Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बाढीले करोडौंको केराखेती क्षती

राजविराज, भदौ २१ । केही अगाडि कोशी नदीमा आएको बाढीका कारण सप्तरीको भारदहमा लगाइएको करोडौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ ।

सप्तकोशी नदीको छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ स्थित भारदहमा लगाइएको केराखेती नष्ट भएको हो । करिब पाँच सय बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताए ।

विभिन्न नदी र खोलामा आएको बाढी र पहिरोका कारण खेतमा पानी पसेपछि यहाँ लगाइएका अधिकांश केराका बोट गलेर नष्ट भएका छन् ।

बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केरा खेतमा पानी जमेपछि अहिले केराको बोट सुक्न थालेको पीडित कृषक बैजु मण्डलले बताए । यहाँ एक बिघा जग्गामा केराखेती गर्न करिब रु तीन लाखभन्दा बढी खर्च हुन्छ । बाढीका कारण केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ जोगिनियाँस्थित कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । त्यहाँ चारसय बिघामा केराखेती गरिएको थियो । सो क्षेत्रको अधिकांश केराखेती बाढीका कारण नष्ट भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: