस्था आउन सक्छ ।

आठौँ शताब्दीका चीनका प्रसिद्ध दार्शनिक र कवि डु फु भन्छन्– भेडाको बथान केही कुकुर र गोठालाको नियन्त्रणमा हुन्छ । त्यसैले उनीहरूलाई वशमा राख । सबै भेडालाई घाँस खुवाएर खुसी पार्ने प्रयास नगर । घोडा चढेर लुट्न आउने डाँकालाई पक्रनु छ भने बन्दूकले घोडालाई ढाल । नाइकेहरूलाई आशा र त्रासको बन्धनमा राख ।’ विदेशी षड्यन्त्रकारीले नेपाली राजनीति र कूटनीतिमा त्यस्तै नीति लिएका छन् । त्यसैले उनीहरू महेन्द्र र बिपी जस्ता राजनेतालाई अपमान गर्छन् । लेन्डुपहरूलाई महिमामण्डित तुल्याउँछन् र भन्छन्– यिनैले बचाउँछन् गणतन्त्र । -नागरिकबाट

कमेन्ट गर्नुहोस्