Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पुल त बन्यो, तर बाटो छैन

उर्लाबारी (मोरङ), २३ भदौ । निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ ।

मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको पुल बाटो नहुँदा सञ्चालनमा आउन नसकेको हो । उर्लाबारी–९ र दमक–१० जोड्ने मावा खोलामा जिल्ला समन्वय समिति झापाको रु चार करोड २१ लाखको लागतमा पुल निर्माण भएको हो ।

पुलको निर्माण कार्य जेठ पहिलो सातामै सम्पन्न भएपनि मोरङतर्फको करिब ५०० मिटर बाटो नबन्दा पुल सञ्चालनमा आउन सकेको छैन जसका कारण सो क्षेत्रका स्थानीयवासीलाई आवात–जावतमा समस्या भएको छ । ६६ मिटर लम्बाई र ५.४५ मिटर चौडाइको पुलको निर्माण कार्य काठमाडौँको बिटी निर्माण सेवाले सम्पन्न गरेको पुल रेखदेख समितिका अध्यक्ष अम्बिका खनालले जानकारी दिनुभयो ।

पुल बनिसके पनि उर्लाबारी तर्फको ५०० मिटर बाटो निर्माणको प्रक्रिया अझै शुरु हुन सकेको छैन । बाटो नबन्दा स्थानीय बासिन्दा अन्यौलमा परेका छन् । उक्त पुल निर्माणमा प्राविधिक सहयोग पु¥याएको लोकल रोड एण्ड ब्रिज कार्यक्रमका टेक्निकल अफिसर सर्वेन्द्र चौधरीले पुल पश्चिमतिर दुईवटा कल्भर्टसहित करिब ५०० मिटर नयाँ बाटो निर्माण गर्नुपर्ने बताउनुभयो ।

तर बाटो निर्माणको प्रक्रिया अघि नबढ्दा पुल निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन नसकेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: