सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

डोटी – ३० बर्षसम्म बुवा बसेको कुर्चिमा आफू पनि हेडमाष्टर नै भएर बस्दा टेकबहादुर सिंहको मन कम्ता भारी भएको थिएन । ‘बावु राजा भएकोले छोरो पनि राजै’ हुने प्रथा जसरी आफू हेडमाष्टर नभएको उनलाई राम्रै हेक्का थियो । मोहन बहादुर सिंहले धानेको विद्यालयको मूल्य मान्यता र शैक्षिक विरासतलाई सके फड्को मार्ने नसके आँच आउन नदिनु नै ८ बर्ष अघि त्यो कुर्चिमा बस्दै गरेका टेकबहादुरले मुख्य काम ठानेका थिए ।

२०६५ सालमा आफ्ना बुवा ३० बर्ष सम्म बसेको हेडमाष्टरको कुर्चिमा बस्दै गर्दा खरो उत्रन सकुँला की नसकुँला भन्ने टेकबहादुरको त्यो चुनौती गत भदौ २३ गते यता भने केही कम ठानेका छन् । गत भदौ २३, सेप्टेम्बर ८ अर्थात् ३७ सौं शिक्षा दिवस । सुदुरपश्चिमाञ्चल क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा शिक्षा मन्त्रालयबाट पुरस्कृत हुँदै गर्दा ‘केही राम्रै गर्न सकेछु की जस्तो लागेको’ उनले बताए ।

काठमाडौंको राष्ट्रिय सभागृहमा शिक्षा मन्त्रालयले गरेको कार्यक्रममा राष्ट्रिय झण्डा सहित रु १ लाख हातमा लिदैं गर्दा उनले आफ्ना सहकर्मी, अभिभावक र विद्यार्थीलाई सम्झेको बताए ।

शिक्षा मन्त्रालयले त ‘कर्मकाण्डि पारामै’ सही कुनै न कुनै विद्यालयलाई त्यो दिन पुरस्कृत गर्नै पर्छ । त्यहि शिलशिला अन्र्तगत ‘सौभाग्यबस’ सुदुरपश्चिमबाट यस बर्ष भगवती मावि परेको हो । भलै मन्त्रालयले विभिन्न मापदण्डका आधारमा छनौट गरेको बताउँछ । सुदुरपश्चिमाञ्चल क्षेत्र भरी रहेका अन्य विद्यालयको त कुरै छाडौं, डोटीमै रहेका ३ सय ४० विद्यालय त्यसमा पनि ८४ वटा माध्यमिक विद्यालय मध्ये भगवती नै किन उत्कृष्ट त ?

टेकबहादुर हेडसरसंग पनि यसको ठ्याक्कै उत्तर चाँही छैन ।

‘विद्यालयका सबै शिक्षक काम र जिम्मेवारीका हिसाबमा हेडसर जस्तै छन्, म पनि अरु शिक्षक जस्तै छु, हाम्रो काम विद्यार्थीलाई सिकाउने हो, त्यो काममा हामी को ठूलो को सानो भन्दैनौं’ आफ्नो विद्यालय उत्कृष्ट हुनाको अड्कल काट्दै हेडसर भन्छन्, ‘विद्यालय राम्रो हुन हेडमाष्टर मात्रै वा कुनै एक शिक्षक मात्रै राम्रो भएर हुँदैन यो त टिम वर्क हो, हेडसर खराव छ, कुरा मात्रै गर्छ काम गर्दैन भन्ने गरी गुनासो गर्ने मौका नै दिएको छैन ।’

प्रभात उच्च मावि देहमाण्डुबाट २०५७ सालमा निमावि शिक्षकका रुपमा शिक्षण पेशामा छिरेका सिंह २०६३ सालको आन्तरिक आयोगबाट मावि शिक्षक भए । मावि शिक्षक भएको एक महिना रघुनाथ उच्च मावि तिलौरीमा पढाए पनि त्यस यता घरपायक तलारा सरुवा मिलाएका हुन् उनले ।

आफू सात कक्षा सम्म पढेको र आफ्नै पिताजीले लामो समय नेतृत्व दिएको विद्यालयमा शिक्षकका रुपमा २ बर्ष विताएका सिंहलाई अभिभावक र शिक्षकले हेडमाष्टरनै बन्न प्रस्ताव गरे । त्यही बेला हो सिंहलाई विद्यालयले बोकी आएको  मूल्य मान्यता र शैक्षिक विरासतलाई धान्न सकुँला की नाईँ भन्ने चिन्ताले छोपेको ।

शायद यही चिन्ताले होला, भगवती माविले केही भिन्न विशेषता निर्माण गर्न सफल भएको छ । र यही विशेषताले क्षेत्रकै उत्कृष्ट बन्ने बाटो तय गराएको छ ।

सुदुर पश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम दिपायलबाट पाँच घण्टाको पैदल यात्रा पछि पुगिने भगवती माविले गत बर्षको प्रवेशिका परीक्षामा सहभागि गराएका ४९ जना मध्ये एक जना ए प्लस र बाँकी कसैले पनि सी ग्रेड भन्दा तल्लो ग्रेड हासिल गर्नु परेन ।

शिक्षकहरु विच निरन्तर विद्यालयको शैक्षिक सफलताबारे छलफल गर्ने, अनुभवहरु साटासाट गर्ने, अभिभावक र शिक्षकको समन्वयात्मक सम्बन्ध विकास विद्यालयले शुरु गरेका नौला अभ्यास हुन् । हरेक दिन विद्यालय समाप्ति पछी शिक्षकहरु सो दिनको उपलब्धि र भोलीको योजनाबारे छलफल गर्छन् । धेरै विद्यार्थी अनुतिर्ण हुने विषयका शिक्षकलाइ थप पारिश्रमिक मात्रै हैन अन्य शिक्षकहरुले सघाउने चलन पनि विद्यालयमा विकास गरिएको छ । हेडसर सहित छात्रावासमै बस्ने १२ जना शिक्षकले विद्यालय समय भन्दा अन्य समयमा पनि पठन पाठन र अतिरिक्त कृयाकलाप गराउँदा विद्यार्थीको सिकाई उपलब्धि झन् विस्तार भएको छ । पढाउने तरिका, मूल्यांकन सिप र प्रश्नपत्र निर्माण अनि उत्तर पुस्तिका परिक्षणमा पनि सम्बन्धित शिक्षकहरुसंग अनुभब आदान प्रदान हुन्छ । विद्यालयमा भईरहेका फरक कृयाकलापबाट भएको सुधारले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पनि हौसिएका छन् ।

शिक्षक ले पढाउने मात्र भन्दा पनि विद्यार्थीको मनोभावना बुझेर सहजकर्ताको भूमिकामा प्रस्तुत हुदाँ जस्तो सुकै शैक्षिक प्रगति पनि सम्भब रहेछ भन्ने निचोडमा पुगेको हेडसरका कुराले व्यवस्थापन समितिका अध्यक्ष डम्मर बहादुर सिंह दंग छन् ।

‘सबै शिक्षकलाई मिलाएर अघि बढ्न सक्ने हेडसर भएमा जस्तो सुकै शैक्षिक सफलता पनि असम्भव छैन भन्ने कुरा हाम्रो विद्यालयमा प्रमाणित भएको छ’ उनले भने, ‘विद्यालय राम्रो बनाउन व्यवस्थापन समितिका पदाधिकारीको पनि शिक्षक जत्तिकै भूमिका हुँदो रहेछ ।’ शैक्षिक सुधारको बिषयमा प्रत्येक हप्ता विद्यालयमा हुने अन्तरक्रियामा सहभागि हुन थालेपछि उनले यो कुरा बुझेका हुन् ।

दश बर्ष निजी श्रोतमा अध्यापन गराई आयोगमा सफल भएर डोटीकै सिलगढी स्थित पप मा.वि. मा अध्यापन गराई रहेका केशबराज ओझा भगवती मा.वि.मै सिकेको पढाउने तरिकाले अहिले सजिलो भएको बताउँछन् । भगवती माविबाट एस.एल सी .उत्तीर्ण विद्यार्थी आफ्नो कलेजमा उत्कृष्ट हुने गरेको सुदूरपश्चिमांचल क्याम्पस धनगढीका अध्यक्ष योगेन्द्र बहादुर शाही बताउँछन् । ईमान्दार प्रअको नेतृत्वमा पेशागत मर्यादामा रहने शिक्षकहरुको सहयोग भैदिनाले नै भगवती माविले ठुलो फड्को मारेको उनको निष्कर्ष छ ।

भगवती माविको अभ्यास अन्य विद्यालय र शिक्षकहरुले पनि अनुसरण गर्ने हो भने सामुदायिक शिक्षाको गुणस्तर उकास्न गाह्रो नहुने निष्कर्ष छ भर्खरै जिल्ला शिक्षा अधिकारि भएर आएका अनन्तकुमार पौड्यालको । धनगढी स्थित एक निजी विद्यालयका उत्कृष्ट विद्यार्थी नवीन बोहोरा भगवती माविकै कारण उच्च शिक्षामा चाहेको नतिजा ल्याउन सफल भएको बताउँछन् ।

 हेडसर भन्छन्, ‘विद्यालय भवन बनाउन गिटी, बालुवा, ढुङ्गा मान्छेबाट बोकाउँदा धेरै खर्चिलो हुने भयो, त्यसैले बरु बटो खनौं भनेर हामीले ८ किलोमिटर बाटो नै बनायौं ।

०१२ सालमा स्थापना भएको भगवती माविमा अहिले सुदुर पश्चिमाञ्चल क्षेत्रका ९ वटै जिल्लाका विद्यार्थी अध्ययन गर्छन् । विद्यालयमा अध्ययनरत ५ सय ५० विद्यार्थी मध्ये टाढाका विद्यार्थीका लागि विद्यालयले छात्राबासको ब्यवस्था गरेको छ । २५ जना छात्रा सहित १ सय ८० विद्यार्थी त छात्रावासमै बसेर पठन पाठन गर्छन् । उनीहरु मध्ये प्रावि तहका बाट महिनाको २५ सय, निमाविकाबाट २६ सय र माविकाबाट २७ सय रुपैंया शुल्क लिईन्छ । घरबाटै खाना खाएर आउने तर छात्रावासमा बस्ने विद्यार्थीको संख्या पनि ३५ छ ।

श्रोत जुटाउन सकियो भने भौगोलिकरुपमा विकट भए पनि सामुदायिक विद्यालय सुधारमा अरु केही खाँचो नपर्ने उदाहरण हो यो विद्यालय ।

‘विद्यालयको गुणस्तर वृद्धि गर्न आर्थिक पाटो बलियो हुनै पर्दो रहेछ, आर्थिक रुपमा सम्पन्न भईयो भने योग्य शिक्षक राख्न सकिदोँ रहेछ, यसले सुधार हुँदो रेहछ’ हेडसरको निष्कर्ष छ, ‘दरबन्दी कम छ भनेर बस्नु पनि भएन अनी निजी श्रोतमा राखेका शिक्षकहरुलाई तलब कम दिनु पनि भएन ।’

विद्यालयमा माविमा ३, निमाविमा २ र प्राविमा ४ दरबन्दी छ । एक जना कम्प्युटर शिक्षक सहित विज्ञान, गणित र अँग्रेजीका २–२ जना शिक्षकलाई निजी श्रोतमा राखिएको छ ।

उनीहरुको तलब छात्रावासमा बस्ने विद्यार्थीको शुल्कबाट बचेको रकम, १–८ का लागि एक र माविका लागि प्राप्त अर्को एक प्रति विद्यार्थी शिक्षक कोटाको रकम र स्थानीय सामुदायिक वन, जिविस र गाविसको अनुदान सहयोगले धान्दै आएको सिंह बताउँछन् ।

गत बर्ष मात्रै जिविसको २४ लाख रुपैंया सहयोगमा ६ कोठे विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । उक्त प्रयोगशाला निर्माण गर्दा आवश्यक सामग्री ढुवानी गर्न बाटो समेत निर्माण गरिएको छ ।

‘विद्यालय भन्ने कुरा समाज विकासको आधार पनि हुँदो रहेछ’ हेडसर भन्छन्, ‘विद्यालय भवन बनाउन गिटी, बालुवा, ढुङ्गा मान्छेबाट बोकाउँदा धेरै खर्चिलो हुने भयो, त्यसैले बरु बटो खनौं भनेर हामीले ८ किलोमिटर बाटो नै बनायौं ।’

उक्त बाटो निर्माणका लागि सांसद विरबहादुर वलायरले १४ लाख रुपैंया सांसद कोषबाट उपलब्ध गराएको उनले बताए ।

विकास निर्माण र सामाजिक जनचेतना अभिवृद्धिले विद्यालय र समाज विचको अन्नोन्याश्रीत सम्बन्धलाई पुष्टि गरिरहेको ठान्छन् टेकबहादुर सिंह ।

‘गाउँमा जुवा तास खेलिरहेका छन् भने पनि हामी शिक्षकहरु जाँदा हत्तपत्त लुकाउँछन्, यसको मतलव हामीलाई समाजले सम्मान गर्छ त्यो सम्मानलाई हामी कसरी कायम राख्ने भन्ने पनि मुख्य कुरा हो’ उनी भन्छन्, ‘पढाउनु त छँदै छ, शिक्षकको काम भनेको आफू र आफ्नो समाजलाई सुव्यवस्थित राख्नु पनि त हो ।’

पठन पाठनको नियमित कामको अलावा आउँदो बर्ष भौतिक रुपमा पनि विद्यालयलाई सक्षम बनाउने योजना बुनिरहेका छन् हेडसर ।

‘३ सय विद्यार्थी अटाउने छात्रावास निर्माण गर्ने योजना छ’ उनले भने, ‘तलाराको सर हुँ भन्दा जुन गौरव हुन्छ त्यसलाई कायम राख्न बुवाले गर्नु भएको ७५ प्रतिशत काममा मैले २५ प्रतिशत मात्रै थपेको हुँ, यसलाई कायम राख्नु नै मेरो चुनौती हो, थप विस्तार गर्न सकेँ भने त झन् राम्रो ।’

आलेख र तस्वीर एजुखबर अनलाईन (edukhabar)बाट साभार गरिएको 

कमेन्ट गर्नुहोस्