Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रपति भण्डारीलाई भेटेर के कुरा गरे प्रमुख निर्वाचन आयुक्त यादवले ?

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी यादवसहितका आयुक्तहरूले राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् । सो क्रममा यादवले स्थानीय तहको निर्वाचन, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले गरिरहेको तयारीबारे अवगत गराएका थिए ।

राष्ट्रपति भण्डारीले आयोगले गरिरहेको तयारीबारे जिज्ञासा राखेको राष्ट्रपतिका प्रेस संयोजक माधव शर्माले बताए ।

‘निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो, त्यसैले सार्वभौम जनताले आफ्नो अभिमत स्वतन्त्र र निर्भयसाथ अभिव्यक्त गर्न पाउनुपर्छ,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘त्यसअनुसार आयोगले पनि जिम्मेवारीपूर्वक तयारीका काम गरोस् ।’

राष्ट्रपतिले दुई चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिँदै घोषित सबै निर्वाचन समयमै समपन्न गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गरेकी थिइन् ।

आचारसंहिता पालनामा जोड दिएका छौँ : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले स्थानीय तहसहित मंसिरमा घोषित प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित र स्वच्छ बनाउन निर्वाचन आचारसंहिता पालनामा आयोगले जोड दिइरहेको बताएका थिए ।

साथै, उनले प्रदेश नम्बर २ का जिल्लाहरूमा निर्वाचनप्रति उत्साह दिएको समेत अवगत गराएका थिए ।

निर्वाचन क्षेत्र निर्धारण आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण भएको प्रतिवेदन प्राप्त भएको, व्यवस्थापिका–संसद्बाट प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन विधेयक, २०७४ पारित भइसकेकाले सोही आधारमा नियमावली, निर्देशिका तथा कार्यविधि निर्माण भइरहेको जानकारी गराएका थिए ।

भेटमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह सहभागी थिए ।

नयाँ पत्रिकाबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: